विराटनगर– लेबनानमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति सेनाले आफ्नो एक समूह माथि शुक्रबार राति आक्रमण हुँदा उपरथी चोकबहादुर ढकाल घाइते भएको जनाएको छ । उपरथी ढकाललाई उद्धार गरेर यूएन लेभल थ्री अस्पताल बेरुत पु¥याइएको छ ।
ढकाल युनिफिल (युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान) मा दुई वर्षे कार्यकालको समापन पछि शनिबार स्वदेश फर्कँदै थिए । नाकुरास्थित युनिफिल फोर्स हेडक्वार्टरमा शुक्रबारै उनको विदाइ भइसकेको थियो । राति स्वदेश फर्किन उनी शान्ति मिसनको टोलीका साथ विमानस्थलतिर लागेका थिए ।
उपरथी ढकाल सवार गाडी बीचमा थियो । अगाडि–पछाडि दुवै तिर सुरक्षाकर्मीहरुको वाहनले इस्कर्ट गरिरहेको थियो । विमानस्थल नजिकै एक्कासी प्रदर्शनकारीहरु सडकमा देखिएका थिए । गाडीबाट ढकालसहितकाहरुलाई निकाल्ने बित्तिकै उक्त समूहले गाडीमा आगजनी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । ढकालकै वाहनमा सवार अन्य चार नेपाली शान्ति सैनिकको अवस्था सामान्य छ ।
घटनामा घाइते उपरथी ढकालले २ डिसेम्बर २०२२ मा संयुक्त राष्ट्रसंघको युनिफिल मिसनमा डेपुटी फोर्स कमाण्डका रुपमा दायित्व थालेका थिए । सैनिक सहायकको समेत जिम्मेबारी निर्वाह गरेका उनीसँग ३५ वर्ष लामो सैनिक अनुभव छ । उनले शान्ति मिसनमा पहिलो पटक १९९४ मा युगोश्लाभियामा प्लाटुन कमाण्डरका रुपमा पनि काम गरे ।
उनले युनिफिल हेडक्वार्टरमै सन् २००० देखि २००१ सम्म सैनिक सूचना अधिकृत पनि रहे । सन् २००६ मा एक वर्ष मिलिट्री अभ्जर्बरको काम गरे । उनले २०१७ मा सिरियाको अनडोफ मिसनमा पनि गए ।
कार्य अवधि सकेर नेपाल फर्कने क्रममा बेरुतको राफिक हारीरी विमानस्थल नजिक शान्ति सेनाको उनी चढेको लगायतका वाहनमा प्रदर्शनकारीहरुले आगो लगाएका थिए । उक्त क्रममा लेबनानी सेनाले प्रतिकार गरेको थियो । उक्त हिंसामा धेरै सैनिक घाइते भएको संयुक्त राष्ट्र महासंघले जनाएको छ ।
अनलाइनमा सेयर गरिएका भिडियोहरुमा संयुक्त राष्ट्र संघको वाहन सहित शान्ति सेना जस्तो देखिनेहरुलाई गाडीबाट निकालेर युवकहरुको एक समूहले लखेटेर पिटेको देखिन्छ । उनीहरुले चिच्याउँदै संयुक्त राष्ट्रको तीन बाहनमा लातीले हानेको र आगो लगाएको फूटेज सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्र अन्तरिम बल (युनिफिल) का अनुसार शान्ति सेनाको टुकडीलाई विमानस्थल लिएर जाँदै गरेको गाडीलाई लक्षित गर्दै आगो लगाइएको थियो । लेबनानी अधिकारीहरुले तत्काल र पूर्ण अनुसन्धान गर्नुपर्ने माग उसले गरेको छ । लेबनानका प्रधानमन्त्री नवाफ सलाम र लेबनानी सेनाले युनिफिलमा भएको आक्रमणको निंदा गर्दै संलग्नलाई नछाडिने बताएको छ ।
अप्ठेरो परिस्थितिमा दक्षिण लेबनानमा सुरक्षा एवं स्थायित्व पूर्नस्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथिको यो घृणित आक्रमणबाट स्तब्ध भएको युनिफिलले भनेको छ । इरानी विमानहरुलाई राजधानी बेरुतमा अवतरण गर्नबाट रोक्न निर्णय गरिए पछि हिजबुल्लाहका समर्थकहरुले मुलुकको एक मात्र विमानस्थलको मार्ग अवरुद्ध गरेका थिए ।
नागरिक विमान मार्फत इरानले हिजबुल्लाहलाई सहयोग पठाइरहेको लेबनानी अधिकारीहरुको भनाइ छ । लेबनानका सरकारी अधिकारीहरुले इरानले ती उडानमार्फत उग्रवादी समूह हिज्बुल्लाहलाई नगद पठाउने गरेको शंकामा यो निर्णय लिएको भनिएको छ । त्यसो त पहिले इजरायली सेनाले इरानले नागरिक उडानमार्फत उग्रवादी समूह हिज्बुल्लाहका लागि नगद तस्करी भएको आरोप लगाएको थियो ।
पछि लेबनानको सरकारले विमानमा प्रतिबन्ध लगाएपछि प्रदर्शनकारीहरुले इजरायलको धम्कीसामू लेबनान झुकेको आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यसको विरोधमा विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारिएका छन् ।
त्यहीक्रममा शुक्रबार राति उपरथी ढकाल सवार गाडीमा पनि आक्रमण भएको हो । यो प्रदर्शन लेबनानको इस्लामिक विद्रोही संगठन हिबुल्लाह समर्थित समूहले गरेको भनिएको छ । लेबनानी सेनाका कायममुकायम सेना प्रमुख मेजर जनरल हसन उद्दाले घटनालगत्तै युनिफिल मिसनका कमाण्डरलाई सम्पर्क गरेका छन् । उनले शान्ति मिसनमाथि भएको आक्रमणको भत्सर्ना गरेको भनिएको छ ।
यसअघि १५ असोजबाट इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहलाई समाप्त पार्न भन्दै स्थल कारबाही थालेका बेला पनि लेबनानमा नेपाली शान्ति सैनिकलाई असर परेको थियो ।
अमेरिका र संयुक्त राष्ट्र संघका महासचिवले पनि उक्त घटनाको निन्दा गरेका छन् । भविष्यमा यस्तो खाले हिंसा हुन नदिने लेबनानी सशस्त्र बलले सबै उपाय गर्ने भन्दै घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको उनीहरुले काम गरेका छन् ।
संयुक्त राष्ट्र संघले सरकार र विद्रोही पक्षलाई आफ्ना दायित्वहरुको पालना गर्न भनेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव एवं अन्तिम लक्ष्य अनुरुप लेबनान एवं इजरायलबीचको स्थायी युद्धविरामको पूर्ण कार्यान्वयनको दिशामा काम गर्न उसले आग्रह गरेको छ ।
लेबनानी सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मिसन कमाण्डरसँग कुराकानीमा उहाँले आक्रमणकारीहरुलाई पक्राउ गरेर घाइतेहरुलाई न्याय दिने भन्नु भएको छ ।’
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले समेत संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन चेतावनी दिएपछि तनाव बढेको थियो । तर राष्ट्रसंघले शान्ति स्थापनाका लागि खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको थियो ।
त्यस्तोमा हवाई आक्रमणका क्रममा श्रीलंका लगायतका मुलुकका केही शान्ति सैनिक घाइते पनि भएका थिए । यस्तोमा त्यहाँ खटिएका ८ सय ५० नेपाली शान्ति सैनिकलाई ‘सेक्यूरिटी लेभल ३’ प्रोटोकल अनुसार बंकरमा राखिएको थियो ।
अहिले नेपाली सेनाका ५ हजार ९ सय १८ सैनिक संसारका ११ मुलुकमा शान्ति स्थापनार्थ तैनाथ छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, अहिले नेपाली सेनाबाट एक हजार १ सय ५१ जना कंगो, दक्षिण सुडानमा एक हजार ७ सय ५२, अब्यई क्षेत्र (सुडान) मा १ सय ७ जना, पश्चिमी सहारामा ५, इजराइलमा २, लेबनानमा ८ सय ७७, सिरियामा ४ सय ५२, अफ्रिकामा १ हजार २ सय ४१, इराकमा ८८, लिबियामा २ सय ३१ र यमनमा दुई सैनिक कार्यरत छन् ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताविश्व/प्रवास
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares