१९ वैशाख २०८२, शुक्रबार 02 May 2025, Friday

ओलीले खोलिदिए सगरमाथाको औपनिवेशिक नामको रहस्य

द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको अंग्रेजी नाम ‘माउन्ट एभरेष्ट’लाई ‘नक्कली’ ठहर गर्दै यसको उपनिवेशवादी पृष्ठभूमिको तीव्र आलोचना गरेका छन्। विराटनगरमा सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सगरमाथाको नाम ‘एभरेष्ट’ हुनै नसक्ने प्रष्ट पारे।

‘हामीले फेरि माउन्ट एभरेष्ट भनिरहने पनि होइन,’ ओलीले भने, ‘एभरेष्टसँग सगरमाथाको कुनै सम्बन्ध छैन । त्यसकारण यो नक्कली नाम हो, बिल्कुल नक्कली नाम हो। हामीले सगरमाथा नै भन्नुपर्छ। असली नाम भनेको अर्को हुँदैन।’

प्रधानमन्त्री ओलीको यो भनाइले सगरमाथाको नामाकरणसम्बन्धी बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ, जसमा इतिहास, भूगोल, राजनीति र सांस्कृतिक पहिचान गहिरो गरी गाँसिएका छन्।

नामाकरणको उपनिवेशवादी कथा
विश्वको सर्वोच्च शिखर सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भनेर चिनाउने काम सन् १८६५ मा बेलायती नापी कार्यालयले ग¥यो। नाम राखिएका जर्ज इभरष्टले न त यो शिखर चढेका थिए, न त उनले यसलाई संसारको सर्वोच्च शिखर प्रमाणित गरेका थिए। बरु उनीभन्दा पछि आएका नापी अधिकृत एन्ड्र्यु वौले ‘पिक नम्बर १५’ को नाम परिवर्तन गरी ‘एभरेष्ट’ राखे — आफूभन्दा अघिका वरिष्ठ अधिकृतको सम्मानमा।

तर यो नामाकरणले एक गम्भीर प्रश्न उठाउँछ — के स्थानीय नाम र समुदायको अस्तित्व बेवास्ता गरेर गरिएको यस्तो निर्णय वैध मान्न सकिन्छ?

स्थानीय चिनारीको बेवास्ता र अस्मिता संकट
सगरमाथालाई तिब्बती भाषामा ‘चोमोलुङ्मा’ (देवताहरूकी आमा) र नेपालीमा ‘सगरमाथा’ भनिन्छ — जुन सन् १९६० को दशकदेखि औपचारिक प्रयोगमा ल्याइएको हो। तर बेलायती उपनिवेशवादी अधिकारीहरूले यी स्थानीय नामहरूलाई अज्ञात भन्दै आफ्नै ढाँचामा नाम राखे। यसले केवल भाषिक नभइ सांस्कृतिक अधिकारको समेत बेवास्ता गरेको देखिन्छ।

‘नामाकरण केवल शब्द होइन, त्यो पहिचान हो, शक्ति हो, इतिहास हो,’ संस्कृति अध्येता डा. सूर्यराज आचार्य भन्छन्, ‘एभरेष्ट भन्नेबित्तिकै हामी उपनिवेशको छायाँभित्र प्रवेश गर्छौँ।’

उच्चारणमै विरोधाभास
अझ रोचक कुरा के छ भने, जर्ज इभरष्टले आफ्नो थर ‘इव–रेस्ट’ भनेर उच्चारण गर्थे। तर आज विश्वभरि प्रचलित उच्चारण ‘एभ–रेस्ट’ बनिसकेको छ — जसले उनी स्वयंको उच्चारणलाई नै विस्मृत बनाएको छ।

ओलीको भनाइ — बढ्दो पहिचान सचेतताको संकेत?
प्रधानमन्त्री ओलीको पछिल्लो टिप्पणी केवल भाषिक आग्रह होइन, राष्ट्रिय अस्मिता र स्वाभिमानको विषयमा गरिएका केही दुर्लभ र महत्वपूर्ण भनाइहरूमध्ये एक हो। विशेषतः यस्तो समयमा जब नेपाल आफ्नो इतिहासको पुनर्लेखन र पहिचानको पुनः स्थापनाको चरणमा छ।

‘हिक्मत कुमार कार्कीको नाम अर्को हुँदैन भने सगरमाथाको नाम पनि सगरमाथा नै हो,’ मुख्यमन्त्रीतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भनेका यी शब्दहरूले नामको प्रश्नलाई व्यक्तिगत पहिचानको मुद्दासँग गाँसिदिन्छ ।

अब ‘सगरमाथा’ भन्ने समय आएको हो ?
सगरमाथाको नाममा लुकेको उपनिवेशिक सोचमाथि प्रधानमन्त्रीको तर्फबाट सार्वजनिक टिप्पणी हुनु एक साहसी र सान्दर्भिक पहल हो। यद्यपि अन्तर्राष्ट्रिय क्षेत्रमा अझै पनि ‘माउन्ट एभरेष्ट’ नै बढी प्रचलनमा छ । तर भित्रभित्रै ‘सगरमाथा’ नामलाई पुनः स्थापनाका लागि बहस र पहलको खाँचो महसुस हुन थालेको छ।

यस विषयमा राष्ट्रिय सहमति, पाठ्यक्रम सुधार र कूटनीतिक प्रयत्नमार्फत नेपालको सांस्कृतिक पहिचान र स्वाभिमानलाई बलियो बनाउने बेला आएको देखिन्छ।
 

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 17:11

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved