६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

दुर्गा प्रसाईंको खुलासा : भागेको छैन, मन्दिरमा सुरक्षित छु

द नेप्लिज संवाददाता
१७ चैत २०८१, आइतबार

Advertisement

काठमाडौँ — राजसंस्था पुनःस्थापनाको पक्षमा संघर्ष गर्दै आएको संयुक्त जनआन्दोलन समितिका ’कमान्डर’ दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको बताएका छन् । आइतबार फेसबुकमा लाइभ आउँदै प्रसाईंले आफू काठमाडौंको एउटा मन्दिरमा सुरक्षित रूपले बसेको बताएका छन् ।

शुक्रबारको प्रदर्शनमा गाडीले सुरक्षाकर्मीलाई पेल्न खोज्ने सन्दर्भमा प्रसाईंले भने, ‘दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन । भागेको छैन,  भाग्दिनँ । सुरक्षित मात्र बसेको हो । नेपाल र नेपाली छाडेर भाग्दिनँ । काठमाडौंको एउटा मन्दिरमा छु ।’ उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको बताएका छन् । 

त्यसैगरी प्रसाईंले आफूलाई सरकारले लक्षित गरेको दाबी गर्दै कानको छेवैबाट गोली गइसकेपछि आफ्नो सुरक्षाका लागि ब्यारिकेड तोडेको बताए । उनले भने, ‘तीनकुनेमा पुग्दा मेरो कानको छेवैबाट गोली गयो । स्टेजको ठाउँमा पुग्दा त्यसपछि मेरै गाडीमा टियरग्यास हानियो । ड्राइभरलाई निकालेर आफैं गाडी चलाएर प्रहरीको ब्यारिकेड तोडेर सुरक्षित स्थलतर्फ पुगेको हुँ ।’

प्रसाईंको भनाइमा सुरक्षाकर्मीहरूसँग उनका कुनै व्यक्तिगत दुश्मनी छैन र उनले दमनकारी राज्यको विरोध गर्दै शान्तिपूर्ण आन्दोलनलाई अगाडि बढाइरहेका छन् । ‘प्रहरीलाई मैले जतिको माया गर्ने कोही छैन,’ उनले थपे ।

प्रसाईंले तीनकुने घटनाबारे यथार्थ बुझिदिन आग्रह गर्दै पत्रकारलाई जिउँदै आगो लगाइएको र घरमा प्रहरीहरु तैनाथ राखिएको विषयमा सत्यतथ्य बाहिर ल्याइदिन पनि अनुरोध गरे । तीनकुने घटनामा पाँच जनाको मृत्यु भएको दाबी गर्दै उनले बाँकीको मृत्युको विवरण पनि सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

उनले कसैलाई गोली हान्न, घरमा आगो लगाउन, निजी सम्पत्ति तोडफोड गर्न, सुरक्षाकर्मीमाथि जाइलाग्न आदेश नदिएको जिकिर पनि गरेका छन् । उनले भनेका छन्, ‘बरु एयरपोर्ट कब्जा गरौं । संसद् भवन कब्जा गरौं तर मान्छेका घरमा आगो लगाउने, तोडफोड गर्ने काम नगर साथीहरु भनेर भनेको छु । जुन घटना भएको सोप्रति भने म दुःख व्यक्त गर्न चाहान्छु ।’ 

शुक्रबारको प्रदर्शनको क्रममा गाडीले सुरक्षाकर्मीलाई पेल्न खोजेको र प्रसाईंको गाडीमै एक युट्युबरको उपस्थितीको कारण गाडीले जबर्जस्ती सुरक्षाकर्मीलाई कुल्चन खोजेको आरोप पनि छ । त्यो दिनको लाइभ भिडियोमा प्रसाईंले सुरक्षाकर्मीहरूप्रति अपशब्द बोलेको सुनिन्छ ।

राजसंस्था पुनःस्थापना अभियानको सिलसिलामा व्यवसायी दुर्गा प्रसाईंले ४ चैतमा राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा ’संयुक्त जनआन्दोलन समिति’ गठन गरेका थिए जसको कमान्डर पदमा उनलाई घोषणा गरिएको थियो।

शुक्रबारको प्रदर्शन पछि प्रदर्शन उग्र रुप लिएको  थियो जसमा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको र दर्जनौँ घर–गाडीमा आगजनी भएको थियो । यस घटनापछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित दर्जनौँलाई पक्राउ गरेको छ । संयोजक सुवेदीलाई भने सरकारको प्रतिबन्धको कारण भेटघाट गर्न रोक लगाइएको छ ।
 

प्रकाशित : १७ चैत २०८१, आइतबार 15:37
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved