विराटनगर– युद्धले भयानक मोड लिन खोजिरहेको बेला चीनले पाकिस्तानलाई उक्साइरहेको थियो । जब भारत र पाकिस्तान एकअर्काको क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरिरहेका थिए, त्यतिबेला इजरायल एकमात्र देश थियो जसले भारतको पक्षमा खुलेर समर्थन जनाएको थियो।
भारतले इजरायली ड्रोन प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण गरेको पाकिस्तानले दाबी गरेको थियो। २२ अप्रिलमा पहलगाममा भएको आक्रमणको दुई दिनपछि इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर दोषीहरूलाई कारबाही गर्नुपर्ने बताएका थिए।
त्यसको साथै भारतमा रहेका इजरायली राजदूतले भारतलाई आत्मरक्षाको पूर्ण अधिकार रहेको बताएका थिए। इजरायल आफैँ चौतर्फी युद्धमा अल्झिएको अवस्थामा पनि भारतको समर्थन गर्यो। रुस भारतको ऐतिहासिक साझेदार हो, तर यो मुद्दामा इजरायलजतिको स्पष्ट समर्थन उसले देखाएन।
भारतले जब पाकिस्तानमा सैन्य कारबाही शुरू गर्यो ।, त्यसबेला रुसले दुवै देशलाई शान्ति कायम गर्न अपिल गर्यो। सामाजिक सञ्जालमा केहीले आश्चर्य व्यक्त गरेका थिए, किनकि सन् १९७१ मा पाकिस्तानसँगको युद्धका बेला सोभियत संघले जुन समर्थन भारतलाई दिएको थियो, अहिले रूस त्यस्तो समर्थन देखाइरहेको छैन। स्पष्ट छ, संसार धेरै बदलिएको छ।
तर सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि भारत र इजरायलको सम्बन्धमा उल्लेखनीय न्यानोपन आएको छ। नरेन्द्र मोदी इजरायल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। भारत र पाकिस्तानबीचको संघर्षमा जब प्रायः सबै देशहरू तटस्थ रहने प्रयास गरिरहेका थिए, इजरायल भने भारतको पक्षमा खुला रूपमा उभिएको थियो।
नजिकिएको सम्बन्धको कारण के हो?
भारतीय जनता पार्टीको सरकारकालमा भारत–इजरायल सम्बन्ध झनै नजिकिएको छ। साउदी अरेबियामा भारतका पूर्वराजदूत तलमीज अहमदका अनुसार अहिले भारतमा रहेको सरकारको विचारधारात्मक नजिकपन इजरायलसँग मेल खान्छ।
उनी भन्छन्, ‘भारत र इजरायलको पुरानो सम्बन्ध हो। हिन्दुत्व र इजरायलको जियोनिस्ट आन्दोलनबीच विचारधारात्मक समानता देखिन्छ। इजरायल भारतसँग विशेष सम्बन्ध बनाउने प्रयासमा छ। इजरायली राजदूतले खुलेर सार्वजनिक रूपमा भनेका छन् कि भारत जे गरिरहेको छ, त्यो एकदम सही छ। रक्षा क्षेत्रमा पनि भारत–इजरायल सहकार्य बढेको छ।’
पाकिस्तानविरुद्ध इजरायली ड्रोन प्रयोग गरिएको भन्ने दाबीबारे टाइम्स अफ इजरायलले लेखेको छ, ‘यसको केवल रणनीतिक महत्व मात्र छैन, यो भारत–इजरायलबीच गहिरिँदो सामरिक सम्बन्धको संकेत पनि हो। विगत केही दशकयता यो सम्बन्ध परिपक्व हुँदै गएको छ।’ जेरुसलम इन्ष्टिच्युट फर स्ट्राटेजी एण्ड सेक्युरिटीकी वरिष्ठ फेलो डा. ओश्रित बिरवादकरले भनेकी छन्, ‘भारतको सामरिक रणनीतिमा इजरायलको भूमिका महत्वपूर्ण बनेको छ। खासगरी पाकिस्तानसँगको तनाव र आतंकवादविरुद्धको लडाइँमा भारतलाई इजरायलबाट उल्लेखनीय सहयोग प्राप्त भएको छ।’
उनका अनुसार भारत इजरायल एयरोस्पेस उद्योगबाट सबैभन्दा धेरै रक्षा प्रणाली खरीद गर्ने देश हो। इजरायली प्रविधिको ड्रोन प्रयोग गरेर भारतले आफ्नो निगरानी क्षमता बढाएको छ। इजरायलको दृष्टिकोणबाट हेर्दा भारत केवल ठूलो बजार होइन, साझा चासो भएका रणनीतिक साझेदार पनि हो — विशेषतः आतंकवाद, सीमासुरक्षा र इस्लामिक अतिवादको मामिलामा।
डा. बिरवादकर भन्छिन्, ‘भारत र इजरायलको मित्रताको सम्बन्धमा लामो समयदेखि एउटा कथा चलाइएको छ — हिन्दूत्व र यहुदीवाद इस्लामविरोधमा एकजुट छन्।’
उनले थपिन्, ‘सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि युरोपका धेरै देश र परम्परागत साझेदारहरूले हतियार आपूर्ति ढिलो गरेका थिए, तर भारतले स्पष्ट रूपमा इजरायलको पक्षमा समर्थन जनायो। यो उसले कूटनीतिक जोखिम र अन्तर्राष्ट्रिय आलोचनाको बाबजुद गर्यो।’
पाकिस्तान र इजरायल
इजरायलविरुद्ध र प्यालेस्टाइनीहरूको समर्थनमा पाकिस्तानमा नियमित रूपमा विरोध प्रदर्शन भइरहन्छ। पाकिस्तानले अझै इजरायललाई राज्यको रूपमा मान्यता दिएको छैन।
१५ अगस्ट १९४७ मा भारत स्वतन्त्र बन्यो भने १४ मे १९४८ मा इजरायलको गठन भयो। तर भारतले प्रारम्भमा इजरायलको गठनको विरोधमा मतदान गरेको थियो।
पण्डित जवाहरलाल नेहरू बिना प्यालेस्टाइनको समावेश इजरायल निर्माणको विरोधमा थिए। सन् १९५० मा भारतले इजरायललाई मान्यता त दियो, तर कूटनीतिक सम्बन्ध कायम हुन ४२ वर्ष लाग्यो, जुन सन् १९९२ मा प्रधानमन्त्री पीवी नरसिंह रावको पालामा सम्भव भयो।
गैर–अरब देशहरूमध्ये पहिलो देश भारत थियो जसले सन् १९८८ मा प्यालेस्टाइनलाई मान्यता दिएको थियो। एकातिर भारतले प्यालेस्टाइनको पक्षमा आवाज उठाउँदै आएको थियो भने अर्कोतर्फ पछि गएर इजरायलसँगको सम्बन्ध गहिरो बनाउँदै लग्यो।
इजरायलसँगको सम्बन्ध कसरी प्रगाढ बन्यो?
पीवी नरसिंह रावले कूटनीतिक सम्बन्ध सुरु गरेपछि सम्बन्ध झन प्रगाढ बनाउने काम भारतीय जनता पार्टीको सरकारले गर्यो ।सन् २००३ मा प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पालामा इजरायली प्रधानमन्त्री एरियल शेरोन भारत भ्रमणमा आए। त्यसपछि सन् २०१७ मा नरेन्द्र मोदी इजरायल भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री भए।
सन् २००८ मा भारतीय रक्षा सचिव विजय सिंहको इजरायल भ्रमणबारे इजरायली अखबार हारेत्जले विश्लेषण गर्दै लेखेको थियो — भारत–इजरायल सम्बन्धहरू तब अझ बलियो हुन्छन्, जब भारत–पाकिस्तानबीच तनाव हुन्छ वा भारतमा दक्षिणपन्थी राजनीति र मुस्लिमविरोधी प्रवृत्ति चर्किन्छ।
कारगिल युद्धका समयमा पनि भारतले इजरायलसँग कूटनीतिक सम्बन्ध झनै बलियो बनाएको थियो। उक्त अखबारका अनुसार अनुसार त्यसबेला इजरायली रक्षा मन्त्रालयका एक प्रमुख अधिकारी अमोस यारोन आपतकालीन हतियार लिएर भारत पुगेका थिए।
कश्मीरमा अरबहरूको समर्थन किन आएन?
भारतको अरब देशहरूसँग सधैँ राम्रो सम्बन्ध रहे पनि कश्मीरको विषयमा कहिल्यै स्पष्ट समर्थन पाइएन। अरब लिगले कश्मीर मामिलामा सधैँ पाकिस्तानको पक्ष लिँदै आएको छ।
सन् १९७८ मा इजिप्ट र अन्य अरब राष्ट्रहरूले इजरायलसँग क्याम्प डेविड सम्झौता गरेका थिए। यसले भारतलाई पनि इजरायलसँग आफ्नो नीति पुनर्विचार गर्न प्रेरित गर्यो।
पूर्वपरराष्ट्र सचिव जे.एन. दीक्षितले आफ्नो पुस्तक ‘माइ साउथ ब्लक इयर्स’ मा लेखेका छन् — ‘अरब देशका केही राजदूतहरूले भारत–इजरायल कूटनीतिक सम्बन्धमा आपत्ति जनाए र परिणाम भोग्नुपर्ने चेतावनी दिए। तर हामीले उनीहरूलाई स्पष्ट जवाफ दियौं, झुकेनौं।“
दीक्षितले लेखेका छन्, ‘भारतले अन्तर्राष्ट्रिय मुद्दामा इस्लामिक देशहरूलाई समर्थन गरे पनि कश्मीरमा कहिल्यै समर्थन पाएको छैन। भारतले आफ्नो संप्रभुतामा हस्तक्षेप सहनेवाला छैन र आफ्नो हितका लागि निर्णय गर्न जारी राख्नेछ।’
सन् १९६९ मा मोरक्कोको रबाट सहरमा भएको इस्लामिक सम्मेलनमा भारतलाई निमन्त्रणा दिइए पनि पाकिस्तानको विरोधपछि फिर्ता लिइएको थियो।धेरै विश्लेषकहरूका अनुसार पाकिस्तानको पक्षमा अरब देशहरूको निरन्तर झुकाव देखेर भारतले इजरायलसँगको सम्बन्ध बढाएको हो। भारतका लागि अर्को तर्क पनि थियो — इजरायल एक लोकतान्त्रिक मुलुक हो।
मोदीको इजरायल भ्रमण
सन् २०१४ मा नरेन्द्र मोदीको नेतृत्वमा पूर्ण बहुमतको सरकार बनेपछि भारतले इजरायलसँग सम्बन्ध बलियो बनाउन कुनै कसर बाँकी राखेन।सन् २०१७ को जुलाईमा नरेन्द्र मोदी इजरायल भ्रमणमा गएका थिए — जुन कुनै पनि भारतीय प्रधानमन्त्रीको पहिलो इजरायल यात्रा थियो। विगतमा भारतका उच्च तहका नेताहरू इजरायल जान्थे भने सँगै प्यालेस्टिनी क्षेत्रमा पनि जान्थे। तर मोदी उक्त भ्रमणमा प्यालेस्टिनी क्षेत्र गएनन् र प्यालेस्टिनीहरूको नामसमेत उल्लेख गरेनन्।
#भारत–इजरायल
विश्व/प्रवास
दक्षिण अफ्रिकी गोरालाई अमेरिकामा विशेष स्वागत
द नेप्लिज संवाददाताअष्ट्रेलियाको नयाँ मन्त्रिमण्डलमा आधी महिला
द नेप्लिज संवाददाताअमेरिका–चीन सम्बन्ध सुध्रिने संकेतसँगै डलर र युआनको मूल्य उकालो
द नेप्लिज संवाददाताहमासद्वारा इदान एलेक्जेन्डरको रिहाइ
द नेप्लिज संवाददातायुद्धविराममा अमेरिकाको भूमिकामा मोदी मौन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares