२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

नेकपा (माओवादी केन्द्र) प्रतिगमनतर्फ उन्मुख : प्रधानमन्त्री ओली

द नेप्लिज संवाददाता
१९ जेठ २०८२, सोमबार

Advertisement

विराटनगर – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन्। एमाले संसदीय दलको बैठकमा सोमबार बोल्दै उनले प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) प्रतिगमनतर्फ उन्मुख भएको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने दाबी गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद गर्न खोज्दा सम्पर्कमा आउन नचाहेको आरोप लगाए। ‘वार्ता नगर्ने, संवाद अस्वीकार गर्ने अनि संसद बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला,’ उनले भने, ‘संसद यस्ता नचाइने विषयमा सधैँ बन्द हुँदैन।’

उनका अनुसार गृहमन्त्री लेखकमाथि कुनै उजुरी वा छानबिनसम्बन्धी प्रक्रिया अघि नबढेकाले राजीनामाको माग अवैधानिक र अविवेकपूर्ण छ। ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ,’ उनले भने, ‘माननीयज्यूहरू तयार भएर बस्नुस्, भोलिदेखि सदन चल्छ।’

प्रधानमन्त्री ओलीले सडकमा जतिसुकै समूहले माग लिएर धर्ना गरे पनि सरकार जिम्मेवार ढंगले अघि बढ्ने स्पष्ट गरे। उनले संसद अवरोध र सडक समर्थनले लोकतन्त्रलाई होइन, प्रतिगमनलाई बल पुग्ने तर्क गरे।

सरकारले विषम परिस्थितिमा बजेट ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सांसदहरूलाई तर्कसंगत ढंगले विचार राख्न निर्देशन दिए। ‘अर्थतन्त्र ओरालो लागिरहेको, अराजकता र असन्तुष्टहरू उग्र भइरहेका बेला बेग्लै चुनौतीको बिचमा बजेट आएको हो,’ उनले भने, ‘यस्तो बेला राजतन्त्रको बहसको अर्थ छैन।’

राजतन्त्रको पुनस्र्थापनाको मागप्रति कडा टिप्पणी गर्दै उनले भने, ‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो।’ भारत, चीन र अमेरिका जस्ता मुलुकमा निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन भएको उदाहरण दिँदै उनले विश्वभर राजतन्त्रको वैज्ञानिकता र न्यायिकता समाप्तप्रायः भइसकेको बताए।

प्रधानमन्त्री ओलीले केही राजनीतिक शक्तिहरूले सत्ता गुमाउँदाको पीडाबाट कुण्ठित हुँदै सरकारको असफलता चाहने प्रवृत्ति देखिएको आरोप पनि लगाए। ‘सरकारको राम्रो काम नदेख्ने र असफल गराउने ‘घण्टाकर्ण’ प्रवृत्तिहरू देखा परेका छन्,’ उनले भने।
 

#प्रतिगमन

प्रकाशित : १९ जेठ २०८२, सोमबार 15:36
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved