विराटनगर – बुद्ध एयररका साझेदारहरूबीचको आर्थिक विवाद विभिन्न निकाय हुँदै अहिले नेपाल राष्ट्र बैंकसम्म पुगेको छ। यही विषयमा राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको अध्यक्षतामा बैठक बसेको थियो। तर, उक्त बैठकमा असम्बन्धित व्यक्तिलाई उपस्थित गराइएको भन्दै अर्को पक्षले विरोध जनाएपछि विवाद चुलिएको छ।
विदेशी नागरिकता लिएका व्यक्तिलाई छलफलमा बोलाइएपछि विवाद
उक्त बैठक निवेदकहरूको अनुपस्थितिमा, त्यसमा पनि विदेशी नागरिकता लिएका व्यक्तिलाई राखेर गरिएपछि अर्को पक्ष असन्तुष्ट बनेको छ। बुद्ध एअरको स्वामित्व र आर्थिक हिसाबका विषयमा दाजु वीरेन्द्र बस्नेत र भाइ शिवेन्द्र बस्नेतको परिवारबीच बढ्दै गएको विवादमा वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानासमेत मुछिएको आरोप लागेको छ।
शिवेन्द्र बस्नेतले करिब डेढ दशकअघि अमेरिका पलायन भई उतैको नागरिकता लिएका छन्। तथापि, उनको परिवारका सदस्यहरू – श्रीमती, दुई छोरी र छोराको नाममा बुद्ध एअरको ४० प्रतिशत स्वामित्व छ।
बुद्ध एअरलाई हिमालयन बैंकको अगुवाइमा अन्य तीन बैंकले प्रचलित कानुन मिचेर साढे पाँच अर्ब रुपैयाँ कर्जा दिएको विषय अहिले नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता तथा ग्राहक संरक्षण महाशाखा मा पुगेको छ।
छलफल बैठकमा भाइ पक्षको असन्तुष्टि
राष्ट्र बैंकमा आयोजित छलफल बैठकमा वरिष्ठ डेपुटी गभर्नरसहित अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, नियमन विभाग, बैंक सुपरिवेक्षण विभागका कार्यकारीसहित अन्य सम्बन्धित अधिकारीहरू उपस्थित थिए। तर, शिवेन्द्रकी श्रीमती, छोरी तथा छोराले दिएको उजुरीमाथि छलफल हुँदा निवेदकहरू कोही पनि उपस्थित थिएनन्। यसको विरोध गर्दै वीरेन्द्र बस्नेतले बैठकमा आपत्ति जनाएका थिए। विदेशी नागरिकता लिएका शिवेन्द्रलाई सरकारी छलफलमा डाकिएको विषयमा अर्को पक्षले कडा असन्तुष्टि जनाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू भने शिवेन्द्रको अस्वाभाविक सहभागिताबारे मौन बसेका थिए।
वरिष्ठ डेपुटी गभर्नरमाथि दबाबको आरोप
अर्को पक्षको दाबी अनुसार, वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको दबाबमा राष्ट्र बैंकले यसअघि हिमालयन बैंकलाई पत्र काटेको थियो। त्यसअघि शिवेन्द्रले गत पुस महिनामा बालुवाटारस्थित राष्ट्र बैंकको कार्यकक्षमा भेटघाट गरेको दाबी समेत गरिएको छ।
अंशियार विवाद र कानुनी प्रक्रिया मिचिएको दाबी
बुद्ध एयरका संस्थापक स्व. सुरेन्द्र बस्नेतका दुई छोराहरू वीरेन्द्र र शिवेन्द्रका परिवार मात्रै अहिले कम्पनीका अंशियार छन्।
वीरेन्द्र बस्नेत र उनको परिवार (श्रीमती र दुई छोरी) – ६०% स्वामित्व
शिवेन्द्र बस्नेतको परिवार (श्रीमती, दुई छोरी र छोरा) – ४०% स्वामित्व
तर, अर्बौं ऋण लिँदा कानुनी प्रक्रिया मिचिएको भन्दै वीरेन्द्र पक्ष असन्तुष्ट छ। राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अन साइट तथा अफ साइट इन्स्पेक्सन नगरेको आरोप समेत उनीहरूले लगाएका छन्। यस विषयमा दर्ता गराइएको लिखित उजुरीपछि राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर ढुंगानाले छलफल बैठक बोलाएकी थिइन्। त्यसै अनुसार हिमालयन बैंकलाई पत्र काटिएको छ।
हिमालयन बैंकको जवाफ र अर्को पक्षको आक्रोश
हिमालयन बैंकको पाटन शाखाका प्रबन्धक राजेश्वर नन्दन सिंहले राष्ट्र बैंकलाई माघ ४ गते लिखित जवाफ पठाएका थिए।
उनको जवाफ अनुसार बुद्ध एअरको कर्जा प्रवाह गर्दा वीरेन्द्र बस्नेत, उनकी श्रीमती सुनिता बस्नेत, छोरीहरू आरजु बस्नेत र आस्था बस्नेतको मात्र व्यक्तिगत जमानी लिइएको उल्लेख छ।
तर, सेयरधनीहरूको तर्फबाट साधारण सभामा अनुमोदन गराएर ऋण लिने कानुनी प्रक्रिया पूरा नगरी कर्जा प्रवाह गरिएको विषय लुकाइएको आरोप लागेको छ।
यस विषयमा भाइ पक्ष क्रुद्ध बनेको छ। कानुनी प्रक्रिया नपुगेकै कारण उनीहरूले राष्ट्र बैंकमा औपचारिक उजुरी दिएका छन्।
समाचार
संविधान र गणतन्त्रको रक्षामा तीन शीर्ष दलको सहमति
द नेप्लिज संवाददातासंघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीको आन्दोलन सुरु
द नेप्लिज संवाददाताराप्रपाको चेतावनीपछि गृह मन्त्रालयको कडा सन्देश
द नेप्लिज संवाददाता‘२०८२ जेठ १५ मा गणतन्त्रको अन्त्य हुने’
द नेप्लिज संवाददाताराजावादी प्रदर्शन, शिक्षकको रणनीति परिवर्तन, राजधानीमा आज तनाव बढ्ने संकेत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares