६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

तराई–मधेस अभियानले पार्टी र जनता दुबै उत्साहित छन् : अध्यक्ष दाहाल

Advertisement

विराटनगर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताका समस्या बुझ्न सुरु गरेको जागरण अभियानले सिंगो पार्टी र जनतामा पनि उत्साह देखिएको बताएका छन् ।

झापाबाट फागुन १२ गते सुरु भएको ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ को तेस्रो दिन अध्यक्ष दाहाल विराटनगर आइपुगेका छन् । विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अभियान भाषण गर्ने र हिँड्नेभन्दा पनि किसान, मजदुर, बुद्धिजीवी, तराई मधेका नागरिक समुदाय, पत्रकार र आम जनतासँग सम्बन्ध सुदृढीकरण गर्न सञ्चालन गरेको बताएका हुन् । 

अध्यक्ष दाहालले झापा र मोरङको कार्यक्रम सम्पन्न हुँदा उत्साह बढेको दावी गरे । ‘अभियानको क्रममा २०६४ को झल्को पाएको छु’ उनले भने, ‘कांग्रेस र एमालेसँगको गठबन्धन तथा सरकारको सम्झौतामा केन्द्रित हुँदा कमजोर बनेको माओवादी अब जुरुक्कै उठ्ने वातावरण बनेको छ ।’

दक्षिण भेगका जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या, मुद्दा बुझ्न र नयाँ जनचेतनाका लागि अभियान सुरु गरिएको उनले बताए । आफ्नो सरकारले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानबारे नागरिकमा सचेतना जगाएको उनले बताए ।  ‘हाम्रो सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान रोक्न काँग्रेस र एमालेको गठबन्धन बनेको तथ्य अभियानको क्रममा जनतालाई राखेका छौं’ उनले भने, ‘जनताले त्यो विषय गहिरोसँग बुझेको अनुभूति भएको छ । यो अभियान कञ्चनपुरमा पुग्दा माओवादी नयाँ ठाउँमा पुग्नेछ ।’

‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने, ‘त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको छु ।’

विगतमा गठबन्धन गर्दा कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको अध्यक्ष दाहालको दावी थियो । ‘अब माओवादी एक्लै अगाडि बढ्ने संकल्प गरेको छु, अबको चुनाबमा काँग्रेस र एमालेसँग गठबन्धन हुँदैन र गठबन्धनविना माओवादी अगाडि जानसक्छ भन्ने संकेत गएको उपचुनाबले देखाइसक्यो,’ उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान निरन्तर चलाएर अबको निर्वाचनबाट माओवादी पहिलो दल बन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुनेबेला माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जानुपर्ने फरक मत राखेको स्मरण गर्दै अध्यक्ष दाहालले संविधान संशोधन गर्दा त्यो मुद्दा अगाडि सार्ने बताए । कांग्रेस–एमालेले संविधान संशोधनको कुरा सत्तामा जानको लागि मात्र उठाएको दावी गर्दै उनले भने, ‘उनीहरुले संविधान संशोधन गर्न सक्ने अवस्थामा जनताले प्राप्त गरेको अधिकार पनि खोस्न चाहेका छन् । त्यो हुन दिँदैनौं ।’

सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेपछि मात्र संविधान बनेको स्मरण गर्दै उनले संविधानका धेरै विषयमा माओवादी देखिने भएकोले कांग्रेस, एमालेले त्यसलाई भत्काउन चाहेको आरोप लगाए । ‘विगतमा २ पटक प्रतिनिधिसभाको बिघटन होस् या संविधान कार्यान्वयनको उदासिनता उनीहरुले पछाडि पर्कन चाहेको संकेत हो’ उनले भने, ‘सबै परिवर्तन हाम्रो आन्दोलनको जगमा बनेको हो, त्यसको रक्षा माओवादीले मात्र गर्नसक्छ ।’

इतिहासबाट जनताको चेतना धेरै अघि बढेको बताउँदै उनले पूर्वराजाले बोलेका कुरामा खासै प्रतिक्रिया दिन आवश्यक नरहेको टिप्पणी गरे । अब राजतन्त्र नेपालमा कुनै अवस्थामा फर्कन नसक्ने दावी गर्दै उनले अझ अगाडि जाने बताए । माओवादी बढ्ने भयो भनेर नोकरशाह र दलाललाई मन नपरकोले पार्टीमा विवाद रहेको प्रचारबाजी भएको भन्दै उनले पार्टी एकताबद्ध भएर अभियानमा सिंगो टिम अगाडि बढेको बताए ।

अध्यक्ष दाहालले अहिले माओवादीको ध्यान सरकारमा नरहेको र २०८४ सम्म अहिलेको सरकार रहनुपर्ने पत्रकार सम्मेलनमा बताइरहँदा सञ्चारकर्मीले सरकार गिराउन नचाहेको कि अहिलेको सरकार गिराउन नसकेको प्रश्नमा उनले गिराउन नचाहेको स्पष्टीकरण दिएका थिए । उनले २०८४ सम्म कांग्रेस–एमालेको गठबन्धन र सरकार चलिरहोस् भन्ने चाहना रहेको दावी गरे । ‘हाम्रो ध्यान अब सरकारमा छैन, जनतामै गइसकेका छौँ र जनतामै रहन्छौं’ उनले भने, ‘तर, भ्रष्टाचार, कुशासन, कमिसन र बिचौलियाको संरक्षणमा मात्र केन्द्रित रहेको सरकार आफ्नै बोझले थिचिएकोले कुनै पनि बेला भासिन्छ ।’

प्रकाशित : १४ फागुन २०८१, बुधबार 11:04
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved