६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

एक्लैले खनेको गोरेटो आज पक्की सडक : दृष्टिविहीन परिवारका लागि चन्द्रवीरको दुई वर्षको संघर्ष

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

तुलसीपुर (रासस) — दृष्टिविहीन श्रीमती र छोराहरूको सहज आवतजावतका लागि चन्द्रवीर वलीले दुई वर्षसम्म एक्लै बाटो खने। न कसैको सहयोग पाए, न त कसैले चासो नै दियो। तर अहिले त्यही गोरेटो पक्की सडकमा परिणत भएको छ।

तुलसीपुर उपमहानगरपालिका–3 साततलेका ७० वर्षीय चन्द्रवीर वलीले राप्ती लोकमार्गसम्म पुग्न सहज होस् भनेर दुई किलोमिटर लामो गोरेटो खनेका थिए। विसं २०७३ मा उनले एक्लै गरेको संघर्षको प्रतिफलस्वरूप आज त्यहाँ गाडी, अटो, मोटरसाइकलहरू चल्न थालेका छन्। त्यही बाटो खमारी जाने छोटो मार्ग बनेको छ।

'श्रीमती पनि दृष्टिविहीन, छोराहरू पनि देख्दैनथे, बजार जान बाटो थिएन,' वलीले भने, 'श्रीमती र छोराहरू लड्लान् भन्ने डरले बाटो खनेको थिएँ, अहिले गाडी नै गुड्न थाले।' वलीका पाँच छोरा र एक छोरीमध्ये एक छोरा र छोरीको सानैमा मृत्यु भयो। बाँकी चार छोरामध्ये कान्छा बाहेक तीन जना दृष्टिविहीन छन्। जेठो छोरा काठमाडौंको दोहोरी साँझमा काम गर्छन् भने माइला छोरा तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन्। कान्छा छोरा काठमाडौंमै दृष्टिविहीनहरूलाई बाटो देखाउने काम गर्छन्।

वली परिवार अहिले सहयोगी मन भएका व्यक्तिहरूको सहारामा गुजारा चलाइरहेका छन्। 'कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ,' वली भन्छन्, 'जो आउनुहुन्छ, उहाँहरूले चामल, दाल ल्याइदिनुहुन्छ। यसरी नै हाम्रो जीवन चलेको छ।'
 

प्रकाशित : ११ चैत २०८१, सोमबार 12:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved