४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

दुर्गा प्रसाईंको गाडी, प्रहरी, समाचार माध्यम र सरकार

जितेन्द्र साह
२२ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर– राजसंस्था पुनःस्थापनका लागि भन्दै चैत १५ मा भएको प्रदर्शन र हिंसाबारे सार्वजनिक भइरहेका तथ्यहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार, नेपाल प्रहरी र समाचार माध्यमप्रति जनआक्रोश बढ्दै गएको छ ।

यस्तोमा दुर्गा प्रसाईं भाग्न चढेको गाडी इटहरीमा फेला परेकोलाई ठूलै उपलब्धि मानेर केही समाचारमाध्यमले प्राथमिकताका साथ खबर बनाएकोमा आममान्छेले उदेक प्रकट गरेका छन् । यो सरकार, सञ्चारमाध्यम र प्रहरीले गाडी भेटिएको विषयमा हल्लीखल्ली मचाएर के सन्देश दिन खोजेका छन् भन्ने सामाजिक सञ्जालमा प्रश्न गरिंदैछ । 

‘ प्रसाईंले त्यो दिन लगाएको कपडा फेला पर्यो भने त्यसको पनि समाचार बनाउने होला नि ?,’ फेसबुकमा एक जनाले लेखेका छन्,‘ ‘सञ्चारकर्मीहरुको पनि बौद्धिकताको हरण भएको देखियो ।’  हाल पक्राउ र फरारहरुले हिंसा भड्काएको तथा मान्छे मारेको प्रहरीले अदालतमा प्रमाणित गर्न नसक्ने हुनाले अनर्थको होहल्ला गर्नुका औचित्य के त ? सवाल गरिंदैछ ।

राजावादी पक्षसँग अन्ततः वार्ता नगरी सुखै नहुने बहुसंख्यकको बुझाइ छ । आन्दोलन थप चर्केर धेरै मान्छे मारिए पछि मात्र वार्ता गर्ने दिनको पर्खाइमा यो सरकार रहेको सर्वसाधारणको बुझाइ छ । कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बिहीबार सांसदहरुले सरकार र आयोजकको कमजोरीका कारण हिंसात्मक प्रदर्शन भएको आधारहरु प्रस्तुत गरे ।

एक पत्रकारसहित दुईको ज्यान जाने, सयौँ राउण्ड गोली चल्ने र सात सयभन्दा बढी अश्रु ग्यास हान्नुपर्ने गरी भएको घटनाका दोषीलाई निष्पक्ष छानबिन गरेर कानुनी कटघरामा ल्याउन उनीहरुले माग गरेका छन् । सुरक्षा निकायको मुखियाहरु असंवेदनशील हुँदा आगजनी र तोडफोडले प्रोत्साहन पाएको देखिन्छ ।

प्रधानमन्त्री ओलीको उक्साहटपूर्ण अभिव्यक्तिलाई नागरिकले उक्त हिंसात्मक घटनाको पृष्ठभूमि मानेका छन् । ओलीले अघिल्लो दिन पार्टी निकट युवा संघको कार्यक्रममा सरकार र पार्टीको विरोध गर्नेविरुद्ध बाघ झै झम्टिन निर्देशन दिएका थिए ।

ओलीले राजावादीको आन्दोलनमा १२/१५ हजार मान्छे आउने भन्दै गरेको खिसिटिउरी कसैसँग लुकेको छैन । एकै दिन दुईटा कार्यक्रम गर्न किन अनुमति दिइयो ? स्वीकृति पाएरै आन्दोलन भएको छ । यसमा सरकार प्रमुख दोषी देखिन्छ ।  
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा प्रर्दशन बिथोल्न प्रहरीले राष्ट्रियगान बजिरहेका बेला मञ्चमै अश्रु ग्यास हाने पछि प्रर्दशनले उग्ररुप लिएको देखिन्छ । राष्ट्रियगान बजिरहेका बेला मञ्चमा अश्रु ग्यास किन प्रहार भयो भनेर जनताले सरकारसँग प्रश्न गरिरहेका छन् । सत्ताको उन्मादले यो अनाहकको घटना भएको भुइँमान्छेको ठहर हो । सरकारले पहिला मञ्चमा ग्यास हानेकोले उक्त घटनाको सबै जिम्मेवारी उसैले लिनुपर्छ भन्ने आवाज उठिरहेको छ ।

लोकतन्त्रमा नागरिकलाई बोल्न नदिने ? सरकारले शक्तिको दम्भ देखाउने ? भन्दै असन्तुष्टि प्रकट हुँदैछ । सडकमा उठेको आवाज सम्बोधन गर्न सरकारले छिटो वार्ता गर्नुपर्ने, अन्यथा आन्दोलन झन् बढेर जाने आकलन हुँदैछ । पक्राउ परेका धवल शमशेर राणा र रवीन्द्र मिश्र लगायतको हिरासत लम्बिंदा देशभरिकै माहोल अशान्त हुने संकेत देखा परिरहेकोले नागरिक समाजको चिन्ता बढेको छ ।

आडम्बरको प्रदर्शन गर्नमा समय खर्च नगरी सरकारले उनीहरुलाई विनाशर्त रिहा गरेर राजनीतिक समाधानको बाटो अख्तियार गर्नुपर्छ । सरकारले उक्त प्रदर्शनमा आवश्यकता बढी शक्ति प्रयोग गरेको छताछुल्ल भएको छ । सरकारले एक सयभन्दा बढी गोली चलाएको र मिति सकिएको अश्रु ग्यास प्रयोग गरेको सम्बन्धमा अनेकन प्रश्न उठिरहेकै छ ।

हिंसात्मक गतिविधि भयो भन्दैमा गोली नै चलाउनु पर्छ ?  लुटपाट आगजनीजस्ता अनैतिक कामलाई जायज मान्न सकिन्न तर त्यसको कारण खोतल्नै पर्छ । यी प्रश्नहरुको जवाफ मुलुकको सरकार र गृहमन्त्रीसँग पनि छैन ।  तीनकुने घटनासँग जोडिएका राजावादी, गणतन्त्रवादी र नेपाल सरकाले आत्मालोचना गरेर यो सुध्रिने बेला हो । अब पनि झेलबखेडा, छल, आडम्बरी र ढोँगी सोच राख्यौं भने यो राष्ट्र कहिल्यै उठ्ने नगरी घनघोर संकटको भूमरीमा फस्छ । 
 

प्रकाशित : २२ चैत २०८१, शुक्रबार 08:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved