६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

उच्च जोखिममा कछुवा

द नेप्लिज संवाददाता
२७ फागुन २०८१, मङ्गलबार

Advertisement

कछुवाको ‘अण्डा’बाट भाले वा पोथीको सवालमा तापक्रमले निर्धारण गर्छ । औषत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम तापक्रम हुँदा भाले निस्कने गर्छ ।

विराटनगर– सिमसार क्षेत्रको अतिक्रमणले आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा कछुवा उच्च जोखिममा छ । संकटोन्मुख सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई वर्षअघि मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई दर्जनभन्दा बढी रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो । प्रशस्त मात्रामा सिमसारमा देखिने कछुवा पछिल्ला वर्षहरूमा देख्न कम हुँदै गएको बेलबारी–११ का राजन पोख्रेल बताउँछन् ।

हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् । सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले मोरङका सिमसारमा गरेको एक अध्ययनले सिमसारमा कंक्रिटको प्रयोगले गर्दा कछुवालगायत प्रजातिलाई नदी किनारमा आउने तथा फुल पार्नेजस्ता जैविक गतिविधिमा असर गर्न सक्ने उल्लेख छ । मोरङमा करिब एक दशकदेखि सिमसार संरक्षणमा लाग्दै आएका अनुसन्धानकर्ता पोखरेलले हालसम्म एक दर्जनभन्दा बढी कछुवाको उद्धार गरेर विभिन्न सिमसार क्षेत्रमा छाडेको जानकारी पनि दिए ।

उनका अनुसार कछुवाको ‘अण्डा’बाट भाले वा पोथीको सवालमा तापक्रमले निर्धारण गर्छ । औषत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम तापक्रम हुँदा भाले निस्कने गर्छ । त्यसैले जलवायु परिवर्तनले हुने तापमान वृद्धिका कारण यो प्रजातिको पनि स्वाभाविक रूपमा नै असर गर्न सक्ने उनले बताए । यही प्रजातिको प्रजननमा जलवायु परिवर्तनका कारण के–कस्तो  असर पार्छ भनेर अध्ययन नभए पनि यसबाट पारस्थितकीय प्रणालीको ह्रास आउने तथा प्रजातिहरूलाई नकरात्मक असर गर्ने पोख्रेलले बताए ।

धेरै प्रजातिका कछुवाहरू सिमसारमा आश्रित हुन्छन् । नेपालमा  पाइने कछुवामध्ये इलङ्गेटेट टर्टोइस (लाम्चे कछुवा, ठोटरी) र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा)मात्र जमिनमा पाइने पोख्रेलले बताए ।  मानवीय अतिक्रमण, वन फडानी तथा डढेलोका कारण यस्ता प्रजाति संकटमा पर्ने संरक्षण अधिकृत पोख्रेलको भनाइ छ ।  वन फडानी, आगलागी, सहरीकरण, पानीको स्रोतमा ह्रास, वन क्षेत्रमा विषादी फ्याँक्ने गतिविधि, सिकार गर्ने तथा घरमा पाल्नेजस्ता क्रियाकलापले यो प्रजाति झनै जोखिममा पर्ने उनले बताए । (राससको रिपोर्टमा अधारित) 
 

प्रकाशित : २७ फागुन २०८१, मङ्गलबार 14:08
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved