२० वैशाख २०८२, शनिबार 03 May 2025, Saturday

मनसुनमा सामान्यभन्दा बढी वर्षा र तापक्रमको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने

द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

Advertisement

काठमाडौँ–  यस वर्षको मनसुन अवधिमा नेपालसहित दक्षिण एसियामा सरदरभन्दा बढी वर्षा र तापक्रम हुने सम्भावना देखिएको छ। भारतको पुणेमा वैशाख १५ देखि १७ गतेसम्म सम्पन्न दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को ३१औं बैठकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो।

सास्कोफको बैठकमा दक्षिण एसियाका नौ देश (नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान र म्यानमार) का मौसमविद्हरूसँगै विश्व मौसम संगठन, भारत मौसम विभाग लगायत अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता थियो।

बैठकमा प्रस्तुत प्रक्षेपणअनुसार एल निनो–दक्षिणी दोलन  र हिन्द महासागर द्विध्रुवीयता हाल तटस्थ अवस्थामा छन् र मनसुन अवधिमा पनि यथावत रहने सम्भावना छ। यद्यपि मौसमविद्हरूले प्रक्षेपणमा अनिश्चितता हुने भएकाले अद्यावधिक अनुमान र दीर्घकालीन प्रक्षेपणहरू नियमित हेर्न सुझाव दिएका छन्।

नेपालमा पनि बढी वर्षाको सम्भावना
सास्कोफको क्षेत्रीय पूर्वानुमानलाई आधार मानेर नेपालको जल तथा मौसम विज्ञान विभागले चाँडै राष्ट्रिय प्रक्षेपण सार्वजनिक गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक कमलराज जोशीका अनुसार सास्कोफको प्रक्षेपण सामान्यतया नेपालमा मेल खाने गरेको छ।

‘नेपालका कुन भू–भागमा कस्तो असर पर्छ भन्ने बारेमा विभागले चाँडै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने जोशीले बताए। सास्कोफले तयार पारेको नक्साअनुसार पूर्वमा औसत, मध्यमे देशमा औसतभन्दा केही बढी, र सुदूरपश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिएको छ। ती क्षेत्रहरू नीलो र गाढा नीला रंगले संकेत गरिएका छन्।

नेपालमा मनसुन सामान्यतः जुन १३ बाट सुरु भइ अक्टोबर २ मा सकिन्छ। यही अवधिमा देशभरको वार्षिक वर्षाको ७०–८० प्रतिशत पानी पर्छ।

तापक्रम पनि सरदरभन्दा माथि पुग्ने प्रक्षेपण
सास्कोफको प्रतिवेदनमा दक्षिण एसियामा मात्र नभइ नेपालमा पनि न्यूनतम र अधिकतम तापक्रम दुवै औसतभन्दा माथि रहने सम्भावना उल्लेख गरिएको छ। यस्तो अवस्थामा बाढी, पहिरो, डुबान र कटानजस्ता प्राकृतिक प्रकोपको जोखिम समेत बढ्न सक्ने देखिन्छ।

विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार मनसुन अवधिमा वर्षा असमान ढंगले वितरण हुने सम्भावना हुँदा पहाडी र हिमाली जिल्लाहरूमा पहिरो, सडक अबरुद्ध, र मानवीय क्षतिको जोखिम उच्च रहन्छ। तराई–मधेशमा भने नदीहरूमा बहाव बढ्दा डुबान र कटानको अवस्था आउन सक्छ। ‘प्राकृतिक प्रकोपबाट जोगिन स्थानीय तहदेखि केन्द्रसम्म पूर्वतयारी आवश्यक छ,’ उनले भने।

तयारीमा जोड
विज्ञहरूका अनुसार वर्षा र तापक्रमको असमानता पानीका स्रोत, कृषियोग्य भूमि, बाली चक्र, र मानव स्वास्थ्यमा समेत प्रभाव पार्छ। त्यसैले बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बाली विविधीकरण, मौसमअनुकूल बीउ र प्रविधिको प्रयोगजस्ता उपायमार्फत स्थानीय तहमा तयारी थाल्नुपर्नेमा उनीहरूको जोड छ।

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 10:01
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved