२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

एलन मस्कले ह्वाइट हाउस छाडे, तर डोज अभियान जारी रहने बताए

द नेप्लिज संवाददाता
१५ जेठ २०८२, बिहीबार

Advertisement

विराटनगर– अमेरिकी सरकारको आकार घटाउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका विश्वकै धनी व्यक्ति एलन मस्कले डोनाल्ड ट्रम्प प्रशासनबाट अलग भएको घोषणा गरेका छन्। उनले अमेरिकी संघीय सरकारले सञ्चालनमा ल्याएको ‘सरकारी कार्यक्षमता विभाग (डोज)’ मा आफ्नो जिम्मेवारी सकिएको जनाएका हुन्।

बुधबार रातिदेखि मस्कको ‘विशेष सरकारी कर्मचारी’को रूपमा नियुक्ति अन्त्य गर्ने प्रक्रिया सुरु भएको बीबीसीले जनाएको छ। मस्कको यो भूमिका प्रारम्भदेखि नै अस्थायी थियो।

सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै लेखेका छन्, ‘अवाञ्छित खर्च कटौती गर्ने मेरो निर्धारित कार्यकाल सकिँदै गर्दा राष्ट्रपति ट्रम्पलाई यो अवसरका लागि धन्यवाद दिन चाहन्छु।’

उनले थप लेखेका छन्, ‘डोज अभियान समयसँगै अझ बलियो हुँदै जानेछ र सम्पूर्ण सरकारमा जीवनशैलीकै रूपमा स्थापित हुने विश्वास छ।’

दक्षिण अफ्रिकामा जन्मिएका मस्कलाई एक वर्षमा १३० दिनसम्म संघीय सरकारी सेवामा काम गर्न मिल्ने गरी ‘विशेष सरकारी कर्मचारी’को दर्जा दिइएको थियो। ट्रम्पको ७ माघमा भएको शपथ समारोह अनुसार हेर्दा, जेठको अन्त्यतिर मस्कको सेवा अवधि पूरा हुने अनुमान गरिएको थियो।

तर उनको यो बहिर्गमन ट्रम्प प्रशासनको बजेट विधेयकप्रति सार्वजनिक असन्तुष्टि जनाएपछि आएको हो। ट्रम्पले ठूलो, सुन्दर विधेयक भनेर प्रचार गरेको उक्त बजेटमा खरबौँ डलरको कर छुट र रक्षा खर्चमा अत्यधिक वृद्धि प्रस्ताव गरिएको छ। मस्कले सीबीएसलाई दिएको अन्तर्वार्तामा यसले संघीय घाटा झनै बढाउने बताएका छन्।

‘कुनै विधेयक ठूलो हुन सक्छ, वा सुन्दर हुन सक्छ,’मस्कले भनेका छन्, ‘तर दुवै एकैपटक सम्भव छैन भन्ने लाग्छ।’

डोज अभियान सुरु हुँदा मस्कले संघीय बजेटबाट २ खर्ब डलर कटौती गर्ने प्रतिवद्धता जनाएका थिए। तर उनले पछि त्यो लक्ष्य घटाएर १ खर्ब ५० अर्ब डलरमा सीमित गरेका थिए। उक्त अभियानका कारण अनुमानित २३ लाख संघीय कर्मचारीहरूमध्ये २ लाख ६० हजारको जागिर गइसकेको वा स्वैच्छिक अवकाश लिइसकेको जनाइएको छ।

केही घटनामा संघीय अदालतले सामूहिक रूपमा हटाइएका कर्मचारीलाई पुनः नियुक्त गर्न आदेश दिएको थियो। सरकारी संख्यामा तीव्र कटौतीका कारण कतिपय महत्वपूर्ण कर्मचारी समेत गल्तीले हटाइएका थिए, जसमा अमेरिकी आणविक कार्यक्रमका कर्मचारी पनि परेका थिए।

वैशाखको अन्त्यतिर मस्कले फेरि आफ्ना निजी कम्पनीहरूमा ध्यान केन्द्रित गर्ने जनाउँदै सरकारी भूमिकाबाट पछि हट्ने घोषणा गरेका थिए। उनले भनेका छन्, ‘डोज त अब सबै आलोचनाको पर्सेको बोको बनेको छ। जे भए पनि दोष हामीलाई नै लगाइन्छ, चाहे त्यो हाम्रा कारण भएको होस् वा नहोस्।’

मस्कको सरकारी भूमिकाको समयमा नै उनको कम्पनी टेस्लामा ठूलो गिरावट आएको छ। सन् २०८१ को पहिलो त्रैमासिकमा टेस्लाको बिक्री १३ प्रतिशतले घटेको छ, जुन कम्पनी इतिहासमै सबैभन्दा ठूलो गिरावट हो। कम्पनीको शेयर मूल्य ४५ प्रतिशतसम्म घटेको थियो, तर अहिले केही सुधार हुँदै करिब १० प्रतिशतले मात्रै घटेको छ।

टेस्लाले लगानीकर्तालाई चेतावनी दिँदै केही समय वित्तीय कठिनाइ जारी रहने उल्लेख गरेको छ। कम्पनीले राजनीतिक धारणा परिवर्तनको प्रभावले विद्युतीय गाडीको माग घट्न सक्ने सम्भावना औंल्याएको छ।

मस्कले गत महिना आयोजित आम्दानी सार्वजनिक कार्यक्रममा अब डोज अभियानमा दिने समय धेरै कम हुने र टेस्लामा धेरै समय खर्च गर्ने बताएका थिए।

डोज अभियानका कारण टेस्लाविरुद्ध आन्दोलित समूहहरूले बायकटको आह्वान गरेका छन्। कतिपय स्थानमा गाडीहरूमा तोडफोड र चार्जिङ स्टेसनमा तोडफोड गरिनुका साथै प्रदर्शनसमेत भएका छन्। अमेरिकाकी महान्यायाधिवक्ता पाम बन्डीले यस्ता कार्यलाई घरेलु आतंकवाद सरहको अपराधका रूपमा कारबाही गर्ने चेतावनी दिएकी छन्।

यसै साता कतारको दोहामा आयोजित आर्थिक सम्मेलनमा मस्कले आगामी पाँच वर्षसम्म टेस्लाको नेतृत्वमा प्रतिबद्ध रहेको बताएका छन्। उनले यसै महिना आफूले राजनीतिक चन्दा कटौती गर्ने बताउँदै गत वर्ष ट्रम्पको राष्ट्रपति पदका लागि भएको अभियान र अन्य रिपब्लिकन उम्मेदवारहरूलाई झन्डै ३० अर्ब रुपैयाँ सहयोग गरेको जानकारी गराएका थिए।

तर अब मुख्य प्रश्न उठिरहेको छ — एलन मस्क साँच्चिकै डोज अभियानबाट पूर्णतः अलग हुने त? र उनी बाहिरिएपछि त्यो अभियानको भविष्य के हुनेछ?

# एलन मस्क##डोनाल्ड #ट्रम्प#डोज

प्रकाशित : १५ जेठ २०८२, बिहीबार 11:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved