६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

हदम्यादका कारण बम्जनले उच्च अदालतबाट सफाइ पाए

द नेप्लिज संवाददाता
४ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर– बाल यौन दुव्र्यवहार मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाएका रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले हदम्याद नाघेको आधारमा सफाइ दिएको छ ।

न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले हदम्याद समाप्त भइसकेको निष्कर्ष निकाल्दै जिल्ला अदालतको फैसला लागू हुन नसक्ने ठहर गरेको हो । उच्च अदालतको यो फैसला चैत ६ मा सुनाइएको थियो । आज (वैशाख ४) मा पूर्णपाठ सार्वजनिक भएको छ ।

फैसला अनुसार घटना २०७३ साउन २० को हो । तर पीडित पक्षले २०७३ माघ २३ मा मात्रै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरेका थिए । त्यतिबेला प्रचलित कानुनअनुसार जबर्जस्ती करणी कसुरका लागि अधिकतम ६ महिनाको हदम्याद थियो । उक्त आधारमा अभियोगपत्र २०७३ माघ १९ भित्र दायर हुनुपर्नेमा ढिला भएकाले कानुनी प्रक्रिया नै त्रुटिपूर्ण भएको ठहर गरिएको छ ।

पूर्णपाठमा भनिएको छ, ‘सुरु सर्लाही अदालतको फैसला नमिलेकोले बदर भइ अभियोगपत्र नै खारेज हुने ठहर्छ । कसुरदार ठहर भएका पुनरावेदक प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’

फैसलामा पीडित २०७४ असार १९ मा १६ वर्ष पूरा भइसकेको उल्लेख छ जसले उनी बालबालिका ऐन, २०४८ अनुसार बालबालिकाको परिभाषाभित्र नपर्ने देखाएको छ । साथै बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७४ बमोजिम हदम्याद कायम गरी अभियोगको विषयमा प्रवेश गर्नुपर्ने भए तापनि त्यसअनुसार प्रक्रिया नअपनाएको भन्दै सम्पूर्ण कारबाही त्रुटिपूर्ण ठहर गरिएको छ ।

यसअघि जिल्ला अदालत सर्लाहीले न्यायाधीश जीवनकुमार भण्डारीको इजलासबाट बम्जनलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त मुद्दामा उनका सहयोगी जितबहादुर तामाङ (गुरु) र ज्ञानकुमार बम्जन (ताप्चेङ महात्मा गुरु) लाई भने घटनाको समयमा उपस्थित नरहेको आधारमा सफाइ दिइएको थियो । बम्जनले उक्त फैसला विरुद्ध २०८१ असोज ४ मा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए ।
 

प्रकाशित : ४ वैशाख २०८२, बिहीबार 20:06
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved