६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

एमाले मोरङको अध्यक्षमा अजम्बरको जितले देखाएको राजनीति

ओझासँगै संघीय, प्रदेश र महानगर सरकारलाई पराजित गरेका राई को हुन् ?
गौरी बस्नेत खड्का
२३ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशनले अध्यक्षमा इत्तर पक्षका अजम्बर राईको प्यानल विजयी भएको छ । राईको यो जित राजनीतिज्ञहरुको लागि ठूलो सिकाइ भएको हो । 

सम्पूर्ण राज्य शक्ति संस्थापन पक्षका उम्मेदवार राजकुमार ओझालाई जिताउन सम्पूर्ण सामथ्र्य लगाएका बीच राईले प्यानलै जित्नु स्वभाविक होइन् । उनको जितले शक्ति, आशिर्वाद र निर्देशनको भरमा कसैले पनि कसैलाई स्विकार्ने र मतदान गर्ने अवस्था नभएको देखाएको छ । 

यो अधिवेशनमा सुरुमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देशसहित आएका पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहमतिमा नै ओझालाई अध्यक्ष बनाउने प्रयास गरेका थिए तर सकेनन् । उपाध्यक्ष थापासँगै उपमहासचिव प्रदिप ज्ञवाली, प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्की, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जीवन घिमिरे, पूर्वजिल्ला अध्यक्ष, सांसद तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शराम बस्नेत, विराटनगर महानगरकी उपप्रमुख शील्पा निराला कार्कीलगायत केन्द्रीय नेताहरुले सम्पूर्ण शक्ति लगाएर ओझा प्यानललाई जिताउन खोजेका थिए । 

ओझा प्यानललाई संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरको सम्पूर्ण सामथ्र्य खर्चेर पनि जिताउन नसक्नुले आम कार्यकर्ता, समर्थकले राजनीतिमा आमूल परिवर्तन खोजेको सन्देशको रुपमा नेताहरुलाई लिनुपर्ने स्थानीय नेताहरुको भनाइ छ । हुकुमी शासनलाई हटाउन रगत बगाएर गणतान्त्रिक व्यवस्थामा आइसक्दा राजनीतिक नेतृत्व वर्गले पुनः हुकुम चलाउन खोजेको परिणाम नै राईको जित भएको पाका नेताहरु बताउँछन् । 

‘राजनीतिक नेतृत्वले आफ्ना आसेपासेलाई मात्रै नेताको रुपमा हेर्ने प्रवृतिलाई एमालेको १० औँ महाधिवेशनले ठूलो जवाफ दिएको छ,’ उनले भने, ‘यो निर्वाचन परिणामका आधारमा अब मोरङमा प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सांसद ऋषिकेश पोखरेल, जिल्ला इञ्चार्ज जीवन घिमिरे जस्ता नेताहरु कार्यकर्तामाझ कुन मुख लिएर जान्छ ?’ मोरङको निर्वाचन परिणामले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई पनि ठूलै धक्का लागेको उनको भनाइ थियो । 

मोरङमा एक साता पूर्वराष्ट्रपति बस्दाको, प्रधानमन्त्री ओलीले स्थानीयस्तरमा पकड भएका नेता विनोद ढकाललाई पाखा लगाएको र अवसरवादीलाई पार्टीमा अघि बढाउन खोज्दाको परिणाम अजम्बर राई प्यानलको जित भएको एमाले नेता तथा कार्यकर्ताहरुको बुझाइ छ । 

ओझालाई पार्टी अध्यक्ष ओली, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत पार्टीका शीर्ष नेताहरुको समर्थन थियो भने अजम्बरलाई जिल्ला र पालिका तहका नेताहरुको मात्रै समर्थनमा परिणाम हात पार्न सफल भएको हो । यसले सबै दलका राजनीतिक नेतृत्व तथा नेताहरुले पाठ सिक्नु आवश्यक छ । 

एमाले नेता विनोद ढकालले यो पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व निर्माण भएकोले यसलाई सहज र स्वभाविक रुपमा लिएको बताएका हुन् । उनले चुनाव पार्टीको नेतृत्व विकास गर्ने निरन्तर प्रक्रिया भएकोले यसमा हार र जितभन्दा नेतृत्व निर्माण भएको प्रतिक्रिया दिएका छन् । ‘प्रतिस्पर्धाबाट नेतृत्व निर्माण भएकोले यसलाई जित र हारभन्दा पनि पार्टीभित्रको आन्तरिक नेतृत्व विकास प्रक्रियाको रुपमा सबैले लिनुपर्छ,’ उनले भने, ‘यो पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भएकोले सबैले जितको रुपमा लिनुपर्छ । यसमा कसैको हार भएको छैन, सबैको जित भएको छ ।’

अध्यक्षमा निर्वाचित राईले यो जित आप्mनो व्यक्तिगत नभई सम्पूर्ण जिल्लाभरिका प्रतिनिधिहरुको जितको रुपमा लिएको प्रतिक्रिया दिएका छन् । ‘यो जितलाई नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको जित भएको ठानेको छु,’ उनले भने, ‘यो १० औं अधिवेशनको सम्पूर्ण जिल्ला प्रतिनिधिहरुको जित हो, यो मेरो जित होइन ।

को हुन् अजम्बर राई ?

नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनमा ४४६ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका अजम्बर राईको जन्म २०१६ सालमा खोटाङ भएको हो । २०३४ सालमा खोटाङबाट मोरङको सिजुवामा बसाई सरेका राईको दुई छोरा र एक छोरी छन् । मोरङमा बसाई सरेपछि झरेपछि उनी २०३६ सालमा एमालेमा प्रवेश गरेका थिए । उनी गाउँको सेल कमिटीको सचिव, इलाका कमिटी, क्षेत्र कमिटी सदस्य, क्षेत्र कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, क्षेत्रीय इञ्चार्ज, प्रदेश कमिटी सदस्य, प्रदेश कमिटीको सल्लाहकारका रूपमा निरन्तर पार्टीमा योगदान दिएका हुन् । 

उनले एमालेबाट २०३९ सालमा तत्कालीन दुलारी गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि मोरङ जिल्ला विकास समितिका क्षेत्रीय सदस्यको रुपमा २०५४ सालमा र मोरङ जिल्ला विकास समन्वय समितिको प्रमुखको रुपमा २०७९ सालदेखि कार्यरत छन् । उनी प्रदेश कमिर्टीको सल्लाहर पदमा कार्यरत रहेको बेला जिल्लाको अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनको प्यानलबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिव पुरुषतर्फ सन्तोष वान्तवा र महिलातर्फ उषा झा निर्वाचित भएका छन् । 

प्रकाशित : २३ फागुन २०८१, शुक्रबार 20:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved