९ वैशाख २०८२, मङ्गलबार 22 Apr 2025, Tuesday

दस महिला, एक पुरुष : बहसमा प्रेमको खोजी रियालिटी शो

द नेप्लिज संवाददाता
८ वैशाख २०८२, सोमबार

Advertisement

उनलाई लाग्छ, लेटीले इथियोपियाको ‘प्रेमपूर्ण पाटो’ देखायो र यो महिलाको प्रस्तुतिकरणमा पनि नयाँ ढोका खोल्नेछ । ‘यो महिला कसरी खुलेर बोल्न सक्छिन् भन्ने नयाँ तरिका हो,’ उनी भन्छिन्,‘यो हेर्ने नयाँ नजर हो ।’

आदिस अबाबा (इथियोपिया)– केटाकेटी भेट्छ । केटी केटामा लठ्ठिन्छ । केटीले अरु प्रतिस्पर्धीहरूलाई हराउँछे र अन्ततः केटाले उसप्रति आफ्नो माया प्रकट गर्छ ।

यदि तपाईं रियालिटी टिभीको प्रेमकथामा रमाउने मान्छे हो भने यो कथा तपाईँलाई चिनेको लाग्न सक्छ । लभ आइल्याण्ड, लभ इज ब्लाइन्ड वा द ब्याचलर जस्ता शोहरूमा यस्तै कथावस्तु दोहोरिरहन्छ ।

तर इथियोपियामा भने यस्तै खालको प्रेम कहानीले परम्परा विपरीतको बाटो समात्यो । ‘लेटीः लुकिङ फर लभ,’ नामक रियालिटी टिभी शोमा कन्टेन्ट क्रिएटर बेतेल गेटाहुनले इन्स्योरेन्स एजेन्ट मसीहाए हाइलमेसेललाई जितिन् । यस शोले पूर्वी अफ्रिकाको यो रूढिवादी देशमा डेटिङ संस्कारबारे ठुलो बहसको आगो बाल्यो ।

लेटीको ढाँचा अमेरिकी शो द ब्याचलर जस्तै थियो । वास्तवमा ‘लेटी’ अम्हारिक भाषामा ब्याचलर (अविवाहित पुरुष वा महिला) लाई जनाउने शब्द हो । शोमा दश महिलाहरू ३८ वर्षीय इथियोपियन–अमेरिकी मसीहाएको मन जित्न प्रतिस्पर्धामा उत्रिए । उनी ड्यालास, अमेरिका निवासी हुन् ।

कार्यक्रमको क्रममा ती महिलाहरूले बक्सिङ म्याच, बास्केटबल खेल र अनौठो तरिकाले गद्दाको विज्ञापन बनाउनेजस्ता चुनौतीहरूमा भाग लिएका थिए, ठीक ‘द एप्रेन्टिस शो,’ जस्तै । युट्युबमा प्रसारित ‘लेटी’ इथियोपियाजस्तो देशमा निकै दुर्लभ डेटिङ शो हो । इथियोपिया  जस्तोमा देशमा प्रेम सम्बन्धहरू सामान्यतः निजी राखिन्छ ।

‘यति ऐतिहासिक शो जित्न पाउनु सपना जस्तै लाग्यो,’ २५ वर्षीया बेतेलले बीबीसीको फोकस अन अफ्रिका पोडकास्टमा भनिन् । शोको फाइनल एपिसोड युट्युबमा ६ लाख २० हजारभन्दा धेरै पटक हेरिएको छ तर बेतेलको जित अझै पनि ‘सम्मानको बिल्ला जस्तै’ महसुस हुन्छ रे ।’ तर सबैले यसलाई त्यति सकारात्मक रूपमा बुझेका छैनन् ।

‘डेटिङ शो भन्ने अवधारणा पूरै पश्चिमी विचार हो,’ इथियोपियन भ्लगर सेमेरे कासाये भन्छन्,‘इथियोपियामा डेटिङ सधैं व्यक्तिगत कुरा हो — समयसँगै हुर्काइने कुरा, जुन परिवार वा समाजसँग तब मात्र बाँडिन्छ जब त्यो सम्बन्ध परिपक्व स्तरमा पुग्छ ।’

४१ वर्षीय सेमेरेलाई लाग्छ, यस्तो शोले महिलाको मान घटाउँछ र उनीहरूलाई ‘प्राप्त गर्न मिल्ने वस्तु’ जस्तो देखाउँछ । धेरै दर्शकहरूले पनि यही गुनासो गरेका छन् । एकजनाले युट्युबमा लेखे, ‘महिलाहरू, तपाईंहरू कुनै वस्तु होइन, जसलाई पैसा भएको व्यक्तिले सजिलैसँग उठाउन सक्नेछ ।’

अर्का एक दर्शकले भने, ‘निर्माण पक्षबाट निकै रचनात्मक काम छ, तर यदि यो संस्कारविपरीत हो भने यसको अर्थ के रह्यो ?’ बेतेलले पनि स्वीकार्छिन् कि एउटै पुरुषको लागि महिलाहरू प्रतिस्पर्धा गर्नु इथियोपियन परम्परा विपरित छ । तर उनी भन्छिन्,‘शोको मुख्य उद्देश्य भनेकै फरक–फरक खालका महिलाहरूलाई प्रतिनिधित्व गर्नु हो ।’

‘यदि तपाईंले एपिसोडहरू हेर्नुभएको छ भने हरेक महिलाको आफ्नै संघर्ष, पृष्ठभूमि र कथा छ, जुन इथियोपियन मिडियामा अहिलेसम्म देखाइएको थिएन,’ उनी भन्छिन् । वास्तवमा यस अर्थमा लेटी सफल देखिन्छ । होटल म्यानेजर, एयर होस्टेस र अकाउन्टेन्टहरू जस्ता सहभागी महिलाहरूले आपसमा गहिरो सम्बन्ध बनाउँदै दर्शकसँग आफ्ना व्यक्तिगत कथा साट्छन् ।

एक भावुक दृश्यमा, अभिनेत्री भिभियनले बताउँछिन् कि उनी इरिट्रियाबाट भागेर इथियोपिया आएकी हुन्, जहाँ सबै सक्षम व्यक्तिमाथि अनिश्चितकालीन सैनिक सेवा अनिवार्य गरिएको छ । उनले पाँच वर्षदेखि आमा देखेकी छैनन् । ‘म उहाँलाई धेरै सम्झन्छु,’ भन्दै उनी रोइहाल्छिन् । त्यसैगरी मोडेल राहेलले स्कुल छोडेर आफ्ना भाइबहिनीको खर्च जुटाउन काम गर्न थालेको कुरा बताउँछिन् ।

अन्य महिलाहरू पनि आफ्ना दुःख, पीडा र आफूमाथि प्रेम दिने मानिसहरूप्रतिको श्रद्धा खुलस्त व्यक्त गर्छन् । यिनै कथाहरू र महिलाहरूको प्रेमप्रतिको आकांक्षालाई खुला रूपमा देखाएर लेटीले आफूलाई ‘समयको सन्देश’ बन्न सफल बनाएको निर्माता मेटासेबिया योसेफ बताउँछिन् ।

लेटी निर्माण गर्ने कम्पनी डिंक टीभीकी सह–संस्थापक मेटासेबिया भन्छिन्,‘यो शोले लहर चलायो तर यो इथियोपियन संस्कृतिविरुद्धको काम भने होइन ।’ ‘हामीले यसलाई यौनिक बनाएका छैनौँ । यो केवल एक–अर्कालाई चिन्न थालेको सुरुवाती चरणसम्म सीमित छ ।’

शोले दर्शकलाई संस्कृति भनेको के हो भनेर सोच्न लगाउने काम पनि गरेको उनले बताइन् । ‘के हामी सबै एउटै संस्कृति हो त ? के हामी विविध छैनौँ ?,’ उनी प्रतिप्रश्न गर्छिन् । विश्वव्यापी रियालिटी शोको ढाँचा इथियोपियामा उतारिएको देखेर धेरै दर्शक खुसी भएका छन् ।

एक जनाले लेखेका छन्, ‘हाम्रो समाज यति संकुचित हुँदा पनि यस्तो जोखिम उठाएको देख्दा म रोमाञ्चित भएँ । मैले सधैँ इथियोपियन संस्करणमा यस्ता शो हेर्ने चाहना राखेको थिए । यो साँच्चै ऐतिहासिक क्षण हो ।’

अर्का एक दर्शकले लेखे, ‘म कहिल्यै सोच्दिनथेँ कि इथियोपियामा द ब्याचलर हेर्नेछु, तर तपाईंहरूले यसलाई जीवन्त बनाउनु भयो ।’ यस सफलतापछि  डिंक टीभीले दोस्रो सिजन ल्याउने तयारी गरेको छ । यसपटक एक महिलाले दस पुरुषमध्ये आफ्नो रोजाइ गर्ने संभावना छ । ‘हामीलाई धेरै दर्शकले सुझाव दिएका छन् — अब महिला रोज्ने होस्,’ मेटासेबियाले भनिन् । 

तर बेतेल र मसीहाएको प्रेमकथा भने रोकिएको छ । ‘उहाँ अहिले अमेरिका फर्किनुभयो, छोरा पनि उहाँसँगै छन् । यो लामो दूरीको सम्बन्ध भएकाले अहिले भन्न सक्दिन कि भविष्य कता जाने हो,’ बेतेल भन्छिन् । तर उनी शोका केही प्रतिस्पर्धीहरूसँग अझै सम्पर्कमा छन्, जसलाई उनले ‘आफ्नो सिस्टर्स’ भनेर सम्झिन्छिन् ।

उनलाई लाग्छ, लेटीले इथियोपियाको ‘प्रेमपूर्ण पाटो’ देखायो र यो महिलाको प्रस्तुतिकरणमा पनि नयाँ ढोका खोल्नेछ । ‘यो महिला कसरी खुलेर बोल्न सक्छिन् भन्ने नयाँ तरिका हो,’ उनी भन्छिन्,‘यो हेर्ने नयाँ नजर हो ।’

प्रकाशित : ८ वैशाख २०८२, सोमबार 23:37

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved