३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

पूर्वराजा ज्ञानेन्द्र आइपुगे काठमाडौं

द नेप्लिज संवाददाता
२५ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर–  पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न पोखराबाट काठमाडौं आइपुगेका छन् । सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका उनको स्वागत गर्न हजारौँ नागरिक सडकमा छन्  । 

विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । पूर्वराजालाई स्वागत गर्न बिहानदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्याली सहित दिउँसो विमानस्थलको द्वारसम्म पुगेका थिए । उक्त द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले समर्थकहरुको अभिनन्दन स्विकारेका थिए । गाडीबाटै हात हलाएर सम्वोधन गरिरहँदा समर्थकहरूले शाहको पक्षमा नारा लगाएका छन् ।

राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका छन् । विमानस्थलमा उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अर्का नेता कमल थापालगायतसँग छलफल गरे ।

विमानस्थल बाहिर हजारौँको संख्यामा भेला भएको समर्थकहरूले पूर्वराजा शाहलाई र्याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म लैजाने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ। उनको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आह्वान गरेका थिए ।

यो सबबीच शाहको काठमाडौं विमानस्थल आगमन क्रममा अनौठो अपाच्य दृश्य पनि देखिएको छ । राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै आइतबार विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्बिर बोकेका देखिए ।

पूर्वराजा ज्ञानेन्द्रको ठूलो तस्बिरकै साइजमा अर्को तस्बिर बोकेर समर्थकहरु हिँडेको देखिए । अर्को तस्बिरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ फ्रेममा अटाएका छन् । राजा फर्काउने अभियानको ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको छ । ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेका थिए ।

आदित्यनाथको तस्बिर मुन्तिर ‘राजसंस्था पुनस्र्थापना गरौँ’ लेखिएको छ । भारतका नेताको फोटो राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको भन्दै सामाजिक सन्जालका प्रयोगकर्ताहरुले प्रतिक्रिया व्यक्त गरेका छन् । पूर्वराजा भने चक्रपथको गौशाला, चाबहिल, महाराजगञ्ज हुँदै निर्मल निवासतर्फ लागेका छन् । 

 

प्रकाशित : २५ फागुन २०८१, आइतबार 16:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved