काठमाडौँमा शिक्षक आन्दोलनमा झडप
विराटनगर– काठमाडौँको बानेश्वरमा आइतबार दिउँसो शिक्षक आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३१ शिक्षक, ३ प्रहरी र एक पत्रकार घाइते भएका छन् ।
नेपाल शिक्षक महासंघका अनुसार घाइते शिक्षकहरूमा सिन्धुपाल्चोकका सुवास गिरी, गोरखाका भगवान शाक्य, बर्दियाका दीपबहादुर घर्ती, पुण्य शर्मा, सिन्धुलीका कमलबहादुर बस्नेत, महोत्तरीका विकासराज झा, बझाङका हरिप्रसाद जोशी, शोभाजंग केसी, ममताकुमारी साह, कञ्चनपुरका पुण्यमणि जोशी, बाग्लुङका भानुभक्त मैनाली, नुवाकोटकी विष्णुकुमारी सुवेदी, कैलालीका खडकमणि, खोटाङका धर्मसिंह सार्की, लीलाभक्त बस्नेत, सिराहाकी देवकुमारी यादव, धनुषाका महेन्द्र साह, जाजरकोटका तेजबहादुर खत्री, रौतहटका वीरेन्द्र पण्डित, कुसनकुमारी साह, धनुषाका वेचन यादव, जुम्लाकी देवी शर्मा धिताल, रामबहादुर शाही, झापाका प्रवीण दियाली, कृष्णमाया रिजाल, शान्ता निरौला र अर्घाखाँचीका यश गौतम छन् ।
झडपमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको आँखामा चोट लागेको छ । उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार झडपमा तीन प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा भइरहेको छ ।
शिक्षक आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ । स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा नि:शुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार ३१ शिक्षकको सिभिल र एभरेस्ट अस्पतालसहित फरकफरक ठाउँमा उपचार भइरहेको छ । अब भने उनीहरू सबैलाई ट्रमा सेन्टरमा सारिनेछ ।
शिक्षक महासंघले आन्दोलनका क्रममा भएको हिंसात्मक झडपको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । प्रहरीले भने प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जनाएको छ ।
शिक्षक आन्दोलनको २६औँ दिन कसरी भयो घटना ?
विद्यालय शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन आइतबार २६औँ दिनमा प्रवेश गर्दा नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
प्रदर्शनका क्रममा शिक्षकहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रहरीका अनुसार शिक्षकहरूले ’ब्यारिकेड’ तोड्न खोज्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले यस सम्बन्धमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले राज्यले शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास गरेको आरोप लगाएकी छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै सरकारको भूमिकालाई ’नांगो रूप’ मा देखिएको बताएका छन् । उनले सोमबारदेखि देशभरबाट थप शिक्षकहरू काठमाडौँ आउने चेतावनी दिएका छन् ।
यसअघि राहत शिक्षक र प्रहरीबीचको झडपमा ११ शिक्षक घाइते भएका थिए । घाइतेहरूमा पर्साकी सन्दिपा खत्री, पर्वतकी शर्मिला पुरी, रुकुम पश्चिमकी निर्मला वली, ताप्लेजुङका रमेश प्याकुरेल लगायत छन् । खत्रीको दायाँ खुट्टा भाँचिएको छ भने प्याकुरेलको बायाँ खुट्टामा प्लास्टर गरिएको छ । घाइतेहरूको उपचार काठमाडौँका विभिन्न अस्पतालहरूमा भइरहेको छ ।
शिक्षकहरूको आन्दोलनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै शिक्षकहरू आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले विधेयक परिमार्जन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
शिक्षा/प्रविधि
पत्रकार सविना कार्कीसँग भएको घटनाले उठाएका गम्भीर प्रश्नहरू
द नेप्लिज संवाददाताशिक्षकका आँसु, बालबालिकाको भविष्य र मौन सरकार
जितेन्द्र साहदेशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
द नेप्लिज संवाददाताबारद्वारा शिक्षकसँग शीघ्र वार्ताका लागि सरकारलाई अपिल
द नेप्लिज संवाददातासरकार र शिक्षक महासंघबीच सकारात्मक वार्ता, आन्दोलन अन्त्यको संकेत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares