१९ वैशाख २०८२, शुक्रबार 02 May 2025, Friday

केआईआईटी विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत फेला/अपडेटेड

द नेप्लिज संवाददाता
१९ वैशाख २०८२, शुक्रबार

Advertisement

भुवनेश्वर/काठमाडौँ — भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत फेरि एक नेपाली छात्रा छात्रावासको कोठामा मृत फेला परेकी छन्। पछिल्लो तीन महिनामा उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएको यो दोस्रो घटना हो।

वीरगन्जकी प्रिशा साह कम्प्युटर विज्ञान विषयमा पहिलो वर्षको दोस्रो सेमेस्टरमा अध्ययनरत थिइन्। उनी बिहीबार साँझ ‘क्विन्स क्यासल–४’ छात्रावासको चौथो तलाको कोठा नम्बर १११ मा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी पाउनेबित्तिकै भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।

आत्महत्या भए पनि कारण स्पष्ट छैन
प्रारम्भिक अनुसन्धानमा शवको नजिक कुनै सुसाइड नोट फेला परेको छैन। प्रहरीले घटनास्थलको अनुसन्धान जारी राखेको छ भने फरेन्सिक टोलीले कोठाबाट प्रमाण संकलन गरिरहेको भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेश देवदत्त सिंहले जनाएका छन्। मृतक छात्राका कोठामा रहेका साथीहरूले अनुसन्धानमा सहयोग गरिरहेको बताइएको छ।

विद्यार्थी संगठनको आक्रोश
भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले घटनालाई पीडादायी भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। विश्वविद्यालयमा दोहोरिरहने आत्महत्याजस्ता घटनाले संस्थाको विश्वसनीयता खलबल्याएको भन्दै एबीभीपीले केआईआईटी प्रशासनमाथि कडा कदम चाल्न राज्य सरकारलाई आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयको कूटनीतिक पहल
नेपाली छात्राको मृत्यु प्रकरणमा परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा राज्य सरकार तथा दिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जनाएको छ। परराष्ट्रमन्त्री आरजु देउवा राणाले सामाजिक सञ्जालमार्फत छात्रा प्रिशाको निधनले मर्माहत भएको बताउँदै मृत आत्माप्रति श्रद्धाञ्जलि र परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।

फागुनमा पनि अर्की नेपाली छात्राको मृत्यु
यसअघि फागुन ४ मा सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरी अनुसन्धान अनुसार उनलाई यौन उत्पीडन र ब्ल्याकमेल गरिँदै आएको थियो, जसले आत्महत्या गर्न बाध्य बनाएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको थियो।

चिन्ता बढ्दो
लगातार नेपाली छात्राहरूको मृत्यु भएको घटनाले विद्यार्थी, अभिभावक तथा नेपाली समुदायमा गम्भीर चासो र चिन्ता उत्पन्न गराएको छ। उडिसा सरकारले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै दोषीको पहिचान र कारबाहीमा कुनै कसर बाँकी नराख्ने आश्वासन दिएको छ।

नेपाली विद्यार्थी १८ वर्षीया प्रिशाको मृत्यु घटनामा भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गर्दै प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको जनाएको छ । केआईआईटीमा नेपाली विद्यार्थीको निधनबाट गहिरो दुःख व्यक्त गर्दै मन्त्रालयले यो कठिन समयमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

घटनाबारे जानकारी प्राप्त भएदेखि नै उडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । राज्य सरकारले मृतकका परिवारसँग समन्वय गरिरहेको र प्रहरीले घटनामा जाँच गरिरहेको पनि मन्त्रालयको भनाइ छ ।

भारत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक लिएको भन्दै विदेश मन्त्रालयले नेपाली अधिकारी, उडिसा राज्य सरकार र व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । घटनाका सम्बन्धमा समयमै सञ्चार–समन्वय पनि भइरहेको उल्लेख गरेको छ ।
 

प्रकाशित : १९ वैशाख २०८२, शुक्रबार 05:57
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved