४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

तराई–मधेसमा होलीको रमझम

जितेन्द्र साह
१ चैत २०८१, शुक्रबार

विराटनगरको देवकोटा चोकमा शुक्रबार दिउँसो होली संगीतमा मस्त स्थानीय । तस्बिर : जितेन्द्र साह/ द नेप्लिज डट कम

Advertisement

विराटनगर– होलिका दहनसँगै बिहीबार साँझदेखि तराई–मधेसमा फागुको रंगमा स्थानीय भिजेका छन् । ‘काठमाडौं उपत्यका र पहाड हुँदै साँझ सम्म होली विराटनगर आइपुग्यो,’ स्थानीय प्रकाश पोखरेल भन्छन् । 

उनको अनुसार शुक्रबार बिहानदेखि दिउँसो सम्म होली उत्कर्षमा पुग्छ, त्यस पछि एक अर्काको घरमा पुगेर पुवा, दहिबारा, तरुवा र भरुवा खाइन्छ, साँझ स्नान पछि एक अर्कालाई अंकमाल र ढोग गर्दै यसको समापन हुन्छ ।  

काठमाडौँ उपत्यका तथा पहाडमा बिहीबार र मधेसमा शुक्रबार होली भन्नु नै गलत भएको बुझाइ मोरङको रतुवाई नगरपालिकाका पर्वत पौडेलको छ । उ बेला चार दिन सम्म मधेशको यही धर्तीमा फगुवा मनाइने गरिएको उनले बताए ।

‘पहिलो दिन धुलोको होली (धुर खेल), दोस्रो दिन पानीको, तेस्रो र चौथो दिन शुद्ध अबिर एवं रंगको होली खेलेकै हौँ,’उनले भने,‘होलिका दहन पछि पाप विरुद्ध धर्मको विजयोत्सवमा साँझदेखि रंग र अबिर खेल्दै आएको हो, अनि तराईको होली भोलि कसरी भयो, आजै भएन त, सबै आफन्त र प्रियजनसँग रंग साटासाटा र मौलिक खानपीनको आनन्द लिइने परम्पराले अर्को दिन पनि मनाइएको हो, साँझै त सबैसँग रङ खेल्न मिल्दैन ।’ 

जनकपुरधामलाई मात्र तराई–मधेस मान्दा होलीको बारेमा भ्रम फैलिएको मोरङको कटहरी–२ का मञ्जित ठाकुर बताउँछन् । उनको अनुसार पन्ध्र दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरे पछि शनिबार जनकपुर लगायतका मधेश प्रदेशमा फगुवा खेलिन्छ । ‘तर कोशी वारिका स्थानीय त होलिका दहन लगतै बिहीबार साँझदेखि होलीको रंगमा डुबेका छन्,’ठाकुर भन्छन्,‘शुक्रबार दिउँसो त यहाँ होलि सक्छ, जबकी जनकपुरमा शनिबार होली छ ।’ 

धार्मिक विश्वासअनुसार जनकपुरमा भने अन्तरगृह परिक्रमा सकेको अर्को दिन मात्रै होली मनाउने परम्परा छ । अन्तरगृह परिक्रमामा शुक्रबार जनकपुरवासी उमंगका साथ सामेल हुन्छन् । दुःख–कष्टबाट मुक्ति र इच्छाएको फल प्राप्त हुने विश्वास यो परिक्रममासँग जोडिएको छ  । यस पछि शनिबार मात्र जनकपुरमा होली पर्व मनाइन्छ । तराई–मधेसमै पर्ने मोरङ, सुनसरी र झापामा बिहीबार बेलुकीदेखि नै होलीको रमझम सुरु भएको स्थानीय समाजसेवी पुनम गिरी बताउँछिन् । 

तराईका यी जिल्लाहरुमा झण्डै ३ सय विभिन्न संघ, संगठन, संस्था र समाजले बिहीबार बेलुकीदेखि राति सम्म होली मिलन समारोहको आयोजना सम्पन्न गरिसकेका छन् । विराटनगरको उद्योग, कारखाना, व्यापारिक फर्म र रेष्टुरेन्ट र क्याफेमाहरुमा बिहीबार अपराह्नदेखि होली खेल्न थालिएको छ । ती थलोहरुबाट स्थानीय राति सम्म रंगीन भएर निस्किरहेका देखिए । बजार र चोकचोकमा साँझ स्थानीय रंग साटासाट गरेका भेटिए । 

विराटनगरको हाटखोला जाने मुख्य सडकस्थित चिया अड्डाका सञ्चालक सुरज शाह बिहीबार राति सपरिवार अबिर उडाउँदै नृत्यमा मस्त भेटिए । ‘आज परिवारसँग, भोलि (शुक्रबार बिहान)  सबैसँग रंग खेल्ने हो,’उनले भने ।  मुख्यतः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको तराई–मधेसको कोशी वारिका जिल्लाहरुमा भने दुई दिन नै रौनक हुन्छ । 

वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावको भावनात्मक बिगुल फुक्दै मनाइने फागु पर्वको उमंग मोरङ, सुनसरी र झापाका गाउँ–सहरमा बिहीबारबाटै घरदेखि बजार सम्म देख्न सकिन्छ । मारवाडी र मधेसी समुदायको घरघरबाट यतिखेर अबिरको वर्षासँगै पारम्परिक गीत र जोगिरा सरर...को मधुर स्वर गुञ्जिरहेको छ ।

तराई मधेस क्षेत्रमा विशेषगरी मैथिली, भोजपुरिया, अवधी, र थारू समुदायमा होलीको उत्सव आन्तरिक एवं बाह्य रुपले दुई–तीन दिनसम्म चल्ने गर्छ । यो पर्वमा खाने परिकारमा मधेस तिर तरुवा, भरुवा र मालपुवाको विशेष महत्व हुन्छ । यहाँ ढोलक, मृदंग, झाँझ र हार्मोनियमसहित परम्परागत लोकगीत गाएर नाचगान गरिन्छ । मधेसका घरघरमा गुजिया, पुवा, दहिबारा, पेडा, खजुरी र ठेवा बनाइन्छ । 

थारू समुदायले पनि परम्परागत गीत गाएर सामूहिक रूपमा नृत्य गर्दै फगुवा मनाउँछन् । थारूहरूकोमा विशेष रूपमा चामलको रोटी (अर्हा) र लोकल रक्सी (हँडिया) बन्छ । उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् । 

मिथिला क्षेत्रमा फागु पूर्णिमाको दिन विशेष मेला लाग्ने र हजारौँ जनाको उपस्थिति हुने भएकोले भोलिपल्ट होली मनाउने गरिएको स्थानीयको बुझाइ छ । मिथिला संस्कृतिमा हरेक पूर्णिमाको दिन जनकपुर लगायत देवालयमा विशेष मेला लाग्छ । 

धार्मिक ग्रन्थहरूमा फागु पूर्णिमा एकदिन मात्रै मनाउने उल्लेख भए पनि दुई दिन मनाउने कुरा सबैले स्वीकारेको निर्विवाद संस्कृतिको रूपमा विकास भइसकेको छ । हिन्दू धर्मअन्तर्गत मनाइने हरेक चाडपर्वका बारेमा निर्णय गर्ने निर्णयसिन्धुले पनि होलीलाई एक दिने पर्वको रूपमा उल्लेख गरेको छ । उक्त ग्रन्थको ३०८ औं पृष्ठमा पूर्णिमाको दिन फागुपूर्णिमा मनाउने चलन रहेको उल्लेख गरेको छ ।

पहाडमा फागुपूर्णिमा र जनकपुर सेरोफेरोको तराई मधेशमा होली फरक दिन मनाउनुको २ वटा कारण छन् । एउटा त जात्राका कारण भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ । अर्काेतर्फ अघिल्लो दिन साँझ होलिका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसैको खुसीयालीमा होली पर्व मनाउने गरिएको हुन सक्छ । साँझमा रंग लगाउनुभन्दा पनि भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ । 

विष्णुपुराण’ अनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रह्लादको जीवन समाप्त पार्ने योजना बनाउँछन् । ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादका साथ दनदनी बलिरहेको आगोमा पस्न लगाउँछन् । तर होलिका आफैँ भष्म हुन्छिन् । तर भक्त प्रह्लादलाई आगोले छुनै नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यो युगदेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको संझनामा होली खेल्ने परम्परा चलेको धेरैको बुझाइ छ ।

अर्को तिर नारद पुराण र भविष्य पुराणको अनुसार द्वापरयुगमा भगवान श्रीकृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले विष दलिएको स्तन चुसाउन लाग्दा असफल भइ मारिइन् । उनलाई व्रजवासीले जलाएर फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

वैदिक कालमा समेत यो पर्वलाई ‘नवनेष्टी’ को नामले मनाउने  गरिएको साहित्यिक प्रमाण पाइन्छ । यसदिन खेतको आधा पाकेको अन्नलाई हवन गरेर प्रसादको रूपमा वितरण गर्ने चलन छ । यस्तो अन्नलाई ‘होला’ भनिन्छ । यो आधारमा पनि यसलाई होलिका उत्सवको रूपमा मनाएको भनिन्छ । यथार्थ जेसुकै भए पनि यीनै कथा, मान्यता र विश्वासमा हाम्रो परम्परा अडेको हुनाले होली मनाउँछौँ । जहाँ, जसरी र जति दिन मनाए पनि भावना समान हुन्छ । 

प्रकाशित : १ चैत २०८१, शुक्रबार 00:07
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved