सामाजिक सञ्जाल सम्बन्धी विधेयक
विराटनगर- सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्जाल सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयकका सजायसम्बन्धी प्रावधानले नागरिकको अहित गर्न सक्ने भन्दै राष्ट्रिय मानव अधिकार आयोगले पुनर्विचारका लागि ध्यानाकर्षण गराएको छ ।
विधेयकका प्रावधान नियमनभन्दा नियन्त्रणमुखी देखिएको निचोड निकाल्दै आयोगले पुनर्विचारका लागि सरकारलाई भनेको हो ।
आयोगले बिहीबार विधेयकमाथि छलफल गर्दै धारणा सार्वजनिक गरेको हो । आयोगका कानुन महाशाखा प्रमुख श्यामबाबु काफ्लेले कार्यक्रममा विधेयकका प्रावधानमाथि बुँदागत टिप्पणी गरेका थिए । यसका प्रावधानमा मात्र नभइ सरकारकै नियतमा समेत प्रश्न उठाउने प्रशस्तै ठाउँ रहेको बताए ।
'विधेयकको दफा १७ देखि २८ सम्म प्रस्ताव गरिएको सजायको व्यवस्था पुनर्विचार गर्न आवश्यक छ,’ उनले भने । सुरुमा सचेत गराउने र त्यसपछि पनि नमानेमा मात्र सजाय गर्ने गरी विधेयक संशोधन गरिनुपर्ने उनको बुझाइ छ ।
दफा १२(ग)ले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने आयोगको चिन्ता छ । सार्वजनिक पदमा रहेकाहरूको आलोचना गर्दा पनि आकर्षित हुन सक्ने भएकाले यसलाई प्रष्ट पारिनुपर्ने आयोगले जनाएको छ ।
त्यस्तै, १२ (ञ)अनुसार जाँचबुझका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताले विवरण दिनुपर्ने प्रावधान पनि आयोगले संशोधनका लागि आवश्यक रहेकाे औँल्याएको छ । काफ्लेलेका अनुसार प्रयोगकर्ताले डाइरेक्ट यस्तो विवरण दिँदाखेरि स्वेच्छाचारिता हुन सक्ने भएकाले अदालतको अनुमतिले मात्र दिनुपर्ने प्रावधान आवश्यक हुन्छ ।
देवानी प्रकृतिका विषयलाई पनि फौजदारी कसुरमा कडा सजायको प्रावधान राखिएकाले त्यसमा सुधारको आवश्यकता रहेको आयोगले औँल्याएको छ । ‘देवानी विषयहरूलाई पनि अनुसूची १ मा राखिएको छ, यसमा सुधार आवश्यक छ,’ काफ्लेले सुझाव दिँदै भने।
त्यस्तै, सजाय तोक्ने अधिकार स्वतन्त्र निकायलाई नदिए निष्पक्ष हुन नसक्ने भएकाले आयोगले खबरदारी गरेको छ । हदम्यादको प्रावधान अस्पष्ट रहेको, सजाय पुनरावेदन, उच्च अदालतमा हुनुपर्ने आयोगले जनाएको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारसँग जोडिएको यो विधेयकमा आयोगसँग छलफल नगरेकोमा पनि उसले असन्तुष्टि जनाएको छ । आफूहरूसँग छलफल नगरे पनि आयोगले आफैँ विधेयकमा गर्नुपर्ने सुधारका विषयमा सबैसँग छलफल गरेर सुझाव दिने तयारी गरेको छ । सभामुखमार्फत आयोगले संसद्लाई सुझाव दिन लागेको हो ।
आयोग अध्यक्ष तपबहादुर मगरले नियन्त्रणभन्दा नियमनलाई ध्यानमा राखी विधेयक ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालमा नियमन गर्नुपर्नेछ, तर नियन्त्रण गर्नुभएन,’ उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोग पनि यहीअनुसार सुझाव दिएर अघि बढौँला ।’
कार्यक्रममा सहभागीहरूले सामाजिक सञ्जाल विधेयकका धेरै प्रावधानमा संशोधनको आवश्यकता औँल्याएका छन् । पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराईले एकातर्फ कतिपय विषयमा व्याख्यासमेत नभएको र अर्काेतर्फ धेरै सजायको प्रावधान राखिएकाले यसमा व्यापक संशोधनको आवश्यकता औँल्याएका छन् । मानव अधिकारवादीहरू चरण प्रसाईं, डा. गोपालकृष्ण शिवाकोटीलगायतले विधेयकले नागरिकका अधिकारमा दखल दिने जोखिम रहेको उल्लेख गरे ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares