१२ वैशाख २०८२, शुक्रबार 25 Apr 2025, Friday

पूर्वाञ्चल विश्वविद्यालयले कलेज अफ ल मा सुरु गरे स्नात्कोत्तर

द नेप्लिज संवाददाता
११ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले कानूनमा स्नातक (एल.एल.बी.) र स्नातकोत्तर (एल.एल.एम.) तहमा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखिकरण गरेको छ । कलेजले एक कार्यक्रमको आयोजना गरी एल.एल.बी. र एल.एल.एम.मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गर्र्दै अभिमुखीकरण गरेको हो । 

स्नातक तहमा पाँच वर्षे बी.ए.एल.एल. बी. र तीन वर्षे एल.एल.बी. अध्यापन गराउँदै आएको कलेज अफ ल ले चालु शैक्षिक सत्रदेखि कानूनमा स्नातकोत्तर तहको एल.एल.एम. तहको अध्यापन शुरू गरेको छ । एल.एल.एम.मा ५० जना विद्यार्थी भर्ना भएका छन् । एल.एल.बी.मा भने ६० जना विद्यार्थी भर्ना भएका छन् । चार वर्षदेखि बी.ए. एल.एल.बी.मा एउटा सेक्सन सञ्चालन गर्दै आएको कलेजले चालु शैक्षिक सत्रदेखि एक सय २० जना विद्यार्थी भर्ना लिएर दुई वटा सेक्सनमा अध्यापन गर्न शुरू गरेको छ । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजु कुमार थपलियाले एल.एल.एका हुन् तहमा स्वदेश र विदेशका दक्ष प्राध्यापकहरूबाट अध्यापन गराउने जानकारी दिएका छन् । आफूले युरोपमा अध्ययन गर्दा विश्वभरका प्राध्यापकहरूले पढाएको स्मरण गर्दै उपकुलपति थपलियाले कलेज अफ ल मा अध्ययन गर्ने विद्यार्थीहरूले स्वदेश र विदेशका प्राध्यापकहरूको ज्ञान र अनुभव प्राप्त गर्ने बताएका हुन् । विशेषज्ञ प्राध्यापकहरूबाट अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनकै लागि स्नातकोत्तर तहमा अनलाईन कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उपकुलपति थपलियाले जानकारी दिए । कलेज अफ ल लाई व्यवस्थित बनाउन नयाँ भवन निर्माणको प्रकृया शुरू भएको भन्दै उपकुलपति थपलियाले नयाँ भवन निर्माण भइसकेपछि भौतिक पूर्वाधारको समस्या समाधान हुने बताएका हुन् । नयाँ संरचना निर्माण पश्चात अध्ययन अध्यापनमा थप सहजता थप्ने उपकुलपति थपलियाको भनाई थियो । 

कलेज अफ ल का निर्देशक महेश प्रसाद निरौलाले विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक गुणस्तर कायम राख्न क्याम्पसले कुनै कसर बाँकी नराख्ने बताएका छन् । क्याम्पसमा पूर्णकालिन प्राध्यापकको संख्या न्यून भएका कारण पठन पाठनमा समस्या आएको भन्दै निर्देशक निरौलाले यो समस्या समाधान गर्न छिट्टै केही पूर्णकालिन प्राध्यापकहरू थप गर्ने बताएका हुन् । 

कला, कानून तथा शिक्षा संकायका पूर्व डीन प्राध्यापक डाक्टर अनिल कुमार पोखरेल, एल.एल. एम. कार्यक्रमका संयोजक दिपक कुमार खतिवडा, प्राध्यापकहरू वरिष्ठ अधिवक्ता डिल्ली बहादुर कार्की, अधिवक्ता रुपेश कोइराला, निता प्याकुरेल भट्टराई लगायतले विद्यार्थीहरूलाई अभिमुखिकरण गरेका थिए । 

कलेज अफ ल ले स्नातक तहको पाँच वर्षे बी. ए. एल.एल.बी., तीन वर्षे एल.एल.बी., स्नातकोत्तर तहको दुई वर्षे एल.एल.एल. कार्यक्रम सञ्चालन गर्दै आएको छ । पाँच वर्षे बी. ए.एल.एल.बी.को पहिलो, दोस्रो र तेस्रो वर्षका कक्षाहरू दिउँसो सञ्चालन हुन्छ भने चौथो र पाँचौ वर्षका कक्षाहरू बिहान सञ्चालन हुन्छ । एल.एल.बी. र एल.एल.एम.का कक्षाहरू भने साँझको समयमा सञ्चालन हुँदै आएको छ ।   

प्रकाशित : ११ वैशाख २०८२, बिहीबार 20:00
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved