प्रिय विद्यार्थी तथा अभिभावकज्यूहरू !
हार्दिक नमस्कार ।
विषयः आवश्यक सहयोग गरिदिने बारे ।
प्रस्तुत विषयमा विद्यालयको वार्षिक शैक्षिक कार्यक्रम अनुसार हामीले २०८२ साल वैशाख ९ सम्म विद्यालय विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरी वैशाख १० देखि विद्यालयका सबै कक्षाको पठनपाठन सञ्चालन गर्ने भनी पूर्वसूचना गर्यौं । तर यहीबीच समयअनुरुप विद्यालय शिक्षामा दूरगामी परिवर्तनका मागसहित नेपाल शिक्षक महासंघले सामुदायिक विद्यालयमा शैक्षिक हड्ताल सहित आन्दोलन गरिरहेको छ ।
हामी विद्यालयका शिक्षक कर्मचारीहरू नेपालको शैक्षिक क्रान्तिका लागि चाहिने अग्रगामी शिक्षा ऐनको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुनुपरेको छ । तोकिएकै समयमा विद्यालय सञ्चालन गर्न हामी असमर्थ रहेको कुरा यहाँहरुसँग सविनय निवेदन गर्न चाहन्छौं । यो आन्दोलनलाई विभिन्न व्यक्तिहरूले विभिन्न दृष्टिकोणले विश्लेषण गरिरहेको कुरा यहाँहरू सबैले अनुभव गरेकै हुनुपर्दछ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र शिक्षकहरूको उच्च मनोबलका साथ शिक्षण सिकाइमा सहभागिता जनाउनका लागि यो आन्दोलनले अवश्य मद्दत गर्नेछ भन्ने पक्षमा हामी आशावादी छौं । २०७२ मा संविधान जारी भइसकेपछि तीन वर्षभित्र सबै ऐनहरु नयाँ निर्माण गर्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था भएतापनि १० वर्षपछिसम्म पनि ऐन निर्माण हुन सकेन ।
शिक्षकहरू केही ऐन निर्माण हुनुपर्यो भन्दै सडकमा बस्नुपर्ने अवस्था पक्कै पनि सुखद होइन । सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि संघीय शिक्षा ऐन महत्वपूर्ण हुन्छ । संविधानको व्यवस्था अनुसार देश तीन तहका सरकारहरूबाट सञ्चालन हुँदै आएको छ । संघीय शिक्षा ऐन नबनेका कारण प्रदेश तह र स्थानीय तहका शिक्षा ऐनहरू निर्माण हुन सकेका छैनन् ।
निर्माण भएका शिक्षा ऐनहरु पनि पुरानो संघीय शिक्षा ऐनसँग बाझिएका कारण अदालतहरुबाट खारेज भएको अवस्था छ । त्यसमा पनि विद्यालयमा विभिन्न जिम्मेवारीमा बसेका शिक्षक कर्मचारीहरुलाई सेवा सुविधा पर्याप्त नदिएका कारण दायित्व अनुरुप काम गर्न सकिरहेको अवस्था छैन ।
यस्तो विषम परिस्थितिमा पनि सामुदायिक विद्यालय सञ्चालन गर्दैगर्दा अभिभावकहरूको साथ र सहयोगका कारण आज धेरै सामुदायिक विद्यालयहरूले आफूलाई अब्बल दर्जामा उकास्न प्रयास गरिरहेको कुरा यहाँहरुलाई जानकारी भएकै छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने भाइबहिनीहरूलाई राज्यले लगानी नगरेका कारण कक्षा कोठाहरूमा आवश्यक पर्ने विभिन्न सुविधाहरु विद्यालयले प्राप्त गर्न सकेको छैन ।
विद्यालयलाई यस्तो गर्मीको समयमा आवश्यक पर्ने पंखा र यसका लागि चाहिने विद्युत महसुल समेत अभिभावकले तिर्नु परेको दुखद अवस्था छ । विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई आवश्यक पर्ने शिक्षण सामग्रीहरू र अन्य आवश्यक सामग्रीहरु समेतमा अभिभावकले नै लगानी गर्नुपरेको कुरा घाम जस्तै छर्लङ्ग छ । त्यसैले हामी शिक्षक महासंघको आन्दोलनमा छौं ।
यो आन्दोलनबाट प्राप्त उपलब्धि शिक्षकहरूको मात्र नभइ समस्त विद्यार्थी र अभिभावकका लागि पनि हुनेछ भन्ने कुरामा हामी ढुक्क छौं । शिक्षक कर्मचारीहरूको सम्बन्धमा हामीले राखेको मागले शिक्षकहरुले काम नगरी धेरै सेवा सुविधा खोजेका छन् भन्ने सन्दर्भमा गरिएका टिप्पणीप्रति हामी सहमत छैनौँ ।
वर्तमान अवस्थामा शिक्षामा गरेको लगानी दसौँ वर्षपछिको प्रतिफलका लागि हो । त्यसैले शिक्षाको लगानीलाई दीर्घकालीन प्रतिफलको लगानी मान्नुपर्ने हुन्छ । तर अहिलेको सरकारी सोच अल्पकालीन प्रतिफलका लागि लगानी गर्नेमा देखिन्छ । शिक्षकहरूको सेवासुविधा राम्रो भयो भने शिक्षण पेशामा दक्ष युवाहरू आकर्षित हुन्छन् ।
दक्ष युवाहरूले शिक्षण गर्न पाए भने विद्यार्थीहरू पनि गुणस्तरीय र दक्ष बनेर निस्कन्छन् । विदेश पलायन हुने हाम्रा दक्ष युवाहरु पनि शिक्षण पेशामा आएर देश निर्माणमा सहभागी हुन्छन् । त्यसैले वर्तमान अवस्थामा शिक्षकहरूको सेवा सुविधा सम्बन्धमा गरिएका टिका टिप्पणीप्रति हामी अत्यन्त दुःखी छौँ ।
संघीय शिक्षा ऐन निर्माण नभएका कारण प्रदेश सरकार र स्थानीय सरकारले संघीयता अनुकूल आफ्नो भूगोल आर्थिक अवस्था र स्थानीय आवश्यकताको आधारमा शिक्षा ऐन निर्माण गर्न सकिरहेको अवस्था छैन । यस्तो अवस्थाले संघीयता कार्यान्वयन हुँदैन । यति मात्र होइन शक्ति विकेन्द्रीकरणको सिद्धान्त अनुसार शक्ति विकेन्द्रीकृत पनि हुँदैन । त्यसैले स्थानीय तहका हाम्रा सम्पूर्ण जनप्रतिनिधिज्यूहरूलाई पनि अभिभावकज्यूहरूले यो कुरा पुर्याइदिनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
अन्तमा विद्यालय सञ्चालन गर्न तोकिएको मितिमा विद्यालय खोल्न असमर्थ भएकोमा यहाँहरूसँग माफी माग्न चाहन्छौं । प्रिय अभिभावकज्यू, हजुरहरूका नानीहरू हाम्रा पनि छोराछोरी हुन् । हामीलाई पनि कक्षा कोठामा जान नपाउँदा अत्यन्तै चिन्ता र दुःख लागेको छ । अहिले सडकमा बस्नु, हाम्रो रहर होइन बाध्यता हो ।
त्यसैले यहाँहरुले आफ्ना नानीहरूलाई घरमा नै केही समय दिएर विभिन्न पुस्तकहरू पत्रपत्रिकाहरु पढ्नका लागि वातावरण तयार गरिदिनुहोला । पढ्न र ज्ञान प्राप्त गर्न पाठ्यपुस्तक र कक्षाकोठा नै आवश्यक छ भन्ने कुरा पक्कै होइन । कक्षा कोठाभन्दा बाहिर पनि धेरै कुराहरु सिक्न सकिन्छ । त्यसैले हामी विद्यालय फर्केर नआउन्जेल यहाँहरुले आफ्ना नानीहरुलाई केही न केही पुस्तकहरु पढ्ने वातावरण मिलाइदिनुहोला ।
माथिल्लो कक्षाका विद्यार्थी भाइबहिनीहरूका पाठ्यपुस्तकहरू खोजी गरी ती पाठ्यपुस्तकहरू अध्ययन गर्ने वातावरण मिलाइदिनुहोला । हामीले २०८१ साल चैत्र २० भित्र नै शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा सञ्चालन गरी नतिजा समेत प्रकाशन गरिसकेका थियौँ । यस्तो अवस्थामा त्यसपछि हुने हाम्रा विद्यालयका कैयौँ कार्यक्रमहरू अवरोध भएका कारण हामीले विद्यार्थीभाइस बहिनीहरूसँग दोहोरो सम्पर्क गरी क्रियाकलाप सञ्चालन गर्न सकिरहेका छैनौँ ।
तैपनि हामीलाई आशा छ हाम्रा भाइबहिनीहरू हाम्रो पिर मार्कालाई अवश्य बुझ्नु हुनेछ र घरमा बसेर अध्ययन गरेर हाम्रो शिक्षक आन्दोलनलाई सहयोग गर्नुहुनेछ र भन्नुहुनेछ हामी पढिरहेका छौं, नबुझेका कुरा हामी व्यक्तिगत सम्पर्क गरी हाम्रा अभिभावक तथा गुरु गुरुआमासँग सोधिरहेका छौं । त्यसैले हाम्रा गुरुहरूको माग सरकारी तवरबाट चाँडो पुरा होस् भन्ने कुराको कामनाका साथ सरकारलाई यहाँहरु सबैले अनुरोध गरिदिनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।
साथै शैक्षिक सत्र २०८२ मा तपाईँहरु र तपाईँहरुका नानीबाबुहरूलाई पठनपाठनमा पुगेको क्षति हामी विभिन्न विदाको समयमा समेत कक्षा सञ्चालन गरी वा अन्य माध्यमबाट त्यसको पदपूर्ति गर्ने कुरामा प्रतिबद्ध छौं । बुधबारबाट हामीले विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय बोलाएको भए तापनि तपाईँहरु अर्को सूचना जारी नहुन्जेल विद्यालय नआइदिनुहुनका साथै आफ्नो आफ्नो ठाउँबाट सरकारलाई दबाब सिर्जना गरी शिक्षक आन्दोलनलाई सहयोग गरिदिनुदिनुहुन सादर अनुरोध गर्दछौँ । साथै हामीले सञ्चालन गर्ने भनेको भर्ना सम्बन्धी कार्यक्रमहरू विद्यालय खुलेपछि सूचना जारी गरी अवश्य पनि सञ्चालन गर्नेछौं, त्यसमा ढिलाइ हुन गएकोमा पनि हामी क्षमाप्रार्थी छौँ । (पोखरेल, विराटनगरको आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । )
शिक्षा/प्रविधि
कक्षा १२ को परीक्षा तोकिएको मितिमै
द नेप्लिज संवाददातासरकारको अल्पकालीन, अदूरदर्शी र नियन्त्रणमुखी दृष्टिकोण
द नेप्लिज संवाददाताकक्षा १२ को परीक्षा हालकै रुटिनअनुसार २१ वैशाखदेखि सञ्चालन हुने
द नेप्लिज संवाददातादेशभर सामान्यतः मौसम सफा, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालमा ३९७ हिउँचितुवा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares