११ वैशाख २०८२, बिहीबार 24 Apr 2025, Thursday

ब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपालमा

द नेप्लिज संवाददाता
९ वैशाख २०८२, मङ्गलबार

Advertisement

कार्लोसले हालै सातौँ पत्नी मारियाना लुक्कोनसँग सम्बन्ध विच्छेद गरेका छन् । यसपछि उनी रियल म्याड्रिडको भाल्देबेबास प्रशिक्षण केन्द्रमा बसोबास गर्दै आएका छन् ।


विराटनगर– ब्राजिलका विश्वकप विजेता तथा पूर्व डिफेन्डर रोबर्टो कार्लोस मंगलबार नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग (एनएसएल) को विशेष अतिथिका रूपमा उनी काठमाडौँ आएका हुन् ।

कार्लोसले काठमाडौँस्थित दशरथ रंगशालामा जारी एनएसएलको खेल हेर्न आएका हुन् । यसअघि स्वास्थ्य समस्याका कारण उनको भ्रमण स्थगित भएको थियो । तर आयोजकले नयाँ मिति तय गर्दै वैशाख ९ र १० (अप्रिल २२ र २३) का लागि उनको भ्रमण पुनः सुनिश्चित गरेको थियो ।

नेपाल आगमनपछि कार्लोसले सामाजिक सञ्जालमार्फत नेपाली फुटबलप्रेमीहरूप्रति आभार व्यक्त गरेका छन् । उनको आगमनले नेपाली फुटबलमा उत्साह थपिएको छ । रोबर्टो कार्लोस २००२ मा ब्राजिलसँगै विश्वकप जितेका थिए । उनले रियल म्याड्रिडमा लामो समय खेलेर क्लबलाई सफलता दिलाएका थिए ।

रोबर्टो कार्लोसको हालको व्यावसायिक र व्यक्तिगत जीवन

५२ वर्षीय कार्लोसले सन् २०१६ तिर व्यावसायिक फुटबल खेल्न छाडेका थिए । उनले तीन विश्वकप खेले । त्यसमध्ये सन् १९९८ मा ब्राजिल फाइनल पुगेको थियो र उपविजेतामै सीमित रह्यो  । सन् २००२ मा एसियामा भएको पहिलो विश्वकपमा भने उनीसम्मिलित ब्राजिल च्याम्पियन भएको थियो ।

उनलाई बढी चिनिने भनेको रियल म्याड्रिड खेलाडीका रूपमा हो, जहाँ उनले १२ वर्षजति बिताए । उनले अर्को युरोपेली क्लब इन्टर मिलानबाट पनि खेले । ब्राजिली राष्ट्रिय टोलीका लागि १ सय २५ पल्ट खेलेर १० गोल गरेका छन् ।

कार्लोस हाल पनि फुटबलसँग सक्रिय रूपमा संलग्न छन् । उनले रियल म्याड्रिडको ग्लोबल एम्बेसडरको रूपमा कार्यरत छन् र क्लबको टेलिभिजन च्यानलमा कमेन्टेटरको रूपमा पनि काम गर्छन् । साथै उनी रियल म्याड्रिडको युवा टोली कास्टिलाको सहायक प्रशिक्षकको भूमिकामा छन् जहाँ उनले युवा खेलाडीहरूलाई प्रशिक्षण दिन्छन् र मार्गदर्शन गर्छन् ।

कार्लोसले हालै सातौँ पत्नी मारियाना लुक्कोनसँग सम्बन्ध विच्छेद गरेका छन् । यसपछि उनी रियल म्याड्रिडको भाल्देबेबास प्रशिक्षण केन्द्रमा बसोबास गर्दै आएका छन् ।

उनको दैनिक जीवन फुटबल प्रशिक्षण, युवा खेलाडीहरूलाई मार्गदर्शन र क्लबका विभिन्न कार्यक्रमहरूमा सहभागिता जस्ता गतिविधिहरूमा केन्द्रित छ । साथै उनी सामाजिक सञ्जालमार्फत आफ्ना अनुभवहरू साझा गर्छन् । फुटबलप्रेमीहरूसँग निरन्तर सम्पर्कमा रहन्छन् ।
 

प्रकाशित : ९ वैशाख २०८२, मङ्गलबार 11:17
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved