अभिनेत्री सुरक्षा पन्तको टिप्पणी
विराटनगर– अभिनेत्री सुरक्षा पन्तको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ । यसलाई अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक प्रतिक्रिया बीचको द्वन्द्व भन्न सकिन्छ ।
अभिनेत्री पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज पारस शाहका छोरा हृदयन्द्र शाहको सम्भावित फिल्म करियरबारे दिएको टिप्पणीले सामाजिक सञ्जालमा तीव्र बहस निम्त्याएको हो । उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र आलोचनाको लहर चलेको छ ।
विवादको उत्पत्ति
तीन दिनअघि एक टेलिभिजन कार्यक्रममा हृदयन्द्र शाहको तस्बिर देखाउँदै सुरक्षा पन्तसँग परिचय सोधिएको थियो । उनले स्वभाविक रुपले जवाफ दिँदै ‘पारसको छोरा होइन ? के रे नाम ?’ भनी सोधेकी दिइन् । कार्यक्रम सञ्चालकले हृदयन्द्रको नाम उल्लेख गरेपछि पन्तले हृदयन्द्रको लुक्स राम्रो भएको र फिल्म उद्योगमा सम्भावना देखिने टिप्पणी गरिन् ।
नेपाली मनोरञ्जन उद्योगमा बौद्धिक सुन्दरी भनेर चिनिने उनले अर्को एक सवालको जवाफमा ‘राजा बनाउने भन्ने व्यवस्था त हामीले स्वीकारेकै छैनौँ । राजा बनाए पनि हुन्छ... हा.हा..हा...। त्यो त भन्न सकिन्नँ ’ भन्ने संविधानसम्मत जवाफ दिएकी थिइन् ।
सामाजिक सञ्जालमा प्रतिक्रिया
सामाजिक सञ्जालमा पन्तको अभिव्यक्तिप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । केही प्रयोगकर्ताले उनको विचारलाई अभिव्यक्ति स्वतन्त्रताको अभ्यास भनेर समर्थन गरेका छन् भने केहीले पूर्वराजपरिवारप्रति सम्मान नदेखाएको आरोप लगाएका छन् । विशेष गरी राजतन्त्र समर्थकहरूले पन्तको आलोचना गरेका छन् ।
उक्त टेलिभिजन कार्यक्रम पुरै हेरेकाहरुका अनुसार यतिको पनि बोल्न नपाए लोकतन्त्र र पूर्वराजतन्त्रमा के फरक नि ? भनेर प्रतिप्रश्न गरेका छन् । एक हल्काफुल्का मनोरञ्जनात्मक कार्यक्रममा बोलिएका कुरालाई राजावादीहरुले विवादमा ल्याउनु वाहियात भएको धेरैको भनाइ छ ।
अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक प्रतिक्रिया
नेपालमा अभिव्यक्ति स्वतन्त्रता संविधानले सुनिश्चित गरे पनि सार्वजनिक व्यक्तित्वहरूले राखेका धारणाहरुले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया निम्त्याउने गरेका छन् । यसअघि पनि अभिनेत्री दीपाश्री निरौलाले राजेश हमालबारे दिएको टिप्पणीले गर्दा व्यापक आलोचना भोग्नुपरेको थियो ।
सुरक्षा पन्तको अभिव्यक्तिले नेपाली समाजमा अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक प्रतिक्रिया बीचको संवेदनशील सम्बन्धलाई पुनः उजागर गरेको छ । सार्वजनिक व्यक्तित्वहरूले अभिव्यक्ति दिँदा सावधानी अपनाउनु आवश्यक देखिन्छ जसले सामाजिक सद्भाव कायम राख्न मद्दत पु¥याउँछ ।
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares