६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

ईसेवाबाट ठगिने बढे

सर्वसाधारणको १ करोड २ लाख रुपैयाँ अरुको खातामा

जितेन्द्र साह
३ वैशाख २०८२, बुधबार

Advertisement

काठमाडौँ — फिसिङ लिंकमार्फत ईसेवा खाताबाट १ करोड २ लाख रुपैयाँ ठगेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार कालीमाटीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत ’खाता सस्पेन्ड हुन लागेको’ भन्दै फिसिङ लिंक पठाउने गर्थे । उक्त लिंक खोल्न लगाइ प्रयोगकर्ताको ईसेवा खातामा अनधिकृत पहुँच बनाइ ४ हजारभन्दा बढी व्यक्तिहरूको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खातामा ट्रान्सफर गरी ठगी गरेका थिए ।

ईसेवाको नाममा भएको यो पहिलो ठगी होइन । २०७९ माघमा प्रकाशित समाचार अनुसार रौतहटका १९ वर्षीय शुभम साहले आफू ईसेवाको कर्मचारी भएको भन्दै ३५ भन्दा बढी व्यक्तिहरूलाई झुक्याएर करिब १६ लाख रुपैयाँ ठगी गरेका थिए ।  उनले ग्राहकहरूलाई ‘खाता अपडेट गर्नुपर्ने’ भन्दै फोन गरेर ओटीपी मागी, त्यही कोड प्रयोग गरी पीडितको ईसेवा वालेटमा पहुँच प्राप्त गरेर रकम आफ्नो खातामा ट्रान्सफर गरेका थिए । उनीविरुद्ध साइबर अपराध मुद्दा दर्ता गरिएको थियो ।

२०२० अक्टोबरमा ‘अपरिचित’ नामक एक ह्याकरले करिब २१ जना ईसेवा प्रयोगकर्ताहरूको ईमेल, फोन नम्बर, पासवर्डको सुरुवाती अक्षरहरू र मौज्दात रकम सार्वजनिक गरेका थिए । ईसेवाले यो घटना आफ्नै प्रणालीमा नभइ तेस्रो पक्षीय साइटहरूबाट भएको फिसिङ आक्रमणका कारण भएको बताएको थियो । प्रहरीका अनुसार यी त पीडित प्रयोगकर्ता प्रहरीसम्म पुगेका घटना हुन् । ईसेवाको नाउँमा बढेको अनेकन ठगी अनौपचारिक जानकारीमा आइरहने गरेको प्रहरीले जनाएको छ ।

ईसेवाको सुरक्षा सम्बन्धी अफवाहहरूमा कम्पनीको प्रतिक्रिया
२०८१ पुसमा सामाजिक सञ्जालहरूमा ईसेवाबाट रकम चोरी हुने गरेको भन्ने हल्लीखल्ली भएको थियो । ईसेवाले यस्ता समाचारहरूलाई भ्रामक र आधारहीन भन्दै खण्डन गरेको थियो । कम्पनीले आफ्नो १६ वर्षको इतिहासमा सुरक्षा प्रणालीमा कुनै कमी नरहेको र ग्राहकहरूको रकम पूर्ण रूपमा सुरक्षित रहेको दाबी गर्दै आएको छ ।

ईसेवाले यस्ता फिसिङ प्रयासहरूबाट बच्न प्रयोगकर्तालाई सचेत रहन आग्रह गर्ने औपचारिकता पनि पुरा गरिरहेको छ  । कम्पनीले कहिल्यै पनि पासवर्ड, ओटीपी वा व्यक्तिगत जानकारी फोन, एसएमएस वा इमेलमार्फत माग्दैन भन्ने गर्छ । यदि यस्तो अनुरोध प्राप्त भएमा तुरुन्तै ईसेवाको हेल्पलाइन १६६०–०१–०२१२१ मा सम्पर्क गर्न उसले सुझाव पनि दिन्छ । 

यस्तो साइबर अपराधमा युवा बढी
नेपालमा साइबर अपराधमा संलग्न अधिकांश १९ देखि ३० वर्ष उमेर समूहका छन् । नेपाल राष्ट्र बैंकको वित्तीय गुप्तचर इकाइ (एफआईयू) को २०२४ को रिपोर्ट अनुसार साइबर अपराधमा संलग्न ७० प्रतिशत यसै उमेर समूहका छन् । प्रहरीले बुढालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ ।

फिसिङ लिंक भनेको के हो ?
फिसिङ लिंक भनेको प्रयोगकर्तालाई झुक्याएर गोप्य जानकारी चोर्न बनाइएको नक्कली लिंक हो । फिसिङ लिंक भनेको नक्कली  वेबसाइटको लिंक हो । यो वास्तविक बैंक, डिजिटल वालेट (जस्तै ईसेवा) वा अन्य विश्वसनीय सेवाको जस्तो देखिन्छ । प्रयोगकर्तालाई त्यस्तो लिंकमा क्लिक गराएर आफ्नो व्यक्तिगत जानकारी (जस्तै युजरनेम, पासवर्ड, ओटीपी) दिन लगाइन्छ र त्यस जानकारीको दुरुपयोग गरी रकम चोरी गरिन्छ । 
 

प्रकाशित : ३ वैशाख २०८२, बुधबार 19:00

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved