६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

काठमाडौं स्कुल अफ लका निर्देशक युवराज संग्रौला माथि यौन दुर्व्यवहारको आरोप

द नेप्लिज संवाददाता
३ चैत २०८१, आइतबार

Advertisement

विराटनगर–  काठमाडौं स्कुल अफ ल (केएसएल) का निर्देशक युवराज संग्रौलालाई लागेको यौन दुर्व्यवहारको आरोप सम्बन्धमा तीन सदस्यीय स्वतन्त्र छानबिन समिति गठन गरिएको छ । चरित्र र व्यवहारलाई लिएर संग्रौला धेरै वर्षदेखि विवादमा रहे पनि उक्त कलेजका ३३ विद्यार्थीले मुख खोले पछि उनको करियर धरापमा परेको छ । 

संग्रौलाको श्रृंखलावद्ध दुर्व्यवहारबाट आफूहरु पीडित भएको बुलन्द  ढंगले आवाज उठे पछि केएसएलले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पूर्व जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो । यो समितिमा एक पत्रकार र एक लैंगिक विभेद विज्ञ पनि सम्मिलित छन् । छानबिन चलुन्जेल निर्देशक संग्रौला कलेजको प्रशासनिक र अन्य कामबाट निष्क्रिय रहने पनि केएसएले जनाएको छ ।

केएसएल एलुम्नाईमा आबद्ध एक विद्यार्थीले छानबिन समिति बनेर मात्रै न्याय पाइनेमा ढुक्क नभएको बताएका छन् । उनीहरुले संदेह गर्नुपर्ने कारण चाहिँ यस अघि पनि गठन भएको आन्तरिक छानबिन समितिले काग गर्न नसक्नु हो । पीडितहरुका अनुसार छानबिनमा समितिमा सम्मिलितहरु पनि राजनीतिक दलप्रति झुकाव भएका व्यक्तिहरु हुन् ।

समितिमा राखिएका पत्रकार पनि संग्रौलाका घनिष्ठ मित्र एवं ज्ञानेन्द्र शाहको शासनकालमा दरबारबाट पैसा बुझेका आरोप लागेका व्यक्ति भएकाले यो सब आफूलाई नाटक जस्तो लागेको एक पीडित विद्यार्थीले बताए । उनले भने,‘केएसएलले राम्रै दाम खर्चेर समिति बनाएको छ, यताउताको घुमाउरो कुरा गरेर समितिले अन्ततः विद्यार्थीहरुसंग भएको दुव्र्यवहार ढाकछोप नै गर्ने हो ।’ मुख्य आरोपितलाई निलम्बन नगरिकन सुरु गरिएको अनुसन्धानले कसरी न्याय दिने बाटो खोल्ला भन्ने पीडित पक्षको सवाल छ ।

२४ फागुनमा केएसएलकी एक विद्यार्थीले तीन महिनाअघि कलेजमा यौन दुर्व्यवहार गरिएको घटनाबारे उजुरी दर्ता गराएकी थिइन् । उक्त घटनाबारे कलेजले केही नबोलेको भन्दै उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरिन् । यस पछि मुख खोल्ने क्रम सुरु भयो । केएसएलका अरु विद्यार्थीले पनि समान खालको दुर्व्यवहारबाट पीडित भएको भन्दै सार्वजनिक गर्न थालेका छन् ।

दुर्व्यवहारमा परेकी ती छात्राले ५ डिसेम्बर २०२४ मा आफूले कलेजमा निवेदन दिएको बताएकी छिन् । उनले महिला र लैंगिक अल्पसंख्यकमाथि कलेजमा दुर्व्यवहार हुने गरेको खुलाउँदै कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला नै यसमा जिम्मेवार रहेकोसमेत प्रष्ट पारेकी छन् । फागुन २७ मा केएसएलले विज्ञप्ति जारी गर्दै कुनै पनि खालका भेदभाव, उत्पीडन तथा दुर्व्यवहारका विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आइरहेको बताएको थियो । 

कलेजको आन्तरिक उजुरी तथा गुनासा समितिका सदस्य सचिव लक्ष्मी सापकोटाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ’यस विषयमा हेर्न स्वतन्त्र छानबिन समिति गठन गर्ने प्रक्रियासमेत अघि बढिसकेको छ ।’ संग्रौलाले भने सधैँ झै यस पटक पनि एक अंग्रेजी राष्ट्रिय दैनिकसँग बदलाको भावनाले यस्ता आरोप लगाइएको प्रतिक्रिया दिएका छन् । उक्त कलेजमा निर्देशक जस्तो पदमा बसेका व्यक्तिसँग कसले र केको बदला लिन खोजेको बारेमा उनले प्रष्ट बोल्न सकेका छैनन् ।

कानुनका विद्यार्थीले चलाउने फेसबुक पेज लयर्स रुम रिलोडेड (एलआरआर) ले केएसलमा पढेका र त्यहाँ पढ्दा भोगेको उत्पीडन, अपमानजनक व्यवहार र अन्य प्रकारका गलत व्यवहारबारे अनुभव साझा गर्नका निम्ति गुगल फर्म नै सार्वजनिक गरेको छ । यसमा आफ्नो परिचय गोप्य राखेर आफूले भोगेको पीडाको कथा बताउन सकिनेछ । यसमा ३२ जनाले केएसएल पढ्दा भोगेको दुर्व्यवहार र हिंसाका घटना बारे बोलेका छन् ।

यस घटनाबारे ऐक्यबद्धता जनाउँदै सन् २००५ यता त्यहाँ पढेका १०३ जना पूर्वविद्यार्थीले आफ्नो परिचयसहित र ४७ जनाले परिचय गोप्य राख्ने सर्तमा हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेका छन् । उनीहरूले हालै एक विद्यार्थीले कलेजभित्र हुने  यौन उत्पीडनबारे खुलेर आवाज उठाउने साहस देखाएको भन्दै उनले अघि सारेका मुद्दाहरू ऐक्यबद्धता जनाउने बताएका छन् । 


उनीहरूद्वारा जारी विज्ञप्तिमा ‘अपमानजन्य, हेपाइजन्य र यौनजन्य टिप्पणीका अलावा यौन तथा लैंगिक अल्पसंख्यकविरुद्धका अभिव्यक्ति र व्यवहारहरू कुनै पनि संस्थामा स्वीकार्य हुन सक्दैन । ती छात्राले उठाएको आवाज व्यक्तिगत प्रतिरोध नभएर न्याय, समानता र पारदर्शीतामा विश्वास राख्ने सबैको आह्वान हो ।,’ उल्लेख छ ।

एक विद्यार्थीले पनि लैंगिक अल्पसंख्यकमाथि संग्रौलाको दृष्टिकोण अनुदार भएको बताएकी छिन् । यस घटनाले केएसएलमा पहिलो वर्ष पढ्दाको १० दिने आवासीय क्याम्पको सम्झना गराइदियो भन्दै फेसबुकमा उनले लेखेकी छिन्, ’त्यो कक्षामा युवराज सरले सोध्नुभयो– तपाईंहरूमध्ये कतिले लैंगिक तथा यौनिक अल्पसंख्यको अधिकारलाई सर्मथन गर्नुहुन्छ ?’ विद्यार्थीहरूले लैंगिक अल्पसंख्यकहरूको मुद्दामा समर्थन गर्ने बताए । त्यसपछि संग्रौलाले अनुदार र घृणित उत्तर दिएको पनि ती विद्यार्थीको भनाइ छ ।
 

प्रकाशित : ३ चैत २०८१, आइतबार 16:22
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved