पूर्वराजा ज्ञानेन्द्रद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त/पूर्णपाठसहित
काठमाडौँ, — पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै गत चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आइतबार सार्वजनिक भिडियो सन्देशमार्फत शाहले शान्तिपूर्ण अभिव्यक्तिको अधिकार सबै नागरिकको मौलिक हक भएको उल्लेख गर्दै भने, ‘नागरिक स्वतन्त्रताभन्दा माथि कुनै तन्त्र हुँदैन ।’
उनले सन्देशमा वास्तविक प्रजातन्त्र भएकै ठाउँमा राम्रो वा नराम्रो जनगुनासो सुन्ने संस्कार र सहिष्णुताको परम्परा रहने उल्लेख गरेका छन् । शाहको यो अभिव्यक्ति गत महिनाको प्रदर्शनका क्रममा देखिएको हिंसा र राज्य पक्षको दमनबारे अप्रत्यक्ष टिप्पणीको रूपमा पनि हेरिएको छ ।
चैत १५ मा राजावादी समूहहरूद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी हस्तक्षेपमा दुईजनाको मृत्यु भएको थियो । दर्जनौं घाइते भएका थिए । सरकारी र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटसमेत भएका थिए ।
तीनकुनेमा भएको प्रदर्शन राजसंस्थाको पुनःस्थापनाको मागसहित गरिएको थियो । उक्त दिन प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप चर्किएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । सन्देशमार्फत पूर्वराजाले अप्रत्यक्ष रूपमा सरकारलाई जनताको आवाज सुन्ने र सहिष्णु बन्नुपर्ने सन्देश दिएका छन् ।
शाहले गत फागुनमा प्रजातन्त्र दिवसमा बोलेको विषयलाई परिमार्जन गरेका छन् । उनले हरेक समस्याको समाधान संवाद, समन्वय, सहमति र सहकार्यबाट गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘हाम्रा आह्वान हामी कसैको निजी स्वार्थ पूर्तिका निमित्त होइन कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र जनताको स्वाधीनता सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो ।’ पूर्वराजा ज्ञानेन्द्रले वास्तवकि लोकतन्त्रमा जनगुनासो सुन्नुपर्ने बताएका छन् । संसार धेरै अघि बढिसकेको भन्दै नेपाल आमालाई केन्द्रमा राखेर कदम चल्नुपर्ने बताए ।
यस अगाडि प्रजातन्त्र दिवसको अवसरमा उनले देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । अहिले भने शाहले सन्तुलित रुपमा धारणा राख्ने प्रयास गरेका छन् ।
शाहले जनभावना र चाहना बुझी मुलुककै समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने स्पष्ट देखिएको बताएका छन् । उनले देशलाई शान्त र समृद्ध मुलुक बनाउने जागरूकता जनतामा पैदा भएको उल्लेख गर्दै आगामी वर्ष परिणाम आउने विश्वास थपिएको बताएका छन् ।
उनले सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार रहेको उल्लेख गर्दै यही नै राजनीतिको मूल धार हुनुपर्ने पनि सन्देशमा भनेका छन् । उनले आइतबार जारी भिडियो सन्देशमा भनेका छन्, ‘हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशा हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा प्रस्तुत गर्दा सबैले संयम अपनाऔँ ।’
उनले गत चैत १५ गते राजसंस्था पक्षीय प्रदर्शनका क्रममा भएको हिंसा र आगजनीले दुख लागेको पनि बताएका छन्। ‘केही दिनअघि हिंसा, आगजनी तोडफोड भयो । मानवीय एवं भौतिक क्षति भयो । त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो ।’
उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर पैदा भएको जागरुकतालाई सकारात्मक रुपमा लिएको पनि बताएका छन् । उनले भनेका छन्, ‘वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ । देशलाई विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, त्यो नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ ।’
उनले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पु¥याउँदै आएको विदितै रहेको पनि उल्लेख गरेका छन् । ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावनाबमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहीआएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ,’ उनले भनेका छन् ।
उनले राष्ट्रनिर्माता श्री ५ बडामहाराधिजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र हुनुपर्ने पनि उल्लेख गरेका छन् । ‘सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो । यही नै राजनीतिको मूल धार हुनुपर्ने हो,’ उनले भनेका छन् ।
उनले विश्वको बदलिँदो परिस्थितिलाई मनन् गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरेको अहिलेको सन्दर्भमा नेपालजस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको पनि सन्देशमा उल्लेख गरेका छन्।
‘विश्वभरि छरिएर रहेका नेपालीहरू एकताका सुत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन । आफ्नो ज्ञान सीप र सामथ्र्य मात्र होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधनसमेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबै जागृत गराउनु परेको छ,’ उनले भनेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवतखण्ड नेपाल सिंगार्न र विकासको विगुल फुक्न कसरी लाग्ने र लगाउने भन्ने उल्लेख गर्दै भनेका छन्, ‘स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ।’ उनले जनभावना र चाहना बुझी मुलुककै समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिएको पनि बताएका छन्।
‘शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी तिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ,’ उनले भनेका छन्, ‘सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ । हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ । त्यसका निम्ति नेपाली जनताबाट हुने प्रयासहरूमा ऐक्यबद्धता हुनेछ ।’
‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन, वास्तविक प्रजातन्त्र जहाँ हुन्छ त्यहाँ राम्रो नराम्रो जनगुनासो वा गुनगान परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’उनले भनेका छन्, ‘जुन जागरुकता पैदा भएको छ २०८२ सालमा त्यस अनुसारको परिणाम हासिल हुने विश्वास लिएका छौं ।’
उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन आह्वान गरेका थिए । ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले जारी गरेको १० मिनेट २७ सेकेन्डको भिडियो सन्देशमा भनिएको थियो, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’
पढ्नुहोस् पूर्णपाठ :
प्रिय, आत्मिय दाजुभाइ, दिदीबहिनीहरू, हामी नेपालीहरूको घरआँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ। नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेबसेका सम्पूर्ण नेपालहरूको सुख र शान्तिको मंगलमय शुभकामना।
हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको विदाइमा एउटा घनघोर निरासाका बिच हुने गरेको धेरै साल भयो। समाजका विभिन्न दल, वर्ग र जनसमूदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो।
तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ। केहीदिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो। त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो। नागरिक स्वतन्त्रता भन्दा ठुलो तन्त्र वा वाद हुँदैन।
वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुनखालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ।
वास्तवमा नेपाली जनतामा रहेको देशभक्ति भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ। देशमा विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ। मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मूक्त गर्न नेपालको राजसंस्थाले योगदान पुर्याउँदै आएको विदितै छ।
राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहीआएको छ। वर्तमानमा बदलिदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन भन्ने मन्जुरी सदैव स्थापित हुनुपर्दछ। राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अवको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो। यही नै राजनीतिको मूल धार हुनुपर्ने हो।
विश्वको बदलिदो परिस्थितिलाई मनन गर्दैै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपालजस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ।
स्वदेशी स्रोतसाधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन्। विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्न गाह्रो स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकि युवा शक्तिको श्रम र सीपलाई स्वदेशमै उपयोग गर्नुपर्दछ।
युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरि नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीका तन, मन र ध्यान त्यसैमा लगाउनुपरेको छ। विश्वभरी छरिएर रहेका नेपालीहरु अब एकताका सूत्रमा बाँधिन अब ढिला गर्नुहुँदैन।
आफ्ना ज्ञान, सीप र सामथ्र्य मात्र होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्दछ भन्ने भावना सबैमा जागृत गराउनुपरेको छ। प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवत खण्ड नेपाल सिँगार्न र विकास विगूल फुक्न कसरी लाग्ने र लगाउने ? स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको छ।
जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भइसकेको छ। युगको प्रविधिको हो, सावधानपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठुलो टेवा पुग्नसक्नेछ।
सुशासन र भ्रष्टाचारमूक्त प्रशासन मुल नारा हुनुपर्दछ। हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छु । त्यसका लागि नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ। मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्ण हुँदै गएको औद्योगीक उत्पादन, बढ्दो ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्मसंस्कृति तथा जनस्तरमा बढेको निरासा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो। नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने अवस्थामा झांगिएको छ।
यो स्थितिमा नयाँ वर्षलाई उपलब्धिमूलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास आवश्यक भएको छ। नेपाली–नेपालीबिचमा द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद् मनस्थिति नबनोस्, देशबासीहरु कुनैपनि नाम र निहुँमा ध्रुविकृत नबनून् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौँ।
नेपालीको एकतामा नै नेपालको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसात् गरेका छौँ। सबैलाई यही वास्तविकतालाई आत्मबोध गर्नुपर्दछ भन्ने ठान्दछौँ। हाम्रा आह्वान हामी कसैको निजी स्वार्थपूर्तिका निमित्त होइन, कुनै खालको सैद्धान्तिक वाद र विचारको होइन। समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो।
आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो। अनि आफ्नो स्वतः अस्तित्व हामी आफै उठाउने हो। संसार धेरै अघि बढिसक्यो, तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फँसेका छौँ। नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ। हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ।
आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ। नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्। अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस्। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares