४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

विराट गोल्डकप आजबाट सुरु हुँदै : उद्घाटन खेल रिजालको मोरङ एफसी र भारतको साउथर्न कलकताबीच

गोल्डकप हेर्ने टिकट बिक्री बिहान ११ बजेदेखि सहिद रंगशालाको काउण्टरबाट सुरु
द नेप्लिज संवाददाता
१९ फागुन २०८१, सोमबार

Advertisement

विराटनगर– विराट गोल्डकप विराटनगरस्थित सहिद रंगशालामा आजबाट सुरु हुँदै छ ।  विराट गोल्डकपको उद्घाटन खेल रिजालको मोरङ एफसी र भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकताबीच हुनेछ । गोल्डकपको उद्घाटन राष्ट्रिय नेता डा. शेखर कोइरलाले गर्नेछन् । गोल्डकप हेर्ने टिकट बिक्री बिहान ११ बजेदेखि सहिद रंगशालाको काउण्टरबाट सुरु गर्ने तयारी गरेको आयोजकले जनाएको छ । 

आयोजक समितिले विराट गोल्डकपको उद्घाटन ऐतिहासिक बनाउने तयारी गरेको छ । गोल्डकप हुने सहिद रंगशालाको रंगरोगन, मञ्चलगायतको सजावट र खेलको उद्घाटन नौलो तरिकाले ऐतिहासिक बनाउने सम्पूर्ण तयारी गरेको गोल्डकप आयोजक समितिका संयोजक नविन रिजालले बताएका छन् । 

संयोजक रिजालले उद्घाटन खेलको अवसरमा मेलिना नेवार, शान्ता रानी र रक हेडसको सांस्कृतिक प्रस्तुतीले दर्शकलाई गीत, सङ्गीतले समेत मनोरञ्जन प्रदान गर्ने तयारी गरेको बताएका हुन् । दिउँसो ४ बजेबाट उद्घाटन कार्यक्रम सुरु गरी साँझ ६ः३० बजेबाट गोल्डकप फुटवल प्रतियोगिताको खेल सुरु हुने आयोजकले जनाएको छ । 

गोल्डकप हेर्नका लागि सहिद रंगशालाको काण्टरबाट बिहान ११ बजेदेखि टिकट बिक्री सुरु गर्ने संयोजक रिजालले बताए । उनले यो सिजनको गोल्डकप हेर्न टिकट किन्नेले न्यूूनतम दुई हजारको उपहार तथा छुट, क्यास ब्याक पाउने व्यवस्था गरेको बताए । आयोजकले सामान्य टिकट दुई सय, भीभीआईपी टिकट पाँच सय, सिजनभरिको टिकट एक हजार सात सय र भीभीआईपी सिजनभरिको टिकटको पाँच हजार तोकेको छ । टिकट किन्नका लागि भीड हुन नदिन आयोजकले सहिद रंगशालाको काउण्टरमा सामान्य, भीभीआईपी र सिजनल गरी छुट्टाछुट्टै काउण्टरको व्यवस्था गरेको छ । 

आयोजक समितिले नवौं संस्करणको विराट गोल्डकप फरक तिरकाले आयोजना गर्न गइरहेको छ । नेपालमा पहिलो पटक फुटवल प्रतियोगिताको टिकट किन्दा उपहारै उपहारै पाउने व्यवस्था आयोजकले गरेको छ । नवौं संस्करणको विराट गोल्डकप हेर्नेले फुटवलसँगै राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुतिको मजा पाउनुका साथै टिकट किन्नेलाई शतप्रतिशत रकम फिर्तादेखि उपहार र छुटको व्यवस्था गरेको हो ।

संयोजक रिजालले यसपटक गोल्डकप उद्घाटन ऐतिहासिक बनाउने योजनाका साथ तयारी गरेको बताए । विराट गोल्डकपको बारेमा टिकटक बनाउनेहरु मध्ये उत्कृष्टलाई १० हजारको पुरस्कारको व्यवस्था गरिएको उनले सुनाए । गोल्डकप हेर्न आउने दर्शकहरुमध्ये प्रत्येक दिन ‘फेस अफ द गोल्डकप’ अवार्ड प्रदान गर्ने रिजालको भनाइ छ । उनले त्यसका लागि निर्णायक समितिसमेत चयन गरिएको बताए । 

विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ फाल्गुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरस्थित सिहद रंगशालामा आयोजना गर्दै छ । विराट गोल्डकप फुटवल प्रतियोगिता आयोजक समितिले १० दिनसम्म हुने प्रतियोगिताका लागि १० वटा फुटवल टिमको छनोट गरेको हो । 

गोल्डकपमा सहभागी १० वटै टिममा ए डिभिजनका खेलाडीहरु रहेको संयोजक रिजालले बताए । ‘गोल्डकप खेल्न आउने प्रत्येक टिमले यो सिजनमा कुनै नकुनै प्रतियोगिताका विजेता टिम हो,’ उनले भने, ‘त्यसैले विराट गोल्डकपको प्रत्येक दिनको खेल फाइन खेल बराबर हुन्छ । दशर्कहरुलाई प्रत्येक दिनको खेल हेर्न आग्रह छ ।’ 

आयोजक समितिका संयोजक उद्योगी रिजालले १ करोड ३५ लाखको लागतमा आयोजना भइरहेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिताको विजेताले ११ लाख नगद र शिल्ड, उपविजेताले ५ लाख र कप प्राप्त गर्ने बताएका छन् । उनले सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार र दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने जानकारी दिए । 

विराट गोल्डकप फुटवल प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास वोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटवल संघ र मोरङ उद्योग व्यापार संघ रहेको छ । 

दोस्रो खेल भोली फाल्गुन २० गते नेपाल एपीएफ फुटवल क्लव र सुदेभा दिल्ली फुटवल क्लवबीच, तेस्रो खेल फाल्गुन २१ गते रिजालको मोरङ र साउथर्न समिति फुटवल क्लव कलकताका विजेता र त्रिभुवन आर्मी फुटवल क्लवबीच हुनेछ । 

यस्तै, चौथो खेल फाल्गुन २२ गते एपीएफ र सुदेभा दिल्लीका विजेता र नेपाल पुलिस क्लवबीच, पाँचौँ खेल फाल्गुन २३ गते मच्छिन्द्र फुटवल क्लव र थ्रि स्टार फुटवल क्लवबीच, छैठौँ खेल फाल्गुन २४ गते चर्च ब्वाइज फुटवल क्लव र एनआरटी क्लवबीच हुने आयोजकले टाइसिट सार्वजनिक गरेको हो ।

गौलडकपको फाल्गुन २५ गते सातौँ खेलबाट सेमी फाइनलको खेल हुनेछ । दोस्रो सेमी फाइनलको खेल फाल्गुन २६ गते र फाइनल खेल फाल्गुन २८ गते हुने संयोजक रिजालले बताएका हुन् । 

प्रकाशित : १९ फागुन २०८१, सोमबार 07:17
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved