६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

रेलमा यात्रुहरूले ‘प्रलय दृश्य’ देखेको बताए

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– सशस्त्र विद्रोहीहरूले नियन्त्रणमा लिएको रेलबाट मुक्त भएका यात्रुहरूले पाकिस्तानको बलुचिस्तान प्रान्तमा ‘जाफर एक्सप्रेस’ मा देखिएको ‘प्रलय जस्तै दृश्य’ को वर्णन गरेका छन् ।

‘गोली चल्दा हामीले सास थामेर बस्यौँ, के हुन्छ भन्ने थाहा थिएन,’ रेलमा रहेका इस्हाक नूरले बीबीसीलाई भने । उनी मंगलबार क्वेट्टाबाट पेशावर जाँदै गरेका ४ सयभन्दा बढी यात्रुमध्ये एक थिए, जब बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले आक्रमण गर्यो र केही यात्रुलाई बन्धक बनायो । रेल चालकसहित केही घाइते भएको खबर छ ।

सैन्य स्रोतहरूका अनुसार १ सय ५५ यात्रुहरूलाई उद्धार गरिएको छ भने २७ विद्रोही मारिएका छन् । यद्यपि यी तथ्यांकहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । उद्धार कार्य जारी छ । सुरक्षा बलहरूले बाँकी यात्रुहरूलाई उद्धार गर्न सयौँ सैनिकहरू परिचालन गरिएको बताएका छन । हेलिकप्टर र विशेष फौज पनि तैनाथ गरिएको छ ।

बीलएले बन्धकहरूलाई बचाउने प्रयास गरिए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ । रेलमा कम्तीमा सय जना सुरक्षाकर्मी भएको अधिकारीहरूले बताएका छन् । अझै कति यात्रुहरू बन्धक छन् भन्ने स्पष्ट छैन । मुक्त गरिएका मध्ये दर्जनौँ अस्पताल भर्ना गरिएका छन् ।

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै आएका रिपोर्टहरू अनुसार केही विद्रोहीहरू यात्रुहरूसहित रेलबाट बाहिरिएर आसपासको पहाडी क्षेत्रमा पुगेका छन् । बुधबार बीबीसीले क्वेट्टा रेलवे स्टेशनमा दर्जनौँ काठका बाकसहरू लोड गरिएको देख्यो । एक रेलवे अधिकारीका अनुसार ती बाकसहरू खाली छन् र सम्भावित मृतकहरूलाई ल्याउन पठाइँदैछ । क्वेट्टाबाट लाहोरमा परिवार भेट्न गएका मुहम्मद अशरफ मंगलबार राति रेलबाट भाग्न सफल भएका यात्रुमध्ये एक थिए । ‘यात्रुहरूबीच ठूलो डर थियो । त्यो दृश्य प्रलयको जस्तै थियो,’ उनले भने । भागेका यात्रुहरू झण्डै चार घण्टा पैदल हिँडेर अर्को रेलवे स्टेशन पुगे । कमजोर यात्रुहरूलाई केटाहरूले काँधमा बोकेर लगे ।

‘हामी निकै गाह्रो गरी स्टेशनसम्म पुग्यौँ, किनभने हामी थकित थियौँ र हामीसँग बच्चा तथा महिला पनि थिए,’ अशरफले भने । इस्हाक नूरले पत्नी र दुई छोराछोरीसँग यात्रा गरिरहेका थिए । उनले भने,‘रेलमा पहिलो विस्फोट यति तीब्र थियो कि मेरो एउटा बच्चा सिटबाट खसेको थियो, हामीले एक–एक बच्चालाई ढाक्यौँ, यदि गोली आयो भने हामीलाई लागोस्, बच्चालाई होइन ।’

मुस्ताक मुहम्मद, जो रेलको तेस्रो डिब्बामा थिए, उनले यात्रुहरू आतंकित भएको सम्झिए । ‘आक्रमणकारीहरू बलुची भाषामा कुरा गरिरहेका थिए । तिनीहरूको नेता विशेष रूपमा सुरक्षा कर्मीहरूलाई हेर्न आदेश दिइरहेको थियो, ताकि उनीहरू भाग्न नपाऊन्,’उनले भने ।

बीएलएका लडाकुहरूले केही बलुचिस्तानकाबासी, महिला, बालबालिका, र वृद्धहरूलाई मंगलबार साँझ मुक्त गरेका थिए । इस्हाक नूरका अनुसार उनलाई टर्बट सहरको बासिन्दा भएको बताएपछि बन्धनमुक्त गरिएको थियो । यसैबीच, रेल चालक अम्जद यासिन घाइते भएको खबरले उनका परिवारलाई चिन्तित बनाएको छ । २४ वर्षदेखि चालक रहेका उनी आठ वर्षअघि पनि बम विस्फोटबाट बाँच्न सफल भएका थिए । उनका भाइ अमिरले बीबीसीलाई भने, ‘हामी केही सातादेखि ठूलो तनावमा थियौँ, किनभने वातावरणमा डर थियो ।’

बीएलएले दशकौँदेखि स्वतन्त्रताको लागि सशस्त्र संघर्ष गरिरहेको छ । प्रहरी चौकी, रेलमार्ग, र राजमार्गहरूमा घातक आक्रमण गर्दै आएको छ । बलुचिस्तानमा पाकिस्तानी सेना र सुरक्षा बलहरूले गरेको कारबाहीका कारण हजारौँ  सन २००० दशकदेखि बेपत्ता भएको बताइन्छ । पाकिस्तानी सुरक्षा बलहरूलाई यातना, गैर–न्यायिक हत्या जस्ता मानवअधिकार उल्लंघको आरोप लाग्दै आएको छ, जसलाई उनीहरूले अस्वीकार गर्छन् ।

पाकिस्तानी अधिकारीहरूले बीएलएलाई आतंककारी समूहको रूपमा घोषणा गरेका छन् । अमेरिका र बेलायतलगायतका पश्चिमी देशहरूले पनि यस समूहलाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेका छन् । पाकिस्तान मानवअधिकार आयोगले यस रेल आक्रमणप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ।

‘हामी सबै सरोकारवालाहरूलाई बलुचिस्तानमा नागरिकहरूले भोगिरहेको समस्याहरूको शान्तिपूर्ण, राजनीतिक समाधान खोज्न आग्रह गर्छौँ,’ आयोगले एक्स (ट्विटर) मा दिएको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यस घटनाको कडा निन्दा गर्दै बाँकी यात्रुहरूको तुरुन्त रिहाइको माग गरेका छन् ।
 

प्रकाशित : २८ फागुन २०८१, बुधबार 22:01

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved