४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

प्रजातन्त्र दिवस जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन उत्प्रेरक बनोस् : उपराष्ट्रपति यादव

द नेप्लिज संवाददाता
७ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ ले जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन उत्प्रेरक बनोस् भन्ने कामना गरेका छन् । उपराष्ट्रपति यादवले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको शुभकमाना सन्देशमार्फत सम्पूर्ण राजनीतिक दल र नेतृत्व पंक्तिलाई आदर्श आचारसंहिता लागू गर्न आह्वान गरेका हुन् । 

‘हाम्रा अग्रजहरुको संघर्ष, बलिदान र अटूट संकल्पकै कारण हामीले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रताको उपहार प्राप्त गरेका हौं’ सन्देशमा भनिएको छ, ‘हामी सबैले मुलुकको द्रूत विकास, समृद्धि र सामाजिक समरसताका लागि सदैव समर्पित भावका साथ अघि बढ्ने प्रण एवम् दृढ संकल्प लिन सक्नुपर्दछ ।’

प्रजातन्त्र दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो, सुदृढ र सबल बनाउने दायित्व, कर्तव्य र जिम्मेवारीलाई स्मरण र बोध गर्न सबैलाई उपराष्ट्रपति यादवले आग्रह गरेका हुन् । उनले सम्पूर्ण नागरिकहरुको अधिकारहरुको रक्षा, न्यायपूर्ण समाजको स्थापना र सबैका लागि समान अवसर सुनिश्चित गर्ने दिशामा एकजूटताका साथ क्रियाशील आह्वान गरेका छन् । 

लोकतन्त्र सर्वश्रेष्ठ शासन–प्रणालीका साथै यो एउटा सामाजिक व्यवस्था पनि भएको हुँदा यो व्यवस्थालाई कमजोर बनाउने काम लोकतन्त्रमा विश्वास राख्नेहरुबाट किमार्थ हुन नसक्ने उनले उल्लेख गरेका हुन् । यो व्यवस्था–प्रणालीमा राजनीतिक दल र त्यसका नेतृत्वहरुलाई सकारात्मक सोचका साथ अघि बढ्न उपराष्ट्रपति यादवले आह्वान गरेका छन् । ‘इतिहासबाट पाठ सिक्दै, कमिकमजोरीमा सुधार गर्दै, नेपालको संविधानमा व्यवस्था भएको संघीय गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता, कानूनी राज्य, सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता हो,’ सन्देशमा भनिएको छ, ‘नेपालमा संघीय लोकतन्त्रलाई सफल बनाउन गरीबी, भेद्भाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रो लागि निर्विकल्प हो।’
 
लोकतन्त्र, शासनको रुपमा मात्र सीमित नगरी मुलुकमा सामाजिक आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव र मूल्यलाई अजम्बरी बनाउन तर्फ पनि लोकतन्त्रलाई केन्द्रित गर्न उनले आग्रह गरेका छन् । 

प्रकाशित : ७ फागुन २०८१, बुधबार 07:03
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved