विराटनगर- नेपाल प्रहरीका पाँच डिएसपीहरूको फागुन १८ मा प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्यो । यीमध्ये लमजुङमा तैनाथ निशान्त श्रीवास्तवको नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा गरिएको थियो। उनका ठाउँमा डिएसपी रेशम बोहरालाई पठाइएको छ। श्रीवास्तव अहिले आन्तरिक छानबिनमा छन् ।
उनको अचानक किन सरुवा गरियो भन्नेबारे प्रहरी प्रधान कार्यालयले केही बताएको छैन। उनीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति बनाएको खुलेको छ ।
फागुन ११ को बिहान राजधानीको नागार्जुनमा रहेको एक रेस्टुरेन्टमा भारतीय प्रहरी टोलीबाट खानतलासी भएको जानकारी नेपाल प्रहरीको उच्च तहले पाए पछि काठमाडौंका सबै नाका बन्द गरिए। एकाएक आइतबार दिउँसो काठमाडौंबाट बाहिर जाने यात्रुको चेकजाँच सुरु भयो। उपत्यकाका सबै प्रहरी संयन्त्र परिचालित भए।
चेकजाँचमा भारतको पन्जाबबाट आएका प्रहरीको टोली पक्राउ पर्यो । भारतीय प्रहरी विक्रमजित सिंहको नेतृत्वमा आएको सात सदस्यीय यो टोलीले रेस्टुरेन्टमा छापा मारेको थियो।
नेपाल प्रहरीको आधिकारिक संयन्त्रलाई खबरै नगरी भारतीय प्रहरीले नेपालमा कारवाही गरेको जानकारी विशेष ब्युरोमा पुगेको थियो। भारतीय प्रहरीको आग्रहमा विशेष ब्युरोले समेत खोजिरहेको ती व्यक्तिलाई भारतबाट आएको टोलीले समन्वय नगरी पक्रिन खोजेको थियो । फेला भने पार्न सकेनन् ।
प्रहरी स्रोतका अनुसार उक्त टोलीमा भारतीय प्रहरी विक्रमजितसँग सुरेन्द्रजित सिंह, वीरेन्द्रजित सिंह, पुष्पेन्द्र सिंह, गगनदीप सिंह, रवीन्द्रप्रताप सिंह र मनीष सिंह थिए । उनीहरु स्वयंले काठमाडौंबाट आफ्ना नागरिक लिन आएका थिए। नेपाल प्रहरीले भने उनीहरूलाई नियन्त्रणमा लिएर एक दिन थुन्यो।
सोधपुछ गर्दा लमजुङका डिएसपी निशान्त श्रीवास्तवले उनीहरूलाई मद्दत गरेको खुलेको थियो। ‘लमजुङका डीएसपीसँग सम्पर्क गरेछन् । डिएसपीले सहयोग गरेको देखियो,’ प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार कसैलाई पनि जानकारी नगरी पन्जाब प्रहरीलाई सहयोग गरेपछि डिएसपी श्रीवास्तवमाथि छानबिन थालिएको हो। ‘छापा मार्दा नेपाल प्रहरीसँग समन्वय गर्दा राम्रो हुन्थ्यो ,’ एक उच्च प्रहरी अधिकृतले भने।
डीएसपीमाथि छानबिन भएको विषय नेपाल प्रहरी मौन छ । भारतीय प्रहरी आएको बारेमा पनि नेपाल प्रहरीले मुख खोलेको छैन । डीएसपीमाथि छानबिन हुने विषय नेपाल प्रहरीको आन्तरिक मामिला भएको दाबी गरिएको छ । नेपाल प्रहरीभित्र डिएसपी श्रीवास्तव करियर रेकर्ड राम्रो भएका अधिकृत हुन्।
उनी माथिल्लो निकायको समन्वयबिना भारतीय प्रहरीलाई सहयोग गर्न तयार भएको विषयले भने अनेकन सवाल खडा गरेको छ । नेपाल प्रहरीले पनि पारी पुगेर गोप्यरुपमा कारवाही गरेर आरोपी पक्राउ गरेर ल्याउँदा भारतीय समकक्षीले मौन समर्थन गर्दै आएकाले यो विषयलाई समझदारीमा टुङ्याएको एक प्रहरी अधिकारीले बताए।
पक्राउ परेका भारतीय प्रहरीलाई भोलिपल्टै फागुन १२ मा भारतीय दूतावासलाई जिम्मा लगाइएको थियो । दूतावासले पनि आफ्नो समन्वयबिना किन खानतलासी गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको थाहा हुन आएको छ ।
पन्जाबमा हत्या गरेर नेपालमा आइ लुकेर बसेका आधारमा भारतीय प्रहरी आएको थियो। पन्जाबमा हत्या आरोप लागेका ती व्यक्तिलाई पक्राउ गरी पठाइदिन भारतीय प्रहरीले नेपाल प्रहरीलाई पहिला नै आग्रह पनि गरेको थियो। ‘विशेष ब्युरो र अन्य निकायले खोजी गरिरहेकालाई समात्न लमजुङका डिएसपीले काठमाडौं आएका पन्जाब प्रहरीलाई सहयोग गरेको देखियो,’ स्रोतले भन्यो।
बेलाबखत नेपाल प्रहरी र भारतीय प्रहरीबिच समन्वयका आधारमा अपराधी आपसमा लेनदेन हुने गरे पनि एकअर्काको देशमा छापा मार्ने गतिविधि भएको कमै सुनिन्छ ।
भारतीय प्रहरीले खोजेको व्यक्ति नभेट्टाएपछि फर्केर जानु वा नेपाल प्रहरीलाई खबर गर्नुको साटो खनातलासी गरेपछि नेपाल प्रहरी चनाखो भएको थियो । साथै उनीहरूलाई नेपाल प्रहरीले फागुन ११ मा पक्राउ गरेर फागुन १२ मा भारतीय दूतावासलाई बुझाएको थियो। नेपाल प्रहरीका एक अधिकृतका अनुसार उनीहरूसँग हतियार थिएन । भारतीय दूतावासलाई खबर गरेर बुझाइएको हो ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares