३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उर्लेको जनसागर (तस्बिरहरु)

द नेप्लिज संवाददाता
२५ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर– २०६५ को १५ जेठमा नारायणहिटी दरबारबाट बाहिरिएदेखि बेलाबेला आफ्नो सम्बोधन र भ्रमणले चर्चामा आइरहेका पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार काठमाडौंमा गरिएको स्वागतले सारा विश्वको ध्यान तानेको छ । 

शाह आइतबार अपराह्न पोखराबाट काठमाडौँ नआइपुग्दै नागरिक समाजको ठूलो समूह राष्ट्रिय झण्डा बोकेर सडकमा उनको स्वागतमा तयार बसेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारमा उनको स्वागतमा जनसागर उर्लेको देखियो । पूर्वराजालाई स्वागत गर्न बिहानदेखि राजावादी लगायतका जनसमुदाय विभिन्न ठाउँमा भेला भएर ¥यालीसहित दिउँसो विमानस्थलसम्म पुगेका थिए । विमानस्थलबाट बाहिर आएपछि गाडीमा उभिएर पूर्वराजा शाहले समर्थकहरुको अभिनन्दन स्विकार गरेका थिए ।

गाडीबाटै हात हलाएर सम्बोधन गरिरहँदा समर्थकहरूले शाहको पक्षमा नारा लगाएका थिए । राजसंस्थाका समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ, देश बचाऊ,’ जस्ता नाराहरू लगाएका थिए । उनले जहाजबाट ओर्लने बितिकै विमानस्थलको विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अर्का नेता कमल थापालगायतसँग समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गरेका देखिए ।

विमानस्थल बाहिर हजारौँको संख्यामा भेला भएका समर्थकहरूले पूर्वराजा शाहलाई ¥याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म नै स्वागत स्वर गुञ्जाउँदै पु¥याए । उनको स्वागतका लागि विमानस्थल वरिपरि पुग्न राप्रपालगायत राजावादी समर्थकहरूले सर्वसाधारणहरूलाई आह्वान गरेका थिए । उनी एक महिनाको पोखरा बसाईपछि काठमाडौँ फर्किएका हुन् । 

पूर्वराजाको आगमनमा समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरे पछि विमानस्थल परिसरमा तनावको स्थिति उत्पन्न भएको थियो । प्रधानमन्त्रीविरुद्ध नाराबाजी तिव्र बनेपछि सुरक्षाकर्मी र समर्थकबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन विमानस्थलका सुरक्षाकर्मीहरूलाई कठिन भएको थियो । राजाका समर्थकहरुले ‘राजतन्त्र जिन्दावाद्’, ‘गणतन्त्र मुर्दावाद्’ लगायत नारा पनि लगाए ।
समर्थकहरूको प्रदर्शनका कारण विमानस्थल आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो । अस्तव्यस्त ट्राफिक व्यवस्थाका कारण बच्चा बोकेका यात्रुहरू लगेज गुडाउँदै हिँडिरहेको देखिन्थे । 
पूर्वराजा ज्ञानेन्द्रले गुडिरहेको टोयोटा जिपमा उभिएर समर्थकहरुको स्वागत ग्रहण गरेको दृश्यले राजनीतिक नेतृत्वहरुलाई झस्काएका छन् । चक्रपथको गौशाला, चाबहिल, महाराजगञ्ज हुँदै निर्मल निवाससम्मै उनका हजारौं समर्थकहरुको भीड स्वागत गर्दै गएका थिए । पूर्वराजा ज्ञानेन्द्र माघ २७ गते परिवारका सदस्यसहित पोखरा पुगेका थिए । उनलाई पोखरेलीले पनि भव्य स्वागत गरेका थिए । नागरिक स्वागत मूल समारोह समिति पश्चिमाञ्चल पोखराले पूर्वराजालाई पोखरामा आमन्त्रण गरेको थियो । उनी यो क्रममा पोखरालाई केन्द्र बनाएर विभिन्न स्थानमा पुगेका थिए ।

पोखरा बसाइँमा उनले राजा वीरेन्द्रको शालिकसमेत अनावरण गरेका थिए । स्याङ्जास्थित शाहवंशीय कालको आलमदेवी मन्दिर दर्शनपछि उनी पोखराको विन्ध्यावासिनी मन्दिर, केदारेश्वर महादेव मन्दिर, बागलुङको कालिका मन्दिरमा समेत पूजा अर्चनाका लागि पुगेका थिए । उनको पोखरा बसाइँका क्रममा देशभर राजावादी गतिविधि तिव्र रुपमा बढेको छ ।

शाहको स्वागतमा विमानस्थल पुगेका समर्थकहरुबीच अनौठो दृष्य देखिएको थियो । राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै आइतबार विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्बिरसमेत बोकेका देखिए । पूर्वराजा ज्ञानेन्द्रको ठूलो तस्बिरकै साइजमा योगीको अर्को तस्बिर बोकेर समर्थकहरु हिँडेका देखिए । राजा फर्काउने अभियानको ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको थियो । 

ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनउमा भेटेका थिए । आदित्यनाथको तस्बिर मुन्तिर ‘राजसंस्था पुनस्र्थापना गरौँ’ लेखिएको छ । भारतका नेताको फोटो राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले प्रतिक्रिया व्यक्त गरेका छन् ।

तर यो स्वागतले राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा गहिरो प्रभाव परेको छ । राष्ट्रियसभा सदस्यहरूले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै आइतबार  उनीहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेकोले यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
 
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरे । संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको उनको आरोप थियो । शर्माले देशमा बढिरहेको अराजकता, संविधानविरुद्धको हर्कत सरकारले तुरुन्त नियन्त्रण गर्न माग गरे ।

राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रतिगामी तत्वहरू सक्रीय भएर संविधानको उलंघन गर्दै अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सजग र सचेत बन्नुपर्नेमा जोड दिए । मसानघाटमा पु¥याएको राजतन्त्र कुर्लिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो । त्यस्तै अन्य सदस्यहरूले मुलुकमा प्राप्त अधिकार गुम्न नदिनका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका थिए । 
पूर्वराजा शाहको समर्थनमा गतिविधि बढ्दै गएपछि नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘तराई–मधेस जागरण अभियान’ रौतहटमा स्थगित गरेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु काठमाडौं फर्केका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधनप्रति असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आइतबार उनले पूर्वराजाको फागुन ६ को सार्वजनिक अभिव्यक्तिबाट आफू छक्क परेको बताए । ‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ । म पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भाको छ र बचाउन ? उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दैहुनुहन्छ ।’

पूर्वराजा शाह र राजावादी समूहले गर्दै आएको गतिविधिले लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने ओलीको तर्क थियो । ‘सरकार संविधानअनुसार चल्नुपर्छ भन्ने सिकाउनुको सट्टा उहाँले मलाई साथ देऊ भन्दै हुनुहुन्छ’ उनले थपे, ‘राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ, मलाई साथ दिनु रे ! के कुरामा साथ चाहिएको हो ?’ प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै एक–दुई वर्षभित्र सुधार गर्ने प्रतिबद्धता जनाए । 

१६ वर्षअघि औपचारिक रुपमा गद्दी त्याग्न बाध्य भएका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजतान्त्र दिवसको असर पारेर फागुन ७ गते देशको अवस्था दयनीय बन्दै गएको भन्दै आफ्नो पक्षमा उभिन सर्वसाधारणलाई सार्वजनिक सन्देशमार्पmत आह्वान गरेका छन् । पूर्वराजा शाहको आह्वानपछि राजतन्त्र पुनःस्थापनाको चर्चा र गतिविधिले तीव्रता पाएको हो ।

औपचारिक अन्त्यपछि आइतबार पहिलोपटक राजतन्त्रको पक्षमा सबैभन्दा धेरै मानिस सडकमै उत्रेर पुनःस्थापनाको पक्षमा आवाज बलियो बनाएका छन् । राजतन्त्र पुनःस्थापनाको पक्षमा आवाज बलियो बन्दै जानुका पछाडि गणतन्त्र स्थापनापछि दल र उनीहरुले नेतृत्वको सरकार बढी जिम्मेवार रहेको आमनागरिकको बुझाइ छ ।
 
गणतान्त्रिक सरकारहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनताले परिवर्तन खोज्दै आएको आभास हुन थालेको छ । व्यवस्थाले धेरैभन्दा धेरै जनतालाई अवसर दिनुपर्ने हो । त्यो दिन सकेन भने जनतामा विस्तारै असन्तुष्टि बढ्छ । अहिलेको अवस्था त्यही हो । धेरै वर्षदेखि उस्तै व्यक्ति सत्तामा रहेकाले पनि जनताले परिवर्तन खोजेको हुनसक्छ ।

कांग्रेस–एमालेको समर्थनमा झण्डै दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकार बनेपछि जनतामा थप निराशा बढ्दै गएको छ । बलियो भनिएको सरकार आफ्नै पूर्वप्रतिबद्धताअनुसार नचल्दा र असफलता व्यहोर्दै जाँदा सामूहिक निराशा बढ्दै गएको छ । ओलीका लागि आफ्नै अभिव्यक्ति घाँडो बन्दै गएको छ तर उनले यसबाट कुनै पाठ सिकेको देखिएको छैन । पूरा गर्न नसक्ने महात्वाकांक्षी भाषण र प्रधानमन्त्रीको कुर्सीमा बसेर अरुमाथि लगातार व्यक्त भइरहेका असहिष्णु व्यवहार पनि निराशाको अर्को कारण हो ।

ओलीले सरकारको नेतृत्व गरेपछि उनी आफैँको मूल्यांकन अति कमजोर देखिएको छ । प्रधानमन्त्री कार्यालयको कार्य सम्पादन नै जम्मा २८.५ प्रतिशतमै सीमित भएको छ । सरकारका १२ जना मन्त्रीले ३५ भन्दा कम अंक पाएका छन् । समग्रमा दुई तीहाई बहुमतसहितको बलियो सरकारको कार्यसम्पादन निकै कमजोर रहेको तथ्याङ्कहरूले नै देखाएका छन् । 

विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले ‘फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल,’ जस्ता नारा लगाउनुले जनभावनालाई प्रतिबिम्बित गर्छ । समर्थकहरूले शाहलाई फूल, माला र खादाले स्वागत गर्दा प्रधानमन्त्री ओली विरुद्ध नारा लागेको थियो ।

प्रकाशित : २५ फागुन २०८१, आइतबार 21:06
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved