काठमाडौं – राष्ट्रपतिलाई देश, संविधान, आममान्छेको अभिभावक एवं संरक्षक मानिन्छ । यो सर्वोच्च सम्मानित ओहोदा भएकोले उनीहरुबारे नकारात्मक टिकाटिप्पणी गरिँदैन । तर सरकारी स्रोतको दोहन गरेको भन्दै केही दिनदेखि सामाजिक सञ्जालमा पूर्वराष्ट्रपतिहरु डा. रामवरण यादव र विधादेवी भण्डारीको चर्को आलोचना भइरहेको छ।
पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिने कानुनी व्यवस्था बनाउने विषयमा अहिले तीव्र बहस भइरहेको छ । पटक–पटक प्रयास गरिए पनि पूर्वविशिष्ट पदाधिकारीहरूको सुविधाका लागि कानुन निर्माण गर्न नसकिएको अवस्थामा सरकारले गत पुस ९ गते यससम्बन्धी विधेयक निर्माण गर्न सैद्धान्तिक सहमति दिएको थियो।
सोही सहमतिअनुसार गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार गर्ने कार्य गरिरहेको छ। गृहमन्त्री रमेश लेखकले सोमबार संसद्मा जानकारी दिँदै सर्वोच्च अदालतको परमादेशअनुसार विधेयक ल्याउन लागेको उल्लेख गरे। सर्वोच्चले २०६८ मंसिरमा सरकारलाई संसद्बाट कानुन बनाएरै सुविधा दिन आदेश दिएको थियो।
पूर्वराष्ट्रपतिहरूको भरणपोषणमा लाखौं खर्च
गृहमन्त्रालय स्रोतका अनुसार हालसम्मका पूर्वराष्ट्रपति तथा अन्य विशिष्ट पदाधिकारीहरूले पाउने सुविधामा एकरुपता छैन। एउटै पदमा बसेका व्यक्तिहरूले फरक–फरक सुविधा पाएको देखिन्छ।
गत आर्थिक वर्षमा मात्रै पूर्वराष्ट्रपति रामवरण यादवको भरणपोषणमा राज्यकोषबाट ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च भएको छ। त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि ३५ लाख १८ हजार ५५५ रुपैयाँ खर्च भएको गृह मन्त्रालय स्रोतको दाबी छ। उक्त रकम तलब, घरभाडा, सचिवालयका सदस्यहरूको तलब, बिजुली, पानी लगायतका खर्चमा खर्चिएको हो।
पूर्वराष्ट्रपतिहरूलाई सरकारले एक जना उपसचिव, हलुका सवारी चालक र एक जना कार्यालय सहयोगी प्रदान गरेको छ। तर आफ्नै घर भएका यादव र भण्डारी दुवैका लागि सरकारले मासिक रूपमा घरभाडा पनि भुक्तानी गर्दै आएको छ।
गृहका अनुसार यादवलाई मासिक १ लाख ९२ हजार २५५ रुपैयाँ घरभाडा दिइँदै आएको छ। भण्डारीलाई मासिक १ लाख रुपैयाँका दरले भाडा दिइँदै आएको छ। यादव आफ्नै घर छाडेर भाडाको घरमा बसेका छन् भने भण्डारी चपली हाइटस्थित आफ्नै घरमा बसेरै घरभाडा लिइरहेकी छिन्।
इन्धन र अन्य सुविधामा पनि लाखौं खर्च
पूर्वराष्ट्रपतिहरूका लागि मासिक २०० लिटरका दरले इन्धन सुविधा दिइएको छ। यादवका लागि वार्षिक ४ लाख ४ हजार ८८२ रुपैयाँ इन्धन खर्च गरिएको छ।
यादवलाई २०७३ माघ २० र २०७४ मंसिर २५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार सुविधा प्रदान गरिएको हो। भण्डारीलाई २०८० भदौ २९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार सुविधा दिइएको छ।
पूर्वप्रधानमन्त्री र अन्य पदाधिकारीलाई पनि राज्यकोषबाट खर्च
सरकारी कोषबाट पूर्वप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति र पूर्वसभामुखहरूले पनि सुविधाहरू लिइरहेका छन्।
पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, बाबुराम भट्टराईलाई सरकारले एउटा गाडी र मासिक १५० लिटर पेट्रोल सुविधा दिएको छ।
पूर्वउपराष्ट्रपतिहरू परमानन्द झाका लागि ३ लाख ५८ हजार ९५६ रुपैयाँ खर्च भएको छ भने नन्दकिशोर पुनले ऊर्जा मन्त्रालयको गाडी सरकारबाट सुविधा रूपमा लिएका छन्।
पूर्वसभामुखहरू तारानाथ रानाभाट, कृष्णबहादुर महरा र ओनसरी घर्तीले मासिक १०० लिटर पेट्रोलसहित एक–एक वटा गाडी पाएका छन्। अग्नि सापकोटाले संसद् सचिवालयलाई चीनले उपहार दिएको विद्युतीय गाडी सुविधा स्वरूप लिएका छन्।
राज्यका स्रोतमा अतिक्रमण
सत्ता र शक्तिमा पहुँच राख्ने विभिन्न व्यक्तिहरूका लागि मन्त्रिपरिषद्को स्वीकृति नलिई तीन हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये अधिकांश सुरक्षाकर्मी विशिष्ट व्यक्तिहरूका निजी सुरक्षा अधिकृत (पीएसओ) वा घरेलु कामदारको रूपमा कार्यरत छन्।
पूर्वप्रधानन्यायाधीशहरू, पूर्वराजपरिवारका सदस्यहरू लगायत अन्य पदाधिकारीहरूका लागि पनि राज्यकोषबाट लाखौं रुपैयाँ खर्च भइरहेको छ। विशिष्ट व्यक्तिहरूले मन्त्रिपरिषद्को निर्णयमार्फत उपचार खर्चसमेत लिइरहेका छन्, तर त्यसलाई वार्षिक रूपमा सार्वजनिक गरिएको छैन।
सरकारले विशिष्ट व्यक्तिहरूलाई दिइरहेको सुविधाबारे पारदर्शिता आवश्यक छ भन्ने आवाज उठिरहेको छ। संसद्मा ल्याइने प्रस्तावित विधेयकले यस विषयलाई कसरी व्यवस्थित गर्छ भन्ने विषयमा चासो बढेको छ।
समाचार
सरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताकोशी प्रदेशमा विशेष सतर्क रहन अनुरोध
द नेप्लिज संवाददातायौन हिंसा पीडित सप्तरीकी एक दलित किशोरीको हत्या
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares