१९ वैशाख २०८२, शुक्रबार 02 May 2025, Friday

ओलीको दृष्टिमा नेपाल : धार्मिक पहिचानदेखि सगरमाथा संवादसम्म

जितेन्द्र साह
१९ वैशाख २०८२, शुक्रबार

Advertisement

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओली अध्ययनशील, जिज्ञासु र फरक अभिव्यक्ति क्षमता भएका नेता हुन् । उनको बोलीमा कहिलेकाहीँ तथ्यगत त्रुटि देखिए पनि सन्दर्भमा उनले राख्ने भाव, प्रतीक र विश्वासले राष्ट्रप्रेमको गहिरो सन्देश दिन्छन्। विशेषतः धर्म, संस्कृति र राष्ट्रिय गौरवसँग जोडिएका प्रसँगमा ओलीको भाषण शास्त्र, पौराणिकता र समसामयिकताबीचको पुल जस्तो लाग्छ।

कोशी प्रदेशको लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले बोलेका शब्दहरू राजनीतिक मन्तव्यभन्दा बढी राष्ट्र–आत्माको पुकार जस्ता थिए। उनले भने, ‘भगवान शिव, विष्णु, गुरु विश्वामित्र यहीँ जन्मेका हुन्।’ उनले चतराधामलाई गंगासरह उल्लेख गरे, बर्जु ताल, हलेसी महादेवको चर्चा गरे। यी सबै उनले बोलेका कुरा पौराणिक किंवदन्तीमा आधारित भए पनि, त्यो बोलीको मूलमा राष्ट्रिय गौरव र पर्यटन प्रवर्द्धनको आकांक्षा लुकेको छ।

ओलीले बोलेको आधार प्राचीनकालको भारतवर्षसँग जोडिन्छ । ‘भारतवर्ष’ कुनै आधुनिक राजनीतिक सिमाना थिएन, यो एक सभ्यतागत क्षेत्र थियो, जहाँ साझा धर्म, दर्शन, भाषा (संस्कृत), संस्कृति र ऐतिहासिक स्मृति मिल्दथे। भारतवर्ष भन्नाले ऐतिहासिक, सांस्कृतिक र भौगोलिक दृष्टिले एक विशाल भूभागलाई जनाइन्छ, जसले आजको भारत देश मात्र होइन, पुरातन समयमा अफगानिस्तानदेखि म्यानमारसम्म, तिब्बतदेखि श्रीलंका नजिकसम्म फैलिएको दक्षिण एसियाली क्षेत्रलाई समेट्थ्यो।

भारतवर्ष भन्ने ऐतिहासिक–धार्मिक अवधारणाले समेट्ने भूभाग आजका दृष्टिले हेर्दा निम्न देशहरू यसमा पर्थे । विभिन्न कालखण्ड अनुसार केही फरक पर्न सक्छ, तर साधारण रूपमा :
१. भारत – मूल र केन्द्रभूमि ।
२. नेपाल – विशेषगरी हिमालय र हिन्दू–बौद्ध सांस्कृतिक सम्पदाको कारण महत्वपूर्ण अंग।
३. बंगलादेश – पूर्वी भारतको प्राचीन भूभाग (जस्तै बंग, गौड) का रूपमा ।
४. पाकिस्तान – प्राचीन सिन्धु सभ्यता (सिन्धु, गान्धार, तक्षशिला क्षेत्र) यसभित्र पथ्र्यो।
५. अफगानिस्तान – प्राचीन गान्धार राज्य, विशेषतः पूर्वी भाग (नंगरहार, काबुल, कन्धार आसपास)।
६. श्रीलंका – रामायणकालमा ‘लंका’ को नाममा जोडिएको, सांस्कृतिक दृष्टिले भारतवर्षसँग नजिक।
७. भुटान – हिमालय क्षेत्रको धार्मिक र सांस्कृतिक समरूपताका कारण समावेश।
८. म्यानमारको पश्चिमी भाग – प्राचीन भारतसँग व्यापार, धर्म र संस्कृति साटासाट भएको क्षेत्र।
९. तिब्बतको केही भाग – विशेषतः भारतको धार्मिक प्रभाव परेको भूभाग, बौद्ध दर्शनका माध्यमबाट।
१०. मालदिभ्स – प्राचीन हिन्द महासागर व्यापार मार्ग र सांस्कृतिक सम्पर्कका कारण सम्भावित समावेश।

मुख्यतः भारतवर्ष भन्नाले बुझाइने कुराहरू :

ऐतिहासिक–धार्मिक अवधारणा 
‘भारतवर्ष’ शब्द हिन्दू धर्मशास्त्रहरू (जस्तै– विष्णुपुराण, महाभारत, रामायण) मा उल्लेखित छ, जहाँ यसलाई एक दिव्य भूभाग वा ‘जम्बुद्वीप’ भित्रको एक खण्डका रूपमा वर्णन गरिएको छ। यसको नाम ‘भरत’ राजा (महाभारतका पात्र) बाट आएको हो, जसले यो भूमि शासन गरेका थिए भन्ने विश्वास छ।

भौगोलिक अर्थमा 
पुराना ग्रन्थहरूमा भारतवर्षको क्षेत्र उत्तरमा हिमालयदेखि दक्षिणमा हिन्द महासागरसम्म, पूर्वमा ब्रह्मदेश (म्यानमार) र पश्चिममा गान्धार (अफगानिस्तान) सम्म उल्लेख गरिएको छ।

सांस्कृतिक एकता 
भाषिक, धार्मिक र परम्परागत विविधता हुँदाहुँदै पनि एउटै सांस्कृतिक मूल र सभ्यतामा आधारित साझा जीवनशैली– हिन्दू धर्म, बौद्ध दर्शन, संस्कृत भाषा आदिको साझा जग।

आजको सन्दर्भमा 
आधुनिक भारत राष्ट्रको नाम पनि ‘भारत’ नै राखिएको छ, जसले इतिहास र परम्पराको निरन्तरताको संकेत गर्छ। तर आज ‘भारतवर्ष’ भन्ने शब्द साहित्य, दर्शन वा सांस्कृतिक भाषणमा बढी प्रयोग हुन्छ। संक्षेपमा भारतवर्ष भन्नाले केवल एक देश होइन, एक ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत अवधारणा बुझिन्छ, जुन हजारौँ वर्षको सांस्कृतिक निरन्तरता बोकेको छ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति त्योबेलाको विशाल नेपालको सन्दर्भमा आउँछ जसलाई धेरैले ठट्यौलीको रुपमा लिन्छ । भारतको धार्मिक र सांस्कृतिक आधारशीला नेपाल भूमीमा रहेको विभिन्न तथ्यले पनि पुष्टि गर्छ । प्राचीनकालमा नेपाललाई विशेषगरी हिमालय र हिन्दू–बौद्ध सांस्कृतिक सम्पदाको कारण महत्वपूर्ण अंग मानिन्थ्यो । आफूलाई भारत भनेर दाबी गर्ने इन्डियाले जति फाइँफुट्टी गरे पनि उसको धार्मिक र सांस्कृतिक धरातल नेपालमै छ ।

यही कारणले ओलीले यसअघि पनि बारम्बार धार्मिक तथा सांस्कृतिक पर्यटनसँग जोडिने प्रसंग उठाइरहेका छन्। उनले केही वर्ष अगाडि जनकपुरलाई ‘धार्मिक पर्यटकीय राजधानी’ बनाउने घोषणा गरेका थिए। जनकपुरधाममा पाइला नटेके भारतीयहरुको धार्मिक अनुष्ठान समेत अधुरो मानिन्छ । भारतीयहरुले जति खोके पनि सुनसरीको रामधुनीले रामायणकै बारेमा धेरथोक भन्छ ।

पशुपतिनाथदेखि लुम्बिनी, मुक्तिनाथदेखि मानसरोवरसम्म जोड्ने हिमाली तीर्थ मार्गको परिकल्पना ओलीले राखेका थिए। उनले रामायण सर्किट, बुद्ध सर्किट र शिव सर्किट जस्ता अवधारणामा पनि खुलेर समर्थन जनाएका छन्।

नेपाल धर्मभूमि हो। विश्वकै मुख्य तीर्थस्थलहरू यहीँ छन्। काठमाडौँको पशुपतिनाथ, भक्तपुरको चाँगुनारायण, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणीधाम, स्याङ्जाको गोमेश्वर, पर्वतको गुप्तेश्वर, मुस्ताङको मुक्तिनाथ, खोटाङको हलेसी, रामेछापको उमाकुण्ड, सप्तरीको कञ्चनरुप, कैलालीको गौरीफन्टा—यी सबै स्थल धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा अमूल्य छन्।

त्यसैगरी, बौद्ध धर्मका दृष्टिले लुम्बिनी मात्र होइन, कपिलवस्तु, नवलपरासीको रामग्राम स्तूप, पाल्पाको रानिघाट, काठमाडौँ उपत्यकाका स्वयम्भू, बौद्धनाथ र नमोबुद्धले पनि विशाल सन्देश दिन्छन्। तर यी ठाउँहरू सरकार र राज्यको प्राथमिकतामा पर्याप्त रूपले पर्न सकेका छैनन्। भारतले अयोध्या, काशी र मथुरा जस्तै स्थललाई विश्वसामु उभ्याएको छ, नेपाल अझै आफ्नै गाथा सुनाउन सकिरहेको छैन।

प्रधानमन्त्री ओलीको बोलीमा यस्तो प्रयास देखिन्छ—जहाँ तिर्थ, इतिहास र भूगोल एउटै वाक्यमा मिसिन्छ। त्यो शैलीलाई नकार्न सकिंँदैन। गिज्याउने, टुक्र्याएर व्यंग्य गर्ने चलन हाम्रो राजनीतिक संस्कृतिको दुर्भाग्य हो। ओलीले ‘गायत्री मन्त्र यहीँ रचिएको हो’, ‘विश्वामित्रको जन्म यहीँ भएको हो’ भने—यो सत्यको ऐतिहासिक प्रमाण खोज्नु भन्दा पहिला हाम्रो सांस्कृतिक आत्मबोध कति बलियो छ भन्ने बुझ्न जरुरी छ।

धार्मिक पर्यटन भनेको केवल आस्थाको कुरा होइन—यो रोजगारी, पूर्वाधार र समृद्धिको द्वार पनि हो। भारतको चारधाम यात्रा र कुम्भ मेलाजस्ता कार्यक्रममार्फत करोडौँ डलरको पर्यटन व्यवसाय फस्टाएको छ। नेपालले भने लुम्बिनीमै एकरुपता कायम गर्न सकिरहेको छैन। सगरमाथाको छायाँमा रहेको तीर्थहरू अझै ओझेलमा छन्।

प्रधानमन्त्री ओलीले धार्मिक र सांस्कृतिक पर्यटनको महत्व बुझेकै कारण पर्वतीय पर्यटनमा समेत उनको ध्यान गएको हो । सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे, कञ्चनजङ्घा जस्ता हिमालहरू न केवल पर्वतारोहीको आकर्षण हुन्, ती देवता–रुपी संरचनाजस्तै पूजनीय छन्। सगरमाथाको नाममा उनले ‘सगरमाथा संवाद’ सुरु गराउन लागेका छन्—जहाँ जलवायु परिवर्तन, हिमाली जीवनशैली र वातावरणीय न्यायबारे विश्वसामु नेपालको आवाज पु¥याउने प्रयास गरिनेछ। यो संवादको प्रतीकात्मकता धार्मिक र पर्यावरणीय दृष्टिकोणले पनि निकै सशक्त छ—जुन सगरमाथा हिन्दू र बौद्ध धर्ममा समानरूपले पूजनीय छ।

‘सगरमाथा संवाद’ ओली नेतृत्वमा २०७६ सालमा सुरु भएको एक उच्चस्तरीय बहसको थलो हो, जसमा विश्वका अग्रणी जलवायु विज्ञ, राजनीतिक नेता र वैज्ञानिक सहभागी गराएर नेपालले आफ्नो पक्ष राख्नेछ। यस संवादले नेपालको पर्वतीय पर्यटनलाई संरक्षण, चेतना र कूटनीतिक सञ्जालसँग जोड्ने काम गर्छ ।

नेपालको पर्यटन ब्रान्डिङ गर्न ओलीको बोली र दृष्टिकोणलाई हेर्ने दृष्टिकोण फेरिनु पर्छ। इतिहास प्रमाणित गर्न खोज्नुको सट्टा त्यो बोलीले के दिशा देखाउँछ भन्ने बुझ्न जरुरी छ। यो अभिव्यक्ति केवल मन्तव्य होइन, एउटा अवसरको संकेत हो—जहाँ नेपाल आफ्ना धर्म, संस्कृति र हिमालका थुम्काहरूलाई समेटेर विश्वसामु उभिन सक्छ। 

हामीले प्रधानमन्त्री ओलीका बोलीमा तथ्य खोज्नेभन्दा पनि सार बुझ्न सक्नुपर्छ । उनी प्रधानमन्त्रीको रुपमा कति सफल वा असफल भए, त्यो फेरि अर्को बहसको विषय हो । तर उनले बेलाबेलामा उजागर गर्ने धार्मिक  र सांस्कृतिक पाटोले भने धार्मिक पर्यटनमा सम्भावनाको ढोका र लगानीको मौकालाई प्रोत्साहन गरेको देखिन्छ । अन्ततः हतारोमा रचित यो लेखमा पनि तथ्यगत र व्याकरणगत त्रुटि फेला पर्ला । तर यो विचारले व्यक्त गर्न खोजेको आशय, सन्देश वा सारलाई मनन गरिएमा ती त्रुटिहरु टाढाबाट चन्द्रमा देखिने कालो दाग जस्तै प्रतीत हुनेछ ।

प्रकाशित : १९ वैशाख २०८२, शुक्रबार 08:09
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved