२९ वैशाख २०८२, सोमबार 12 May 2025, Monday

मुलुककाे निकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन एक मात्र विकल्प : उपेन्द्र यादव

द नेप्लिज संवाददाता
२९ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, लुटतन्त्र, कमिशनतन्त्र, बिचाैलियातन्त्रले निरास जनतामा आशा र भराेसा जगाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन एक मात्र विकल्प भएकाे बताएका छन् ।

जसपा माेरङकाे प्रथम जिल्ला अधिवेशनकाे साेमबार विराटनगरमा उद्घाटनपछि अध्यक्ष यादवले यहाँकाे जस्ताे मुलुककै दुई ठूला दलकाे सरकार संसारभरि विरलै देख्न पाउने गरेकाे टिप्पणी गरेका हुन् । ´मुलकमा राजनीति स्थिरता कायम गर्न, भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम, समाजिक न्यायका लागि कानुनी राज्यकाे स्थापना र संविधान संशाेधनका लागि अहिलेकाे सरकारलाई समर्थन दिएका छाैं,` उनले भने, ´तर अहिलेकाे सरकारले भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, लुटतन्त्र, बिचाैलियातन्त्र संस्थागत गर्नुका साथै २०८७ सालमा संविधान संशाेधन गर्ने घाेषणा गरेकाे अवस्था छ ।`

अध्यक्ष यादवले मुलुकमा बहुदलीय व्यवस्था आएकाे ३५ वर्ष, गणतन्त्र स्थापनाकाे लामाे समय र संविधान जारी भएकाे १० वर्षमा पनि परिवर्तन संस्थागत हुन नसकेकाे बताएका हुन् । ´नेपाली नेतृत्व वर्ग मुलुकमा राजनीतिक परिवर्तन ल्याउन सफल भए पनि संस्थागत गर्न २००७ सालदेखि नै असफल हुँदै आएका छन्,` उनले भने, ´राजनीतिक परिवर्तन संस्थागत हुन नसकेकाले जनताकाे जीवनस्तरमा परिवर्तन आउन सकेकाे छैन् र निरास छन् ।`

संविधान जारी भएपछि प्रदेश सरकार गठन भएकाे १० वर्ष बित्न लाग्दा पनि संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि कानुन निर्माण नहुनुका साथै प्रहरी समेत प्रदेशमा हस्तान्तरण हुन नसकेकाे अध्यक्ष यादवकाे टिप्पणी थियाे । ´मुलुकमा भएकाे परिवर्तन संस्थागत र संघीयता, समावेशिता, धर्मनिरपेक्षताकाे पूर्ण रूपमा प्रभावकारी कार्यान्वयनका लागि संघीय संसदले कानुन निर्माण गर्न सकेकाे छैन तर प्रदेश सरकारले काम गर्न नसकेकाे टिप्पणी गरिरहेका छन्,` उनले भने, ´स्थानीय, प्रदेश र संघीय सरकारले प्राप्त गरेकाे संविधान प्रदत्त अधिकार कानुन निर्माण भएपछि मात्रै कार्यान्वयनमा जान सक्ने र त्यसपछि मात्रै स्थानीय र प्रदेश सरकारकाे कामकाे मूल्यांकन गर्न पाइन्छ । अहिले त संघीय सरकारले समयमा कानुन निर्माण गरेर संविधानकाे पूर्ण कार्यान्वयनमा असफल देखिएकाे छ ।`

अध्यक्ष यादवले मुलुकमा सुशासन कायम गर्न निर्वाचन प्रणाली पनि बाधक भएकाे बताएका हुन् । ´अहिलेकाे निर्वाचन प्रणालीले राजनीतिमा ठेक्का प्रथा संस्थागत हुनुका साथै सर्वसाधरण तथा पढेलेखेका बुद्धिजिवि वर्ग कहिल्यै पनि निर्वाचन जित्न सक्ने अवस्था छैन, निर्वाचन जित्न २/४ कराेड नभइ नहुने निर्वाचन प्रणाली भयाे,` उनले भने, ´त्यसैले संविधान संशाेधन गरी राजनीतिक दल र उम्मेदवारकाे एक रूपैयाँ खर्च नहुने निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली जसले सांसदलाई हाेइन विज्ञ तथा बुद्धिजिविलाई मन्त्री बनाउने व्यवस्था कायम गर्नुपर्छ ।`

जसपाका सह-अध्यक्ष रकम चेम्जाेङले अहिलेकाे सरकार दुई व्यक्तिले आ-आफ्ना व्यक्तिगत स्वार्थपूर्तिका लागि गठन गरेकाे टिप्पणी गरेका छन् । ´अहिलेकाे सरकार भ्रष्टाचारी गरेका आफ्ना मान्छे जाेगाउन र भ्रष्टाचार गर्न बनेकाे देखिन्छ, सुशासनकाे निम्ति दुई दलकाे सरकार चलेकाे कही देखिदैन,` उनले भने, ´अहिलेकाे सरकार ठूलाे रकमकाे चलखेलमा लिप्त भएकाले दुई महिनादेखि गभर्नर नियुक्तिमा अल्झेकाे छ । धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिले पनि त्यही देखाएकाे छ । माेटाे रक बुझाएर नआएकाे भए अध्यक्षले आइपीओ जारी गर्न किन पैसा माग्ने थियाे । यी यस्तै कार्यले जनता निरास छन् ।` सह-अध्यक्ष चेम्जाेङले अहिले जनतालाई अल्झाउन मुलुकमा गणतन्त्रवादी र राजावादी गरि दुईधारमा बाँड्न खाेजेकाे आराेप लगाएका हुन् ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारले गर्दै आएकाे भ्रष्टाचार, कुशासन, अनियमितता विरूद्ध खराे रूपमा उत्रिनुकाे साटाे सत्तालिप्साकाे खेलमा लागेकाे आराेप लगाएका छन् । ´प्रमुख प्रतिपक्षी दलकाे भूमिकामा देशभरिकाे सबैलाई साथमा लिएर भ्रष्टाचार, अनियमितता विरूद्ध र जनतामा छाएकाे निरासालाई चिर्ने अभियानमा लाग्नुपर्ने माओवादी सत्तालिप्सामा लागेका छन्,` उनले भने, ´किनकी माओवादीले पनि हिजाे त्यही भ्रष्टाचार गरेर आएकाेले सरकार बाहिर हुँदा अहिले पानी बिनाकाे माछा जस्तै सत्ता प्राप्तिका लागि छटपटाइरहेका छन् ।`

त्यसैले अब देशमा संघीयताका जननी जसपा अध्यक्ष उपेन्द्र यादवले अन्य दलसँग समन्वय गरेर देशमा छाएकाे निरासा चिर्न आन्दाेलनकाे नेतृत्व गरेर लाग्ने उनले विश्वास व्यक्त गरे । चेम्जाेङले भ्रष्टाचार, कुशासन, लुटतन्त्र, कमिशनतन्त्र, विचाैलियातन्त्रकाे विराेधमा जसपाले अन्य दलसँग समेत समन्वय गरेर आन्दाेलनमा जाने बताए ।

जसपाका कार्यकारिणी सदस्य जयराम यादवले कांग्रेस, एमाले, माओवादीले उपेन्द्र यादवकाे पार्टी सिध्याउन चाहेेकाे आराेप लगाएका छन् । उनले अध्यक्ष यादवकाे अडानले सरकारले ल्याएकाे भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनु परेकाे बताए । उनले उक्त अध्यादेश फिर्ता गराउने अडानले अध्यक्ष यादवकाे लाेकप्रियता देशभरि बढेकाे र यसलाई कायम राख्न पार्टीका सबै तहका नेता तथा कार्यकर्ता एकजुट भएर पार्टी हितमा लाग्न आह्वान गरेका छन् ।

दुई दिनसम्म चल्ने उक्त अधिवेशनमा माओवादीका राजेन्द्र मण्डल र राजेन्द्र महताे पार्टीका केन्द्रीय सदस्य हिरालाल मण्डललाई अध्यक्ष यादवले फूलमाला लगाएर पार्टी प्रवेश गराएका हुन् । नयाँ नेतृत्व चयनका लागि भइरहेकाे अधिवेशनमा ३१९ जना प्रतिनिधि सहभागी छन् ।

प्रकाशित : २९ वैशाख २०८२, सोमबार 18:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved