६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

दुर्गा प्रसाईंलाई नेपाल ल्याइयो /अपडेटेड

द नेप्लिज संवाददाता
२८ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर–  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापामा उपस्थित गराइएको छ ।

उनलाई हवाईजहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले बताए । भारतको आसामबाट ल्याइएका उनलाई सुपुर्दगी कानुनका कारणले शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको प्रहरीले देखाएको छ । 

प्रसाईंले बिहीबार  आत्मसपर्मण गरेपछि भारतीय प्रहरीले सीमा सम्म पुर्याइ दिएको थियो । नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रसाईंमाथि तीनकुनेमा राजवादीले चैत १५ मा गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ ।

प्रहरीले प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ । दुवैलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरी प्रवक्ता आचार्यले जानकारी दिए । 
चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न पछि फरार रहेका उनीहरुलाई राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा पक्राउ गरिएको उनको भनाइ छ ।

हिजो राति (बिहीबार) के भयो ?

राजवादी आन्दोलनका सक्रिय नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतको आसाम राज्यमा फेला परेका छन्। नेपाल प्रहरीले उनी त्यहीँ लुकेको सूचना पाएपछि खोजीका लागि टोली पठाएको सुरक्षा स्रोतले जनाएको छ।

स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरी उनलाई नेपाल ल्याउने प्रयास भइरहेको छ। 'पक्राउ नै गरिएको नभनौं, उनको पत्ता लागेको हो। भारतीय सुरक्षा अधिकारीहरूसँग तालमेल गरेर नेपाल ल्याउन खोज्दैछौं,' स्रोतको भनाइ छ।

प्रसाईंको सचिवालयले बिहीबार राति फेसबुकमार्फत उनले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ। बुधबार भिडियोमार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने बताएका थिए।

स्रोतअनुसार आसाम प्रहरीले प्रसाईंलाई पूर्वी नाका काँकडभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको छ। नेपाल प्रहरीको अनुरोधमा पक्राउको तयारी भइरहँदा उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

नेपालबाट भागेर प्रसाईं भुटान नजिकको बक्सा भन्ने स्थान पुगेका थिए। नेपालमा प्रहरीको खोजी सुरु भएपछि उनी केही सहयोगीसहित स्थलमार्गबाट काँकडभिट्टा हुँदै बक्सा पुगेको खुलेको छ।

स्रोतअनुसार बिहीबार दिउँसो आसाम प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। बक्साबाट काँकडभिट्टा स्थलमार्ग आउन झन्डै साढे ९ घण्टा लाग्छ। उनले आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गर्न सहयोगीको मोबाइल प्रयोग गरेका थिए। त्यही लोकेसनको आधारमा उनको ठेगाना पत्ता लागेपछि नेपाल प्रहरीको टोली समन्वयका लागि आसाम पुगेको थियो।

नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। भारतीय प्रहरीले उनलाई सीमा पार गराएपछि मात्रै नेपाल प्रहरीले औपचारिक रूपमा पक्राउ गर्न सक्छ। हाल उनी भारतीय प्रहरीको नियन्त्रणमै छन्।

यसैबीच, राजसंस्थाको पुनर्स्थापनाका लागि क्रियाशील संयुक्त जनआन्दोलन परिचालन समितिले प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेको छ। समितिका प्रवक्ता स्वागत नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै अभियानका संयोजक प्रसाईंलाई सुरक्षासहित नेपाल ल्याउन भारतीय सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।

विज्ञप्तिमा उल्लेख छ कि प्रसाईंले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण नगरी, बरु नेपालसम्म सुरक्षित पुर्‍याइदिन अनुरोध गरेका थिए। त्यसैअनुसार गुहाटीबाट सीमासम्म ल्याउन भारतीय सुरक्षाकर्मीले सहयोग गरेका हुन्।

प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारत पठाइएको थियो। एक टोली प्रयागराज पुगेको थियो तर नियन्त्रण लिन नसकेपछि भैरहवा फर्काइएको थियो। दोस्रो टोली दिल्लीमा प्रतिक्षामा थियो भने तेस्रो टोली आसाम नजिक पुगेपछि उनीसम्म पुग्ने वातावरण बनेको थियो।

प्रसाईंलाई भारतमा पक्राउ गरिएको भन्ने विषयलाई भने नेपाल प्रहरीले खण्डन गरेको छ। बरु, 'उनी नेपालभित्रै चाँडै पक्राउ पर्न सक्छन्,' प्रहरी स्रोतको भनाइ छ।

नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएकाले दुई देशबीच यस्ता मामिलामा अनौपचारिक ‘ह्यान्डओभर’ गर्ने अभ्यास छ। एक देशमा पक्राउ परेका अभियुक्तलाई सीमामा ल्याइ छाड्ने र अर्को देशको सुरक्षाकर्मीले जिम्मा लिने प्रचलन रहेको छ।

बिहीबार राति जारी विज्ञप्तिमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भनेका छन्, 'विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजी सूचीमा रहेका छन्। हालसम्म पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन/प्रसारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं।'

भारतको आसामबाट नेपाल ल्याउने प्रक्रिया चलिरहेका बेला उक्त सूचना बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले ढाकछोप गर्ने प्रयास गरेको देखिन्छ।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजवादी आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा उनी प्रहरीको निगरानीमा थिए। सोही दिनदेखि उनी फरार छन्। आन्दोलनमा संलग्न रहेका राप्रपाका नेता धवलशमशेर राणा, रविन्द्र मिश्रलगायतलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रकाशित : २८ चैत २०८१, बिहीबार 21:33
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved