अहिलेसम्म एउटै चक्र अनवरत दोहोरिइरहेको देखिन्छ—जनताको भावना, बलिदान र आशालाई केही सीमित व्यक्तिले सत्ताको भर्याङ बनाउने र सत्तामा पुगेपछि फेरि त्यसैलाई कुल्चने ।
विराटनगर– हाम्रा पाइला थकाइले भरिएका छन् तर पनि हामी बारम्बार सडकमा उत्रिन्छौँ । कहिले परिवर्तनको निम्ति, कहिले न्यायको खोजीमा । तर हरेकपटक जब हामी उत्रिन्छौँ, कसैले न कसैले हाम्रो चिच्च्याहट, हाम्रो आशा र हाम्रो क्रान्तिलाई आफ्नो स्वार्थको सिँढी बनाउँछ ।
पुरानो युगको अन्त र नयाँ युगको आरम्भ गर्ने सपना देखाएर श्रीमती, सालो–साली, छोरी, ज्वाइँ, भानिज–भान्जी लगायतका परिवारजन, निकटजन, आसेपासे र झोले नेता–कार्यकर्तालाई पोस्छन् । जुन दलको सरकार आए पनि आफूलाई भोटको ठेकदार भनेर राजनीतिक खेमामा चिनाउनेहरुले हाम्रै नाम भजाएर व्यक्तिगत समृद्धिको यात्रामा अगाडि बढ्छन् । हामीलाई रमिते बन्न बाध्य पार्छन् ।
२००७ मा जब जनताले सामन्ती सत्ताको अन्त्यको सपना देखे, त्यो सपना साकार त भयो, तर त्यो सपना देखाउनेहरूले सत्ताको ढोका खोलेर आफैँ पस्न हतार गरे । फेरि २०४६ आयो, बहुदल आयो, आशा फेरि पलायो । तर फेरि त्यही भयो—सत्तामा केही सीमित अनुहार मात्रै पुगे र जनताको भाग फेरि प्रतीक्षामा रह्यो ।
२०६२/६३ मा फेरि आन्दोलन भयो—राजा फालियो, गणतन्त्र आयो । लाग्यो अब त साँच्चै जनताको शासन सुरु भयो । तर आजको यथार्थ के हो ? जनता फेरि निराश छन् । फेरि विभाजित छन् । अनि फेरि, कतैबाट स्वर आउँछ—‘राजा फर्काऊँ’ ।
साच्चै, हरेक परिवर्तनपछि भिन्न नाम र अनुहारले सत्तामा उही वर्ग पुग्छ—जो जनताको नारा चिच्याउँछ, माहोल बुझेर झण्डा बोकी कहिले अगाडि र कहिले पछाडि उभिन्छ तर भित्रभित्रै सत्ताको व्यापारको हिसाबकिताब र अनुुमान गरिरहेको हुन्छ । राजावादी हुन् वा गणतन्त्रवादी—उनीहरूको उद्देश्य एउटै देखिन्छ—सत्ता ।
भावना त जनताको हो, फाइदा त उही सञ्जालको
जनताको आँसु, रगत र आशा जतिसुकै साँचो होस्—त्यो सबै एक ‘प्याकेज’ बनेर सत्ताको सपना देख्नेहरूको काम आउँछ । आन्दोलनको भीडमा निहित स्वार्थ बोकेर तिनै अवसरवादी सुकिला–नुकिला मिसिन्छन् । तिनीहरू जनताको आवाज बनेर देखिन्छन् तर उनीहरूको प्राथमिकता जनताभन्दा ‘पद’ हो ।
हेरौँ न आज राप्रपाले बोकेको ‘राजा फर्काऊँ’को नारा । के त्यहाँ सिंगो योजनासहित देश विकासको मोडल छ ? छैन । तर जनताको निराशा, आक्रोश र आशालाई प्रयोग गरेर उनीहरू फेरि सत्तामा पुग्न खोजिरहेका छन् । गणतन्त्रमा वाक्कदिक्क भएका नागरिकलाई ‘सुनौलो भविष्य’ को सपना देखाएर उनीहरू आफूलाई विकल्पको रूपमा प्रस्तुत गर्छन् । अहिलेका प्रमुख राजनीतिक पार्टीहरुले पनि जनतालाई पटमूर्ख बनाउँदै यस्तै हर्कत गरेर सत्ता सम्मको यात्रा तय गरेका हुन् ।
तर फेरि प्रश्न उठ्छ—सत्ता फेरिएर के सोच फेरिएको हो ? यदि सोच उही हो—कि सत्तामा पुगेपछि आफ्ना आसेपासेहरूलाई मात्र लाभ दिने, राज्यको सम्पत्ति आफ्नै सञ्जालमा घुमाउने हो भने परिवर्तनको नाममा फेरि धोका मात्र हुनेछ ।
हामी जनताले अब बुझ्नुपर्छ — हामी प्रयोग भइरहेका छौँ
अब हामीले बुझ्नुपर्ने समय आएको छ—क्रान्तिका झण्डा सत्य ह्दयले हामीले बोक्छौँ, नाराहरू हामीले लगाउँछौं, रातभर सडकमै बसेर बलिदान हामीले दिन्छौँ । तर परिणाम शुन्य । हरेकचोटि उही वर्गले आवरण फेरर देशको ढुकुटी लुट्छ । हामी गाँसबासका लागि संघर्ष गरिरहेका हुन्छौँ ।
राज्यको सेवा, सुविधा, ठेक्कापट्टा, जागिर, पहुँच—सबै उही वर्गको कब्जामा जान्छ । आन्दोलनपछि ‘पद्धति’ फेरिँदैन, केवल ‘अनुहार’ मात्रै फेरिन्छ ।
अबको क्रान्ति सत्ताको लागि होइन, चेतनाको लागि हुनुपर्छ
सत्ताको कुर्सीमा को बस्ने भन्नेभन्दा बढी अब यो विचार गर्नुपर्छ—कसरी बस्ने ? किन बस्ने ? र कसका लागि बस्ने ? जबसम्म राज्यव्यवस्था जनताको पहुँचमा छैन, जनताको सहभागिता छैन र जनताको लागि जिम्मेवार छैन, तबसम्म त्यो व्यवस्था जुनसुकै नामको होस्, त्यो केवल सत्ताको व्यापार हो ।
अब हामीले ’उनीहरू’ को आन्दोलन र ’हाम्रो’ आन्दोलनबीचको भिन्नता चिन्नुपर्छ । अब हामीले झण्डा बोक्नु अघि विचार गर्नुपर्छ—यो झण्डा कसको लागि हो ? मेरो अधिकारको लागि ? कि कसैलाई सत्तामा पुर्याइदिने भर्याङका लागि ?
हामी फेरि प्रयोग हुन सक्दैनौं । हामी फेरि कुनै ‘रणनीतिक खेल’को प्यादा बन्न सक्दैनौँ । अब आन्दोलन भएछ भने त्यो हाम्रो चेतनाको आन्दोलन हुनुपर्छ—जहाँ सत्ता होइन, संवेदनशीलता, पद होइन, उत्तरदायित्व, र वाचा होइन, परिणाम प्राथमिकतामा पर्छ ।
अबको परिवर्तन शब्दको होइन, सोचको हुनुपर्छ । नत्र, हामी फेरि पछुताउनेछौँ—फेरि पछाडि फर्केर भन्छौँ, ‘हामीलाई फेरि छलेछन् ।’ अहिलेसम्म एउटै चक्र अनवरत दोहोरिइरहेको देखिन्छ—जनताको भावना, बलिदान र आशालाई केही सीमित व्यक्तिले सत्ताको भर्याङ बनाउने र सत्तामा पुगेपछि फेरि त्यसैलाई कुल्चने ।
त्यसबेला पनि परिवर्तनका नारा थिए, सडकमै उत्रेर ‘राजा फालौँ, गणतन्त्र ल्याऔँ’ भन्ने थियो । अहिले फेरि त्यही सडकमा ‘गणतन्त्र असफल भयो, राजा फर्काऔँ’ भन्ने आवाज सुनिन थालेको छ । सन्देश उस्तै छ, पात्र फेरिएका छन् तर नियत र उद्देश्य उही पुरानै देखिन्छ—सत्ता ।
आजको सन्दर्भमा हेर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजावादी शक्ति फेरि संगठित हुँदैछन् । उनीहरू असन्तुष्ट, निराश, र नेतृत्वप्रति वितृष्णा भएका जनतालाई ’राजा फर्काउने’ नाराबाट आकर्षित गर्न खोजिरहेका छन् । तर प्रश्न उठ्छ—के यिनीहरूसँग साँच्चै वैकल्पिक योजना छ ? के ज्ञानेन्द्र शाहसँग आधुनिक युगको लोकतान्त्रिक व्यवस्थाभित्र देशलाई समृद्ध बनाउने कुनै रोडम्याप छ ? उत्तर स्पष्ट छ, उनीहरुसँग कुनै दिशानिर्देश छैन ।
राप्रपा आफैँमा दिशाहीन छ । कहिले धर्मनिरपेक्षताको विरोध गर्छ, कहिले संघीयताको । कहिले राजा भन्छ, कहिले सशक्त लोकतन्त्र । यसले के देखाउँछ भने उनीहरूलाई जनताको पीडासँग खास सरोकार छैन । सरोकार छ भने सत्ताको कुर्सीसँग छ र त्यसमा पुग्न जुनसुकै नारा प्रयोग गर्न पछि पर्दैनन् ।
व्यवस्था होइन, व्यक्तिमा केन्द्रित शासन
नेपालमा सत्ता व्यवस्थाभन्दा व्यक्ति विशेषमा केन्द्रित छ । राजा आए पनि, राष्ट्रपति वा प्रधानमन्त्री बने पनि, समृद्धिको ढोका खुल्दैन—किनभने उनीहरूसँग जोडिएका सञ्जाल (नेटवर्क) हरू सधैँ उही रहन्छन् । राज्यको ढुकुटी, स्रोत, अवसर, पहुँच—सबैमा यिनै ‘निकटजन’ हाबी हुन्छन् ।
राजावादी आन्दोलनमा अहिले देखिएका केही सुकिलानुकिला अनुहारहरू—जसले नारा लगाउने, झण्डा बोकेको, ब्यानर टाँस्ने काम पनि गर्छन्—सामान्य नागरिक होइनन् । देशप्रति आशा जगाउनेहरु होइनन्, अवसरवादी नागरिकहरू हुन् । यिनको आन्दोलनको अन्तिम लक्ष्य हो–पावर सर्कल (शक्ति घेरा) मा आफ्नो ‘पालो’ सुनिश्चित गर्नु । त्यही भएर त राजसंस्था फर्किए पनि परिवर्तन हुने भनेको ‘माथिका अनुहार’ मात्रै हो, तर पद्धति, सोच र लुटको संरचना फेरिँदैन ।
जनता वाक्कदिक्क, तर विकल्पहीन
गणतन्त्रवादी भनिने दलहरू आफैं भ्रष्ट्राचार, सत्ता मोह र कार्यकर्तामुखी नीतिले गजक्क परेका छन् । यिनकै कारण गणतन्त्रमा जनताको आस्था घट्दै गएको हो । जब आशा हराउँछ, तब नागरिक विकल्पको खोजीमा भौतारिन्छन, यसका लागि प्रतिगामी शक्तिका पछि पनि लाग्छन् ।
यसरी विकल्पको अभावमा जनता फेरि पुरानै शक्तिप्रति आकर्षित भइरहेका छन् । तर त्यो विकल्प पनि झुटो सपनाजस्तै देखिन्छ—जहाँ परिवर्तनको सम्भावना होइन, सत्ता हस्तान्तरणको नाटकीय पुनरावृत्ति मात्र हुन्छ ।
त्यसैले अब चाहिएको छ–सचेत नागरिक आन्दोलन
हामीले सत्ताको कुर्सी घुमाइरहेका अनुहार मात्र होइन, त्यो कुर्सीको बनावट नै परिवर्तन गर्नुपर्छ । नत्र आन्दोलन फेरि पनि ‘प्रयोग’ हुनेछ, भावना फेरि ‘सिँढी’ हुनेछ र परिवर्तन फेरि ‘छल’ हुनेछ । देशको राजनीतिक स्थायित्व र समृद्धिको यात्रा सत्तामै केन्द्रित नभइ जनतामा आधारित शासन प्रणालीतर्फ उन्मुख नहुञ्जेल, हाम्रा बलिदानहरू केवल अरूलाई सत्ता चढाउने भर्याङमात्र बन्नेछन् ।
विचार/अन्तर्वार्ता
पूर्वराजा ज्ञानेन्द्र पनि सुध्रिए, लोकतन्त्रवादी नेताहरु कहिले सुध्रिने ?
जितेन्द्र साहनयाँ वर्ष, नयाँ दृष्टिकोण : अनिश्चितताको बीचमा उत्तरदायी पत्रकारिताको प्रतिबद्धता
जितेन्द्र साहजलवायु न्यायका लागि हाम्रो देशको आवाज
जितेन्द्र साहनेपालीका लागि गुमेको आत्मा खोज्ने दिन
जितेन्द्र साहनिराशाको घेराभित्र आशाको खोजीमा नेपाली समाज
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares