६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

शिक्षक बने प्रहरीको कमाण्डर

जितेन्द्र साह
५ चैत २०८१, मङ्गलबार

Advertisement

विराटनगर– एक जना शिक्षकले मुलुककै प्रहरीको नेतृत्व सम्हालेको सुन्दा पत्याउन गाह्रै पर्ला तर यो वास्तविकता नेपाल प्रहरीको महानिरीक्षकको पदभार सम्हालेका दीपक थापाको हो । महानिरीक्षकमा थापाले सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै नेपाल प्रहरीको करिब ८० हजार फौजको कमान्ड सम्हाल्न सफल भएका छन् । 

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ मा निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६३ भदौ ८ मा डीएसपीमा पदोन्नति भएका थिए । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । २०७९ असार १७ मा डीआईजी र २०७९ चैत ६ मा थापा एआईजी बनेका थिए ।

महानिरीक्षकका लागि ३ जना एआईजी प्रतिस्पर्धामा थिए । थापासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तामाङ आईजीपीको दौडमा थिए ।  थापा एआइजी भएको सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए । ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा थापाले गिरी र तामाङलाई पछि पार्दै महानिरीक्षकको दौडमा सफल भए । 

३१ औं आईजी बन्दै देशको समग्र शान्ति, सुरक्षा र अपराध अनुसन्धानको मुखिया बनेका थापाको प्रहरीमा भर्तीको कथा भने फरक छ, कुनै सुपरहिट चलचित्रको रोचक कथा जस्तै छ । उनको महानिरीक्षकसम्मको संघर्ष प्रेरक र चाखलाग्दो छ । 

८ मंसिर २०२८ सालमा भक्तपुरमा जन्मिएका थापाले २०४३ मा एसएलसी उत्तीर्ण गरेका थिए । भक्तपुर क्याम्पसमा उत्कृष्ट बन्दै २०४६ मा आईए उतिर्ण गरे । २०४६ को आन्दोलनले उनको पढाइ प्रभावित हुँदा एक वर्षपछि परे । तर २०४९ मा उनी स्नातक उतिर्ण भए । 

गणित विषयमा स्नातक उतिर्ण गरेका थापाले शिक्षण पेसामा आबद्ध भई शैक्षिक सुधारको मार्गमा अघि बढे । निमाविको स्थायी शिक्षकमा नाम निकालेर उनी कन्या मावि भक्तपुरमा गणित विषयको पठनपाठन सुरु गरे । तर भक्तपुरको माहोल भने फरक थियो । त्यहाँ सेना–प्रहरी जस्ता सुरक्षा निकायमा भर्ति भएपछि प्रतिष्ठित हुने अवस्था थियो । सुरक्षा निकायमा भर्ति हुनेको मान प्रतिष्ठा फरक हुन थियो । भक्तपुरका शम्भु थापा क्षेत्री प्रहरीको डीआईजी थिए । त्यैबेला डीआईजी शम्भुकै छोरा शैलेश थापा क्षेत्री, प्रद्युम्न कार्की र सहकुल थापा लगायत प्रहरी निरीक्षकमा भर्ती भएपछि उनीहरुको चर्चा सर्वत्र चुलिएको थियो । त्यसले उनको पनि ध्यान सुरक्षाकर्मीको जागिरतर्फ तान्यो । 

दिपक थापाकै समकक्षी नमस कार्कीले उनीहरुसँगै निरीक्षकको जाँच दिए पनि नाम निकाल्न सकेनन् । उनै कार्कीले इन्स्पेक्टरमा भिड्न थापालाई प्रेरित गरे । १० मंसिर २०५० मा खुलेको इन्स्पेक्टरमा भर्तिका लागि थापाले आवेदन भरे । उनले त्यतिबेलै लोकसेवामा अधिकृतमा भर्नाका लागि परीक्षा दिइसकेका थिए । 

लोकसेवाको एउटा जाँच दिइसकेको र प्रहरी निरीक्षक पदको फर्म भरिसकेको बेला थापाको बिहेको कुरा परिवारभित्र चल्यो । बीए उत्तीर्ण, शिक्षकको स्थायी जागिर र घरकै जेठोबाठो छोरो उनी बिहेका लागि तयार हुन बाध्य भए । फागुन २२ का लागि बिहेको लगन जु¥यो । थापासँगै फर्म भरेका ७ सय ३० जना आईक्यू र जीकेमा पास भइसकेका थिए । २१, २२ र २३ फागुन, २०५० मा लिखित परीक्षाको मिति तोकियो ।

थापाको बिहे र प्रहरी निरीक्षक पदको परीक्षा जुध्यो । अब के गर्ने भन्ने धर्मसंकट उनी सामु आइपुग्यो । बिहे गर्ने कि ? लोकसेवाको जाँच दिने कि ? वा इन्स्पेक्टरको परीक्षा दिने ? उनी अन्योलमा थिए । हुनेवाला ससुराली पक्षले शिक्षक राम्रै हो भनेपछि उनी ठिकै ठानेर बिहेमा जुटे । तर विशेष कारणवश फागुनको २१, २२, २३ मा तोकिएको परीक्षा चैतको ३, ४ र ५ का हुने भयो  । प्रहरीको मान मर्यादा बुझिसकेका थापाले प्रहरी निरीक्षकको लिखित परीक्षा उतिर्ण भए । तर उनलाई इन्स्पेक्टरमा आवेदन दिन प्रेरित गरेका भने अनुत्तीर्ण भएर कानुनको क्षेत्रमा वरिष्ठ अधिवक्ता भएर योगदान दिइरहेका छन् । 
२०५१ असारतिर लिखित परीक्षाको नतिजामा १५३ जना पास भए । लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै बाधापार परीक्षा हुन्थ्यो । बाधापारपछि अन्तर्वार्तासम्म पुग्दा १ सय ३५ जना उत्तीर्ण भए । १ सय जनाको अन्तिम सूची ५ मंसिर २०५१ मा सार्वजनिक भयो । मामा नाता पर्नेले थापाको घरमा टेलिफोन गरेर भान्जाको नाम प्रहरी निरीक्षकमा निस्केको जानकारी दिने वित्तिकै उनी मोटरसाइकल हुइकाउँदै हेर्न नक्साल हेडक्वार्टरको पुगे । १ सय जनाको अन्तिम सूचीमध्ये ५५ औं नम्बरमा थिए दिपक थापा हेरेपछि उनी चयनको स्वास तान्दै खुशी भए ।

सूचनामा प्रष्ट लेखिएको थियो, ‘१ देखि ६० सम्म पहिलो लट, ६१ देखि १०० सम्मा दोस्रो लटमा तालिम गराइने छ ।’ पहिलो समूहमा उत्र्तीण हुनेहरुलाई २ माघ २०५१ सम्पर्क हुन आउनु भनिएको थियो । स्थायी जागिर वा नियुक्ति भए राजीनामा गरेर मात्रै जानुपर्ने थियो ।

प्रहरी निरीक्षक बन्ने निधो गरिसकेका थापाले कन्या माविको स्थायी शिक्षकको जागिरबाट राजीनामा दिए । तर माघ र  फागुन सकिए पनि भर्ना लिइएन । ५ चैत २०५१ मा आएर १ देखि ५३ नम्बरसम्मलाई भर्ना लिइयो । विशेष कोटा भनेर गुप्तचरबाट आएका दुई जना गरी ५५ जनालाई तालिममा पठाइयो । तर ५५औं नम्बरमा रहेका थापा छुटेपछि उनी घर नघाटको अवस्थामा पुगे । पहुँच नपुगेकै कारण थापाले ठाउँ नपाएको एक पूर्वप्रहरी अधिकृतले बताए ।

अहिलेका अवकाश प्राप्त आईजीपी बसन्तबहादुर कुँवरसँगै सिटरोल भरेका थापाको शिक्षकको जागिर पनि गुम्यो । घर न घाटको भए पछि उनी छट्पटिए । यहीबीचमा आफूले पढाएको विद्यालयका प्रधानाध्यापकसँग उनको भेट भयो । प्रहरी निरीक्षकका लागि शिक्षकको स्थायी जागिर छाडेका थापालाई भौंतारिएको देखे पछि ती प्रधानाध्यापकले जिज्ञासा राखे । 

थापाले बेलिविस्तार लगाएपछि प्रधानाध्यापकलाई अस्थायी निमावि शिक्षकमा अध्यापनका लागि पुनः अवसर प्रदान गरे । शिक्षकको स्थायी जागिर छाडेर प्रहरी निरीक्षक बन्न गएका थापा अस्थायी मास्टर हुन पुग्दाको पिडा खपिनसक्नु थियो । तीन पुस्ते खुलाइएको त्यो नियुक्ति पत्र घरको दराजमा अझै सुरक्षित रहेको थापाले सञ्चारकर्मीहरुलाई बताएका छन् ।

बिहान स्नातकोत्तर पढ्न जाने र दिउँसो स्कुल पढाउने क्रम चलिरहेकै थियो । यही धपेडीबीच भीम ढकाल (हाल एआईजीबाट अवकाश थापाका ब्याची) ले १९ भदौ २०५१ मा स्कुलमा फोन गरेर मन्त्रिपरिषद्बाट निर्णय भएकोले भोलि प्रहरी निरीक्षकमा नियुक्ती बुझ्न आउनू भनेर खबर गरे ।

भक्तपुरबाट ट्रली बस चढेर गृह मन्त्रालय पुगी उनले २० भदौमा नियुक्ति बुझ्नु नै उनको जीवनको कोशेढुंगा साबित भयो । जसले आज उनी मुलुकको प्रहरी संगठनकै कमाण्ड सम्हाल्न पुगे । थापासँगै गिरी, तामाङ र ढकालले त्यतिबेला नियुक्तपत्र बुझेका थिए । त्यसको तीन दिनपछि उनीहरु तालिममा खटिए । १८ महिने आधारभुत तालिम सकेपछि थापाले प्रहरी निरीक्षककै दर्जामै विभिन्न ठाउँको कमान्ड सम्हाल्दै प्रहरी महानिरीक्षकसम्मको यात्रा तय गर्न सफल भए । 

राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी गरेका थापाले विभिन्न १३ वटा देशमा २५ वटा पेशागत तालिम लिएका छन् । उनले ११ वटा पदक, १८ पटक नगद पुरस्कार, १३ वटा सम्मानपत्र पाए । बेरुजु फस्र्योटमा उत्कृष्ट काम गरेको भन्दै गृहमन्त्री स्तरबाट ४ पटक नगद पुरस्कारसमेत प्राप्त गरेका हुन् ।

थापाले फिल्डदेखि नीति निर्माण तहसम्म योगदान गरेका छन् । गृह प्रशासन सुधार कार्ययोजना र नेपाल प्रहरीको कार्ययोजना अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न रिफ्रेसमेन्ट सेन्टरको स्थानमा उनको भूमिका मुख्य थियो । नायव महान्यायाधिवक्ताको संयोजकत्वमा एसिड तथा प्रज्वलनशील पदार्थको नियन्त्रणसम्बन्धी गठित समितिमा प्रहरीको तर्फबाट उनी सदस्य भएर कार्य दक्षता प्रदर्शन गरेका थिए ।
थापाको भूमिकामा करिअर डेभ्लपमेन्ट प्लान र नयाँ भर्ना गर्ने पदहरुको पाठ्यक्रम निर्माण भएको छ । कल्याणकारी योजना तर्जुमा र कार्यान्वयमा पनि उनले काम गरे । प्रस्तावित प्रहरी ऐन २०७९ को तर्जुमामा प्रहरीको तर्फबाट संयोजकको भूमिकामा रहेर उनले योगदान दिए । प्रहरी निरीक्षकदेखि एआईजीसम्म उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी अधिकृतहरुको भनाइ छ ।

गृह मन्त्रालयमा आयोजित समारोहबीच मंगलबार सचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दज्र्यानी चिह्न प्रदान गरेपछि अहिले देशको अप्ठेरो अवस्थामा उनको अग्नि परीक्षा सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले सोमबार थापालाई आईजीपीमा नियुक्ति गर्ने निर्णय गरेको थियो । 

थापाले आफूले पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रतिबद्धता जनाए । कुनै पनि बहाना बिना अपराधको रोकथाम तथा अनुसन्धान अघि बढाउने प्रतिवद्धता जनाएका छन् । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले कुनै कसर बाँकी नराख्ने आईजीपी थापाले अठोट लिएका छन् ।

सरकार, राजनीतिक पार्टी, नेता, प्रहरी र न्यायालय माथि जनविश्वास कम हुँदै गएकाले महानिरीक्षक थापाको कार्यकाल सहज रहने छैन । उनको सामु सीमापार अपराध, सडक दुर्घटना, लागुपदार्थ दुव्र्यसनका घटना र साइबर अपराधका घटनाहरुको न्युनीकरण गर्ने चुनौति छ । 

अब थापाको काँधमा कम्तिमा ६ महिना देशको सुरक्षाको जिम्मेवारी रहने छ । उल्लेखनीय के छ भने थापा इन्स्पेक्टर बन्दा केपी शर्मा ओली गृहमन्त्री थिए । झण्डै तीन दशकपछि उही बेलाका गृहमन्त्री ओलीले नै नेतृत्व गरिरहेको मन्त्रिपरिषद्को निर्णयबाट संगठनको सर्वोच्च पदमा उनी पुगेका छन् । 

थापाले महानिरीक्षकमा बाजी मारेको यथार्थ हो । तर नयाँ प्रहरी ऐन संसद्बाट पारित नभए अहिलेको व्यवस्था अनुसार उनी लामो समय आईजीपी हुन पाउने छैनन् । हालकै अवस्थामा उनको कार्यकाल करिब ६ महिना मात्र छ । नवनियुक्त आईजीपी थापाको असली ‘भाग्य’ परीक्षा आगामी ६ महिनामा हुने एक उच्च प्रहरी अधिकृत बताउँछन् । 

प्रकाशित : ५ चैत २०८१, मङ्गलबार 20:20
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved