४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

प्रकृति लम्साल मृत्यु प्रकरणको प्रभाव

विदेशी विद्यार्थीको सुरक्षा भारत सरकारको उच्च प्राथमिकता : भारतीय विदेश मन्त्रालय

द नेप्लिज संवाददाता
९ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरणको प्रभावले भारतमा अध्ययन गर्न आउने विद्यार्थीको सुरक्षा उच्च प्राथमिकतामा राख्ने भारतीय विदेश मन्त्रालयले घोषणा गरेको छ । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतमा अध्ययनका लागि आउने प्रत्येक विद्यार्थीको सुरक्षा भारत सरकारको उच्च प्राथमिकतामा रहने घोषणा गरेका छन् । ‘भारत सरकारले हाम्रो देशमा अध्ययनका लागि आएका सबै विदेशी विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिएको छ,’ उनले भने, ‘केआइआइटी घटनामा त्यहाँका सरकार, प्रहरी र नेपाली अधिकारीहरूसँगको निरन्तर सम्पर्कमा छौँ ।’ नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु घटनाका आरोपीका साथै मुख्य अभियुक्तलाई उडिसा प्रहरीले पक्राउ गरी छानविन गरिरहेको जयसवालले बताए । 

नेपाली विद्यार्थीहरूको सुरक्षा र जनकल्याणका निम्ति भारत सरकारले आवश्यक सबै कदम चालेको उनले सुनाए । ‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको सम्बन्धको कडी रहेकोले उनीहरूको सुरक्षा र जनकल्याणको हितमा आवश्यक सबै खाले कदम चाल्न भारत सरकार प्रतिबद्ध छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘उडिसाको केआइआइटीमा अध्ययनरत लम्सालप्रति संवेदना व्यक्त गर्दछौं । साथै दोषीलाई कानुनअनुसार कारबाही गरिने दिशामा राज्य सरकार अगाडि बढेको छ ।’

उडिसा सरकारले उच्च स्तरीय छानबिन समिति बनाएर यो घटनामा अनुसन्धान हेरिरहेको उनले प्रष्ट पारे । ‘समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुन्छ भन्नेमा विश्वस्त रहन सबैलाई आग्रह छ,’ प्रवक्ता जयसवालले भने, ‘धेरै नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेको अवस्था छ त्यसैले उनीहरुलाई विश्वविद्यालयमा फर्काउन उडिसा सरकारले पहल थालेको छ । उनीहरूको सुरक्षा र पढाइका सम्बन्धमा पनि सरकारले सुनिश्चितता दिने दृढता प्रकट गरेको छ ।’

उनले नेपाली विद्यार्थीको सुरक्षाका लागि त्यहाँको स्थानीय र राज्य प्रहरी पनि २४ घन्टा सातै दिन सेवा सुरू गरेको बताए । गत १६ फेब्रुअरीमा उडिसास्थित केआइआइटीमा अध्ययनरत लम्सालको शंकास्पद मृत्यु भएको थियो । उनले आत्महत्या गरेको भनिए पनि यस विषयमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले भनेको छ ।

‘प्रकृतिको शरीरमा कुटपिटको डाम थियो’

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकी छात्रा प्रकृति लम्साललाई मृत्युअघि निर्घात कुटपिट गरेको स्वदेश फर्केका नेपाली विद्यार्थीहरुले बताएका छन् ।

उनीहरुले प्रकृतिको शरीरका विभिन्न भागमा चोट देखिएको बताएका हुन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मृत्यु अपराह्न भए पनि त्यस अगाडि आरोपित उक्त कलेजमा अध्ययनरत भारतीय युवा अद्विक श्रीवास्तव भाग्न खोज्नु नै रहस्यमय भएको बताए । 

होस्टेलको कोठा फुटाएर प्रकृति भएको ठाउँसम्म पुग्दासमेत केटी साथीहरुले श्रीवास्तवसँग भिडियोमा कुराकानी गरिरहनुले पनि उनको मृत्युपछि धेरै कारण रहेको नेपाली विद्यार्थीहरुको बुझाइ छ । उनीहरुले भने, ‘ढोका फोडेर दिदीको शवसम्म पुग्दा पनि केही केटीहरुले अद्भिक श्रीवास्तवसँग भिडियोमा कल गरिरहेका थिए । दिदी साँझ मृत भेटिनुभयो तर उसले कसरी दिउँसो नै बाहिर भाग्नका लागि प्लेनको टिकट बुक गर्यो ? यसमा अनुसन्धान हुनु पर्दैन ?’

नेपाल फर्केका एक विद्यार्थीले प्रकृतिको शव, शरीरमा भएको चोट र पासो लगाउनुअघि विष सेवन गरेकोे उल्लेख गरे । दिदीसँगै पढ्ने र होस्टेल बस्ने अन्य नेपाली छात्राहरु मानसिकरुपमा विक्षिप्त रहेको उनीहरुको भनाइ छ । प्रहरीलाई खबर नगरी होस्टेलका वार्डेनसहित मिलेर गोप्य बाटो हुँदै प्रकृतिलाई आफ्नै अस्पताल किम्स लगेर उपचारको बहाना गर्नुले थप शंका भएको उनीहरुले बताए । 

‘ढोका फुटाएर भित्र पस्दा प्रकृति दिदी जिउँदै हुनुहुन्थ्यो । दिदीलाई उपचारका लागि लैजान छाडेर वार्डेनलगायत कलेज प्रशासनले भिडियो बनाउन थाले तर डोरी खोल्न दिएनन्,’ ती विद्यार्थीले भने, ‘पछि त्यहाँ उपस्थित सबैलाई आआफ्नो कोठामा पठाएर, होस्टेलभरी धुँवा लगाएर मात्र दिदीको पासो खोलेका थिए र त्यसपछि चोर बाटो हुँदै आफ्नै अस्पताल लगियो । सफा नियत थियो भने त प्रहरीलाई बोलाइन्थ्यो होला नि ? घटना लुकाउन वार्डेनको ठूलो हात छ ।’

प्रकृतिलाई अस्पताल लैजाने क्रममा अर्की नेपाली छात्रा जबर्जस्तीसँगै गएको उनले बताए । एम्बुलेन्समा बसेका समय उनले प्रकृतिको शरीरभरी चोट देखेको ती विद्यार्थीको भनाइ छ । कृतिमाथि उच्च मानसिक तनाव रहेको दाबी गर्दै उनले डिसेम्बरमा नै सम्बन्ध टुटेपनि अद्विक श्रीवास्तवले लगातार ब्ल्याकमेल गर्ने गरेको विद्यार्थीहरुको भनइ छ ।

प्रकाशित : ९ फागुन २०८१, शुक्रबार 19:20
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved