२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

एसियामा कोभिड–१९ को नयाँ लहर

द नेप्लिज संवाददाता
११ जेठ २०८२, आइतबार

Advertisement

विराटनगर— एसियाका विभिन्न देशहरू भारत, सिंगापुर, हङकङ, थाइल्यान्ड र चीनमा कोभिड–१९ को नयाँ लहर देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। महामारी फेरि बढ्न थालेपछि संक्रमितको संख्या चुलिएको छ भने जनस्वास्थ्य निकायहरूले सतर्कता अपनाउन थालेका छन्।

भारतको महाराष्ट्र राज्य अन्तर्गत ठाणे नगरमा कोभिड संक्रमणका कारण एक २१ वर्षीय युवकको मृत्यु भएको छ। ठाणे नगर निगमका अनुसार ती युवकलाई गम्भीर मधुमेहका कारण २२ मईमा कालवास्थित छत्रपती शिवाजी महाराज अस्पतालमा भर्ना गरिएको थियो। २३ मईमा उनको कोभिड परीक्षण पोजिटिभ आएको थियो भने उपचारकै क्रममा उनको ज्यान गएको हो।

भारतमा फेरि संक्रमण बढ्दो
इन्डिया टुडेका अनुसार शनिबार मात्रै महाराष्ट्रमा ४७ नयाँ कोभिड केस पुष्टि भएका छन्। राज्यभर सक्रिय संक्रमितको संख्या १ सय ६६ पुगेको छ। जनवरीयता राज्यमा कुल ७ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ।

महाराष्ट्रमा हालसम्म कोभिडका कारण चारजनाको मृत्यु भएको बताइएको छ। तीमध्ये एकजनालाई नेफ्रोटिक सिन्ड्रोम, अर्का एकजनालाई क्यान्सर र अर्का एकलाई मस्तिष्कघात (स्ट्रोक) भएको थियो।

मुम्बईमा मात्रै ३० नयाँ संक्रमण भेटिएको छ।केरला, तमिलनाडु, महाराष्ट्र र दिल्लीमा पनि केसहरू बढिरहेका छन्। केरला राज्यमा हालसम्म २ सय ७३ केस देखिएका छन्, जुन भारतभर सर्वाधिक हो। दिल्लीमा हालसम्म २३ केस दर्ता भएका छन्।

भारत सरकारको सतर्कता र सल्लाह
कोभिड केसहरू बढ्दै गएपछि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार धेरैजसो केस सामान्य छन् र संक्रमितको होम आइसोलेसनमै उपचार भइरहेको छ। मन्त्रालयले हाल देखिएका भेरियन्टहरू अघिल्ला संस्करणहरूभन्दा बढी घातक नरहेको दाबी गरेको छ।

हङकङमा एक वर्षयताकै उच्च संक्रमण दर
हङकङमा संक्रमण तीव्र रूपमा बढेको छ। त्यहाँको स्वास्थ्य सुरक्षा केन्द्र (सीएचपी) का अनुसार श्वासप्रश्वास नमुनामा पोजिटिभ दर पछिल्लो १२ महिनामा उच्चतम बिन्दुमा पुगेको छ। मईमात्र ३१ गम्भीर केस भेटिएको छ।

सङ्क्रमणका कारण हङकङका लोकप्रिय गायक इसन चानले ताइवानमा हुने आफ्नो कन्सर्ट रद्द गरेका छन्।

सिंगापुरमा १४ हजारभन्दा बढी केस
सिंगापुरको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार मईको सुरुआतसम्म १४ हजार २ सय कोभिड संक्रमणका केस दर्ता भएका छन्, जुन अघिल्लो साताको तुलनामा २८ प्रतिशतले बढी हो। अस्पताल भर्ना हुनेको संख्या पनि ३० प्रतिशतले बढेको छ। हालसम्म कुनै नयाँ गम्भीर भेरियन्ट भने फेला परेको छैन।

चीन र थाइल्यान्डमा पनि नयाँ लहरको संकेत
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार मई ४ सम्मको पाँच  सातामा अस्पतालहरूमा पोजिटिभ दर दोब्बरभन्दा बढी पुगेको छ। चीनले अघिल्लो वर्षको गर्मीको जस्तै लहर पुनः आउन सक्ने संकेत देखाएको छ।

थाइल्यान्डमा पनि अप्रिलको नयाँ वर्षको उत्सवपछि कोभिड केसहरू पुनः बढेका छन्। रोग नियन्त्रण विभागका अनुसार यस वर्षमात्र दुईपटक ठूलो प्रकोप देखिएको छ। स्वास्थ्य निकायहरूले उच्च जोखिम समूहहरूलाई बुस्टर खोप लगाउन आह्वान गरेका छन्।

नोएडामा नयाँ संक्रमण पुष्टि
भारतको उत्तर प्रदेशस्थित गौतमबुद्ध नगर (नोएडा) मा पनि कोभिड संक्रमण पुष्टि भएको छ। जिल्ला प्रमुख चिकित्सक नरेन्द्र कुमारका अनुसार ५५ वर्षीया महिलामा आरटी–पीसीआर परीक्षणमार्फत संक्रमण देखिएको हो।

उनले भने, ‘संक्रमण पुष्टि भएसँगै परीक्षण, ट्रेसिङ र उपचारका सम्पूर्ण तयारीहरू सुरु भइसकेका छन्। आत्तिनुपर्ने अवस्था छैन।’

भारतसहित एसियाका अन्य देशहरूमा पनि नयाँ लहरको संकेत देखिएपछि सरोकारवाला निकायहरूले सतर्कता अपनाउन आह्वान गरेका छन्।
 

#कोभिड#१९# को #नयाँ #लहर

प्रकाशित : ११ जेठ २०८२, आइतबार 06:46
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved