१६ वैशाख २०८२, मङ्गलबार 29 Apr 2025, Tuesday

खुम्बुमा लगातार भारी हिमपात

पदमार्ग अवरुद्ध, अमेरिकी पर्यटक सम्पर्कविहीन, उद्धार प्रयासमा कठिनाइ

द नेप्लिज संवाददाता
१५ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर–   उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भइरहेको भारी हिमपातले पर्यटक र स्थानीयको जनजीवन प्रभावित बनेको छ। हिमपातका कारण पदमार्गहरू अवरुद्ध भएका छन् भने सुरक्षित आवागमनसमेत कठिन भएको छ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार गोक्यो क्षेत्रमा पदमार्गहरू हिउँले पुरिँदा दर्जनौं पर्यटक समस्यामा परेका छन्। ‘हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर यकिन संख्या संकलन भइरहेको छ,’ उनले भने ।

स्थानीय साङ्गे शेर्पाका अनुसार बेमौसमी रुपमा परेको भारी हिमपातले खाद्यान्न आपूर्ति, सञ्चार सेवा र दैनिक जीवनमा गम्भीर असर पारेको छ। हिमाली गाउँहरूमा विद्युत आपूर्ति अवरुद्ध भएको र केही स्थानमा मोबाइल सञ्जालसमेत कमजोर भएको जनाइएको छ।

यसैबीच सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएको पुष्टि गरेका छन् । उनका अनुसार ६३ वर्षीय अमेरिकी नागरिक वाइ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा इन्ट्री गरेपछि बेपत्ता भएका हुन्। ‘हिमपातका कारण खोजी कार्यमा निकै कठिनाइ भएको छ। मौसम खुलेपछि खोजी कार्यलाई तीव्रता दिने तयारी भइरहेको छ,’ अध्यक्ष शेर्पाले भने ।

स्रोतका अनुसार प्रारम्भिक प्रयासमा मौसम प्रतिकूल भएका कारण हेलिकोप्टर परिचालन गर्न नसकिएको हो। स्थानीय गाइड तथा शेर्पाहरूको सहयोगमा स्थलमार्गबाट खोजी प्रयास थालिएको छ। सम्भावित जोखिमका कारण उद्धार टोलीलाई समेत उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

सगरमाथा आरोहण सिजनसमेत प्रभावित बनेको छ। अधिकांश आरोहीहरू आधार शिविरमै रोकिएका छन्। आरोहणको तयारीमा रहेका टोलीहरू खराब मौसमका कारण अगाडि बढ्न सकेका छैनन्। केही आरोहण एजेन्सीहरूले अस्थायी रूपमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्।

प्रशासन र सम्बन्धित निकायले पर्यटक तथा स्थानीयको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै राहत र उद्धार प्रयासहरूलाई प्रभावकारी बनाउन समन्वय गरिरहेको जनाएको छ। सोलुखुम्बु प्रशासनले परिस्थितिको नजिकबाट अनुगमन गर्दै तत्काल उद्धार आवश्यक परेमा नेपाली सेना, सशस्त्र प्रहरी र निजी उद्धार कम्पनीहरूलाई समेत तयारी अवस्थामा राखिएको जानकारी दिएको छ।

स्थानीय तहहरूले पर्यटकहरूलाई जोखिमपूर्ण यात्रा स्थगन गर्न आग्रह गरेका छन् भने हिउँ प्रभावित क्षेत्रतर्फ नजान आग्रह गरिएको छ। मौसमविद्हरूले अझै केही दिन हिमपात जारी रहने सम्भावना रहेको चेतावनी दिएका छन्।

खुम्बु क्षेत्रमा बेमौसमी हिमपात किन ?
वसन्त ऋतुमा सगरमाथा क्षेत्र सामान्यतया चिसो भए पनि स्थिर मौसमको लागि चिनिन्थ्यो। तर हालै दक्षिण एसियामा विकसित भएको पश्चिमी वायु प्रणाली (वेस्टर्न डिस्टर्बेन्स) को प्रभावले गर्दा खुम्बु लगायत उच्च हिमाली क्षेत्रमा असामान्य रूपमा भारी हिमपात भएको मौसमविद्हरू बताउँछन्।

नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जलवायु परिवर्तनका कारण मौसम प्रणालीहरू अस्थिर बन्दै गइरहेका छन्, जसका कारण पहिले अपेक्षा नगरिएको समयमा समेत हिमपात हुन थालेको हो। खुम्बु क्षेत्रमा हाल मङ्सिर–चैतको तुलनामा वैशाखमा पर्ने यो जस्तो भारी हिमपात दुर्लभ मानिन्छ।

मौसमविद्हरूले आगामी केही दिनसम्म खुम्बु र आसपासका क्षेत्रमा कमजोर देखि मध्यम स्तरको हिमपात र वर्षा जारी रहने सम्भावना रहेको बताएका छन्। उनीहरूले स्थानीयबासी र पर्यटकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
 

प्रकाशित : १५ वैशाख २०८२, सोमबार 21:52
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved