३० वैशाख २०८२, मङ्गलबार 13 May 2025, Tuesday

माेरङकाे नव निर्मित कारागार भवन गृहमन्त्री लेखकद्वारा उद्घाटन

भाैतिक संरचना अभावमा कारागारमा सरदर १०० जना कैदीबन्दी बस्ने ठाउँमा १५६ जना बस्न बाध्य
द नेप्लिज संवाददाता
३० वैशाख २०८२, मङ्गलबार

Advertisement

विराटनगर- गृहमन्त्री रमेश लेखकले माेरङ कारागारमा नव निर्मित कारागार भवन मंगलबार उद्घाटन गरेका छन् ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरले ३५ कराेड ४४ लाख ५१ हजार ८७४ रूपैयाँ लागतमा नयाँ कारागार भवन निर्माण गरेकाे हाे । डिभिजन कार्यालय विराटनगर प्रमुख प्रदिप कुमार मिश्रले कारागार भवन निर्माणका लागि ५४ कराेड ५८ लाख ९४ हजार ३१५ रूपैयाँकाे ठेक्का आह्वान गर्दा आशिष/आशीर्वाद/ स्वामिनारायण जेभी त्रियुगा-१३, उदयपुरले ३६ कराेड १२ लाख ८५ हजार २८० रूपैयाँमा निर्माण गर्ने गरि ठेक्का कबाेल गरेकाे बताएका छन् । निर्माण कम्पनीले २०७८ साल असार २४ गते दुई वर्षभित्र निर्माण गर्ने गरी ठेक्का सम्झाैता गरेकाे तर समयमा निर्माण सम्पन्न नहुँदा एक पटक ६ महिनाकाे म्याद थप भएपछि २०८१ साल पुस २४ गते निर्माण सम्पन्न भएकाे उनले जानकारी दिएका हुन् ।

नव निर्मित कारागार भवनमा २१८ जना बस्ने क्षमताकाे २२ वटा शाैचलयसहित पुरूष कैदीबन्दी गृह, ९९ जना बस्न मिल्ने क्षमताकाे १६ वटा शाैचालयसहितकाे महिला कैदीबन्दी गृह निर्माण भएकाे छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला कारागार प्रशासन भवन, सुरक्षा पर्खाल, सुरक्षा पाेष्ट, सीमा प्रखाल सुरक्षा जाँच कक्ष, कारागारभित्र सडक सञ्जाल, पानी भण्डारण पााेखरी र बगैँचा निर्माण गरिएकाे मिश्रले बताएका हुन् ।

माेरङ कारागारमा यसअघि पुरूषतर्फ २५० र नव निर्मितमा २१८ गरि ४६८ जना र महिलातर्फ पूरानाे ५० र नयाँमा ९९ सहित १४९ जना गरी कूल ६१७ जना कैदीबन्दी बस्ने क्षमता भएकाे छ । जसमा हाल पुरूषतर्फ ९३२ र महिलातर्फ १०९ गरी कूल १ हजार ४१ जना कैदीबन्दी र ३ जना आश्रित बालबालिका बसिरहेकाे माेरङ कारागार प्रमुख गाैरब ढुंगेलले बताएका छन् । नयाँ भवन निर्माण भए पनि क्षमता भन्दा करिब दाेब्बर कैदीबन्दी माेरङ कारागारमा रहेकाे छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले देशभरिमा रहेकाे ७५ वटा कारागारमा १८ हजार ५७२ जना कैदीबन्दी बस्ने क्षमता रहेकाेमा २९ हजार १२ जना बसिरहेकाे बताएका छन् । उनले भाैतिक संरचना अभावमा कारागारमा सरदर १०० जना कैदीबन्दी बस्ने ठाउँमा १५६ जना बस्न बाध्य रहेकाे बताएका हुन् ।

गृहमन्त्री लेखकले सम्पूर्ण कैदीबन्दीकाे मानवअधिकार, स्वास्थ्यलगायतकाे सुबिधाप्रति नेपाल सरकार सचेत र संवेदनशील रहेकाे बताएका छन् । ´कारागारलाई सुधारगृहकाे रूपमा विकास गर्न उत्पादन मुलक उद्याेगधन्धा सञ्चालन गरेर उत्पादनमूलक काममा कैदीबन्दी जुटिरहेका छन्,` उनले भने, ´मानसिक तथा शारीरिक रूपमा स्वस्थ्य रहनका लागि याेगाभ्यास गर्ने भवन, पुस्तकालय, खेलकुद र मनाेरञ्जनकाे लागि टेलिभिजनकाे व्यवस्था कारागारभित्र कैदीबन्दीहरूका लागि गरिएकाे छ ।` उनले खुल्ला कारागारकाे व्यवस्था गर्नका लागि पनि नेपाल सरकार लागि परेकाे जानकारी गराए ।

तर माेरङ कारागारमा विगत ८ महिनामा ८ जना कैदीबन्लीहरूकाे मृत्यु भएकाे इन्सेक काेशी प्रदेशले तथ्यांक सार्वजनिक गरेकाे छ । माेरङ कारागार सुबिधायुक्त नहुँदा विभिन्न कारणले कैदीबन्दीहरूकाे मृत्यु भइरहेकाे इन्सेक काेशी प्रमुख मनाेहर पाेखरेलकाे भनाइ छ ।

प्रकाशित : ३० वैशाख २०८२, मङ्गलबार 12:23
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved