६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

रेलवे आयोजनामाथि मुआब्जा वितरणमा अनियमितताको आरोप

१२ चैत २०८१, मङ्गलबार

Advertisement

काठमाडौं– बर्दिबासका रेलवे आयोजना पीडितहरू मुआब्जा नपाएको लगायत विभिन्न समस्या समाधानको माग गर्दै निरन्तर छ दिनदेखि आन्दोलनरत छन् । 

बिहीबारदेखि उनीहरू रेलवे विभागअगाडि धर्नामा बसेका छन् । आन्दोलनकारीले मुआब्जा वितरणमा अनियमितता भएको आरोप लगाएका छन् । रेलवे आयोजना पीडितहरूले निष्पक्ष छानबिन र मुआब्जा वितरणमा पारदर्शिता कायम गर्न माग गरेका छन् । उनीहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

रेलवे विभागका प्रवक्ता कमलकुमार साहका अनुसार विभागले समस्या समाधानका लागि पहल गरिरहेको छ । ‘आन्दोलनपछि मुआब्जाको विषयमा छलफल भएको छ । मन्त्रालयसँग कुराकानी भइरहेको छ । आज पनि विभागका महानिर्देशक मन्त्रालयमा छलफलका लागि जानुभएको छ,’ उनले भने, ‘तर तत्काल समस्या समाधान हुन्छ कि हुँदैन भन्ने निश्चित छैन । मुआब्जासम्बन्धी निर्णय विभागले गर्न सक्दैन, किनभने यो काम जिल्ला प्रशासन कार्यालयको हो ।

विभागले पीडितहरूको निवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालय हुँदै महोत्तरी जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको छ । अब त्यहाँबाट निकास आउन सक्छ।’ तर भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले यो विषयमा आफू अनभिज्ञ रहेको बताए । ‘मैले यसबारे छलफल गर्न पाएको छैन । अहिले बजेटको छलफलमा व्यस्त भएकाले थाहा छैन,’ उनले भने, ‘रेल विभागका महानिर्देशकसँग कुरा गर्नुहोस् । मन्त्रालयसँग कुरा भइरहेको भन्ने सोमबार मात्र सुनेको छु ।’

१२ वर्षदेखि रोक्का रहेको जग्गाको मुआब्जा नपाएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएका छन् । जनकपुरस्थित रेलवे कार्यालयका प्रमुख विनोदकुमार ओझाले नियमविपरीत मुआब्जा वितरण गरेको आरोप लगाउँदै प्रमाणसहित पीडितले गत मंसिर २३ मा रेलवे विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागका महानिर्देशक अजय मूलले अन्य अधिकारीहरूसँग छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएका थिए । तर तीन–चार महिनासम्म कुनै सुनुवाइ नभएको भन्दै पीडितहरूले असन्तोष व्यक्त गरेका छन् ।

पीडितहरूका अनुसार व्यक्तिगत तथा सामूहिक रूपमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएकाले आन्दोलनमा जान बाध्य भएका हुन् । उनीहरूले विभागलाई अलमल्याउने रणनीति अपनाएको आरोप लगाएका छन् । आन्दोलनकारी नीरज अधिकारीले जनकपुरस्थित रेलवे कार्यालयका कर्मचारीहरूले मनलाग्दी ढंगबाट मुआब्जा वितरण गरेको दाबी गरे ।

‘रेलवे कार्यालयका कर्मचारीहरूले स्वेच्छाचारी रूपमा वर्गीकरण गरेर मुआब्जा वितरण गरेका छन् । १५ लाख रुपैयाँ मूल्य पर्ने कट्ठाको जग्गालाई १० लाख रुपैयाँमात्र दिएको छ । एउटै सीमासँग जोडिएको जग्गामा कसैलाई कट्ठाको डेढ लाख, कसैलाई ६ लाख रुपैयाँ दिइएको छ,’ अधिकारीले भने ।

बर्दिबास क्षेत्रमा जग्गाको मूल्य कट्ठाको १५ लाख रुपैयाँ तोकिएको भए पनि रेलवे आयोजनाले करिब तीन बिगाहा जग्गाको मुआब्जा १० लाख रुपैयाँ प्रतिकट्ठाका दरले मात्र वितरण गरेको छ । मुआब्जा वितरण अघि न्यूनतम मूल्य ७ लाखदेखि अधिकतम ८१ लाख रुपैयाँ प्रतिकट्ठा तोकिएको थियो ।

यसैगरी भङ्गाहा क्षेत्रमा मुआब्जा वितरण गर्दा कसैलाई डेढ लाख रुपैयाँ प्रतिकट्ठा र कसैलाई ६ लाख रुपैयाँ प्रतिकट्ठाका दरले रकम दिइएको छ । १२ कट्ठा जग्गामध्ये ५–८ कट्ठाका मालिकहरूले प्रतिकट्ठा डेढ लाख मात्र पाएको गुनासो गरेका छन् । ‘सुरुमा भङ्गाहा क्षेत्रमा प्रतिकट्ठा डेढ लाख रुपैयाँका दरले मुआब्जा वितरण गरिएको थियो,’ एक पीडितले भने, ‘तर, पछि सोही सीमासँग जोडिएको जग्गामा प्रतिकट्ठा ६ लाख रुपैयाँ दिइयो । यो सरासर अन्याय हो ।’
 

प्रकाशित : १२ चैत २०८१, मङ्गलबार 13:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved