डा. शेखर कोइरालाको असन्तुष्टि
विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार र आफ्नै पार्टी नेतृत्वप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै आएका छन् । पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू सत्ता साझेदारीमा सन्तुष्ट देखिए पनि कोइरालाले भने सरकारको कार्यशैली र गठबन्धनको औचित्यमाथि निरन्तर प्रश्न उठाइरहेका छन् ।
पछिल्ला समयमा उनले सरकारप्रति खबरदारी गर्ने र पार्टी नेतृत्वको निर्णयमाथि आलोचना जनाउने कार्य तीव्र पारेका छन् । बालुवाटारमा उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णय रोक्न उनले प्रत्यक्ष भूमिका खेलेका थिए । साथै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारद्वारा गरिएको दबाबको समेत सार्वजनिक रूपमा विरोध गरे ।
कोइरालाले गृहमन्त्री समेत भइसकेका रवि लामिछानेलाई रातारात नियन्त्रणमा लिइ घुमाइएको, संवैधानिक संशोधनका प्रतिवद्धता पूरा नगरेको र मुलुकको अर्थतन्त्रमा बिचौलियाको बढ्दो प्रभावजस्ता विषयमा खुलेर असन्तुष्टि जनाइसकेका छन् । आइतबार साहित्यिक पत्रकार संघद्वारा आयोजित ‘कात्रोमा खल्ती’ पुस्तक विमोचन कार्यक्रममा उनले देशको राजनीति र अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै चासो व्यक्त गरे ।
उनको अनुसार गठबन्धनको औचित्य साबित हुन सकेको छैन । जनताको आशा र विश्वास जगाउने कार्य गर्नुपर्नेमा सरकारले जनतामा छाएको निराशालाई भड्काउने काम मात्र गरिरहेको छ ।
शेखर समर्थकहरूका अनुसार कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति अनुसार संविधान संशोधनलगायतका मुद्दामा ओली नेतृत्व सरकारले कुनै प्रगति नगरेपछि गठबन्धनप्रति नै प्रश्न उठ्नु स्वाभाविक भएको हो । कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले पार्टीभित्रैबाट प्रतिपक्षीको भूमिकामा आफूलाई प्रस्तुत गरिरहेको विश्लेषण पनि हुँदै आएको छ ।
२०८२ मा हुने भनिएको महाधिवेशन अझै अनिश्चित रहँदा, कार्यकाल एक वर्ष थपिने निश्चित जस्तै देखिन्छ । तर थपिएको समयभित्र महाधिवेशन हुने, नहुनेमा नेताहरूमा विश्वास छैन । एमालेसँगको सहकार्यप्रति खुलेर आलोचना गर्दै आएका कोइरालाले कांग्रेस कहिले माओवादी त कहिले एमालेको ‘पुच्छर’ बनेको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् । उनका अनुसार निराश जनतालाई आशा दिने र समस्याको समाधान गर्ने नेतृत्व कांग्रेसले लिनुपर्ने हो ।
आफ्नै पार्टी नेपाली कांग्रेस सरकारमा सहभागी भए पनि कोइरालाले सरकारको कार्यशैली, निर्णयहरू र पार्टीभित्रको भूमिकाप्रति निरन्तर गम्भीर प्रश्न उठाइरहेका छन् । जानकारहरुका अनुसार सत्ता वा नेतृत्वमा पुग्ने स्वार्थभन्दा कोइराला माथि उठेका नेता हुन् । उनी लोकतान्त्रिक सोच राख्ने सच्चा नेता भएकाले संवेदनशील विषय र मुद्दामा खुलेर विचार राख्छन् । शिक्षकहरुको आन्दोलन बारेमा पनि उनले प्रष्ट धारणा राख्दै सरकारसँग शीघ्र समाधान निकाल्न आग्रह गरे । उनले विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या समाधान गर्न र उनीहरूलाई काममा फर्काउने वातावरण बनाउन माग गरे ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले लेखे,‘ ‘नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासंघबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु ।’
कोइरालाले सरकार ढल्ने सम्भावना नरहेको तर सरकार सरकारजस्तो भएर चल्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यो सरकार ढल्दैन‚ चल्छ तर सरकार सरकार जस्तो भएर चल्नुपर्छ ।’ यसले देखाउँछ कि उनी सरकारको स्थायित्वमा विश्वास राख्छन् तर कार्यशैलीमा सुधार आवश्यक ठान्छन् ।
डा. कोइरालाको सरकारप्रतिको असन्तुष्टि व्यक्तिगत लाभ वा पदोन्नतिभन्दा बढी पार्टीको भविष्य र देशको समग्र अवस्थाप्रति चिन्तित रहेको देखिन्छ । उनका यी कदमहरू पार्टीभित्रको शक्ति सन्तुलन, आगामी महाधिवेशनमा आफ्नो स्थान मजबुत पार्ने प्रयास र सरकारलाई सही मार्गमा लैजान गरिएको खबरदारीका रूपमा लिन सकिन्छ । यद्यपि पार्टीभित्र तत्काल निर्णय परिवर्तन गर्ने अवस्थामा कोइराला नरहे पनि उनले सरकार र पार्टी दुवैलाई निरन्तर खबरदारी गरेर राष्ट्रको जिम्मेबार नेताको कर्तव्य निर्वाहमा आफूलाई सक्रिय राखेका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares