६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

काँग्रेसको इतिहास सम्झाउँदै मेयर बालेनको कटाक्ष

द नेप्लिज संवाददाता
१० चैत २०८१, आइतबार

Advertisement

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि प्रतिबद्धता मात्र देखाएर कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री सिंहलाई प्रश्न गर्दै बालेनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउनेजस्ता महत्वपूर्ण योजनाहरू कुरामै सीमित भएको बताएका छन् । उनले सिंहलाई यी योजनाहरू कार्यान्वयन गर्ने बेलाको बारेमा स्पष्ट हुन आग्रह गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माननीय शहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सँधै कुरामै रह्यो । कहिले गर्ने हो ?’ उनले नेपाली काँग्रेसका वरिष्ठ नेता गणेशमान सिंह, तत्कालीन मेयर पिएल सिंह तथा नेपाली काँग्रेसको ऐतिहासिक योगदानलाई माटोमा नमिलाउन आग्रह गर्दै सरकारलाई कटाक्ष गरेका छन् । साथै उनले आफूलाई पराजित गर्ने प्रयासमा देश, शहर र क्षेत्रलाई नहराउन चेतावनी दिएका छन् ।

बालेनको प्रश्न : मन्त्री सिंहले कहिले देखाउने कार्यान्वयन ?


बालेन शाहको भनाइले सिंह नेतृत्वको मन्त्रालयको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । काठमाडौंबासीका लागि महत्त्वपूर्ण ठानिएका विषयहरू—अव्यवस्थित बस्ती व्यवस्थापन, खोलानाला सुधार, सार्वजनिक सम्पत्तिको संरक्षण—लामो समयदेखि सरकारको प्राथमिकतामा परे पनि ती कार्यान्वयन हुन सकेका छैनन् । 

बालेनले सिंहको प्रतिबद्धता ‘कुरामै सीमित’ रहेको आरोप लगाउँदै अब तिनलाई कार्यान्वयन गर्न चुनौती दिएका छन् । बालेनको भनाइमा नेपाली काँग्रेसको समृद्धि र शहर विकासमा पुरानो योगदान रहेको उल्लेख गर्दै उनले सोही इतिहासलाई सम्मान गर्न आग्रह गरेका छन् । उनका तीव्र टिप्पणीपछि मन्त्री सिंह वा सरकारको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन ।
 

प्रकाशित : १० चैत २०८१, आइतबार 22:20
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved