१० वैशाख २०८२, बुधबार 23 Apr 2025, Wednesday

चैती छठको चटारो

द नेप्लिज संवाददाता
२० चैत २०८१, बुधबार

Advertisement

विराटनगर– सूर्य उपासनाको चारदिने महापर्व चैती छठको तराई मधेसमा रमझम छ । जाडो र गर्मीमा गरी वर्षको दुई पटक छठ मनाइन्छ । 

तुलनात्मक रुपमा कम सहभागीता भए पनि चैती छठ पनि उही धार्मिक विधि र आस्थाका साथ मनाइन्छ । मंगलबारदेखि यसको धार्मिक अनुष्ठान सुरु भइसकेको छ । आज (बुधबार) दोस्रो दिन खरना पर्व हो ।

यो पर्वको दोस्रो दिन बुधबार साँझ घरघरमा कुलदेवताको पूजा गरी सूर्यदेव र छठी मातालाई चैती छठ स्वीकार गर्न निम्तो दिँदै खरना मनाइन्छ । मोरङको कटहरीकी उपासक विणु गुप्ताका अनुसार यो दिन व्रतालुले सूर्यदेव र छठी माताको आगमनको निमन्त्रणा गर्छन् ।  

उनका अनुसार खरनाको दिन व्रतालु दिनभर निर्जल र निराहार उपवास बस्छन् । साँझ खीर, पूरी, लरु (लड्डु), केरा र तुलसीको पातको प्रसाद तयार गरी कुलदेवताको पूजा गरेर सूर्यदेव र छठी मातालाई जलासय किनारमा भेट्न आह्वान गरिन्छ । प्रसाद (नेउज) चढाएपछि व्रतालुले राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा मात्र खान्छन्, जसमा खीर, पूरी र केरा समावेश हुन्छ ।  

यो चारदिने पर्व महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतको विहार र उत्तरप्रदेशमा  क्षेत्रमा उमंगका साथ मनाइन्छ । संस्कृतिका जानकार नरेन्द्र भगतका अनुसार यो पूर्णतया शाकाहारी पर्वले अहिंसाको सन्देश दिंदै  सबै प्राणीप्रति सदभाव राख्न सिकाउँछ । 

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगमुक्ति र मनोकामना पूरा गर्न श्रद्धापूर्वक मनाइने यो पर्वमा अन्तिम दुई साँझबिहान पोखरी, नदी, तलाउ र जलाशयमा भक्तजनको भीड लाग्छ । पर्वको सुरुवातको दिन मंगलबार व्रतालुले नहा खा (नुहाएर जीउ चोख्याउने) गरे । दोस्रो दिन आज खरनाको तयारीमा व्यस्त छन् । तेस्रो दिन बिहीबार षष्ठी तिथिमा साँझ जलासय किनारमा मुख्य पूजा हुन्छ । 

यो दिन गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटेर बनाइएको पिठोबाट ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता गुलियो पकवान र मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरालाई नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती र ठूलो ढाक्कीमा राखेर परिवारका सदस्य भक्ति र लोकगीत गाउँदै छठ घाट पुग्छन् । साँझ पानीमा पसेर अस्ताउँदो सूर्यलाई पिठार, सिन्दुर, अक्षेता र फूलसहित अर्घ चढाइन्छ ।  

चौथो दिन शुक्रबार सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न हुन्छ । पौराणिक कथाअनुसार अज्ञातवासमा रहेका पाण्डव र द्रौपदीले मिथिलाको किरात राजाको क्षेत्रमा बसेर सूर्यदेवको आराधना गरेका थिए । लोककथनअनुसार त्यहीँबाट छठको परम्परा सुरु भएको हो ।  

सूर्य पुराणमा अनुसुइयाले छठ व्रत गरेर अटल सौभाग्य र प्रेम पाएको उल्लेख छ । हिन्दु र मुस्लिम दुवैले मनाउने यो पर्व सामाजिक एकताको प्रतीक बनेको छ । यसमा ७० वस्तु चढाउने चलन छ तर सामथ्र्य नहुनेले गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ । छठ पर्व गर्नाले घरमा सुख शान्ति तथा चर्मरोग निको हुने धार्मिक विश्वास रहेको भगत बताउँछन् । (राससको रिपोर्टमा आधारित)
 

प्रकाशित : २० चैत २०८१, बुधबार 10:38

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved