अझै २०२८ सालको ऐनले शिक्षा
जबसम्म नयाँ शिक्षा ऐन जारी हुँदैन, तबसम्म अभिभावकको रुचि चाहना र विद्यार्थीको क्षमताका आधारमा सिकाइका आधारहरू तयार हुन सक्दैनन् । हामी विश्वव्यापीकरणको सँघारमा छौं । सूचना र सञ्चारले आजको समाजलाई फरक आवश्यकता र परिस्थितिमा पुर्याएको छ ।
विराटनगर– नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको नेपाली शिक्षकहरूको आन्दोलन चैत २० सम्म आइपुग्दा अनिश्चित स्वरुपमा विकसित भएको छ । चैत १७ देखि काठमाडौँको सडकमा हजारौं शिक्षक उत्रेका छन् । सरकारको व्यवहारले गर्दा गुरुगुरुआमाहरुकोको यो संघर्ष अनिश्चितकालीन रूपमा अघि बढेको छ।
पेसागत रुपमा यो आन्दोलन शिक्षकहरूका लागि मात्र गरे जस्तो देखिएता पनि शिक्षकहरूको हकमा मात्र सीमित छैन । शिक्षकहरूको आन्दोलन पेशागत हकहित, सेवा सुविधा र शर्तमा रहनु स्वभाविकै हो । यो मागका अतिरिक्त शिक्षक हरूको प्रमुख माग भनेको २०२८ मा जारी भएको शिक्षा ऐनलाई प्रतिस्थापन गरी नयाँ शिक्षा ऐन जारी गर्नका लागि पनि हो ।
जबसम्म नयाँ शिक्षा ऐन जारी हुँदैन, तबसम्म अभिभावकको रुचि चाहना र विद्यार्थीको क्षमताका आधारमा सिकाइका आधारहरू तयार हुन सक्दैनन् । हामी विश्वव्यापीकरणको सँघारमा छौं । सूचना र सञ्चारले आजको समाजलाई फरक आवश्यकता र परिस्थितिमा पुर्याएको छ ।
हिजोको आवश्यकता र आजको आवश्यकता फरक छन् । त्यसैले आजको आवश्यकताका आधारमा जबसम्म शिक्षालाई डोर्याउन सकिँदैन तबसम्म नेपाली समाजलाई अगाडि बढाउन पनि सकिँदैन । पाठ्यपुस्तक समेत प्राप्त गर्न नसक्ने अवस्थाको शिक्षा ऐनलाई टेकेर आज एआईको जमानामा हामी काम गरिरहेका छौं जसले गर्दा हाम्रा बालबालिकाहरुले अपेक्षित शिक्षा प्राप्त गर्न सकेका छैनन् ।
बालबालिकाको क्षमता अनुसार उनीहरूलाई सिकाइका अवसरहरू प्रदान गरिनुपर्दछ । सोही अनुसारको पाठ्यक्रम निर्माण हुनुपर्दछ । कक्षा कोठाहरूका सिकाई त्यसै अनुरुपका हुनुपर्छ जसका लागि विद्यालयको व्यवस्थापकीय पाटोलाई सक्षम बनाउनुपर्छ । लगानीका अवसरहरु सिर्जना गरिनुपर्दछ । परम्परागत कक्षाकोठा, परम्परागत सिकाई पद्धति, परम्परागत सोच जस्ता कारणबाट शिक्षालाई माथि उठाउन सकिँदैन ।
यसका लागि नयाँ शिक्षा ऐन जरुरी छ । जुन ऐनमा यस्ता धेरै मुद्दाहरू समावेश हुनुपर्दछ र हालै संसदमा छलफलमा रहेको शिक्षा ऐनमा यस्ता कयौं कुराहरु समाविष्ट भएर जारी हुनुपर्नेमा विभिन्न बहानामा ऐनलाई ओझेल पार्ने कार्य भइरहेको छ । एउटा र अर्को एकआपसमा दोषारोपण गरी शिक्षा क्षेत्र राजनीतिभित्र रुमलिरहेको अवस्था देखिन्छ ।
जबसम्म शिक्षा सुधार अभियानका रूपमा आउँदैन तबसम्म दशौं वर्षपछिको देशको भविष्य अनिश्चित हुन्छ । भावी पुस्ताले अहिलेको पुस्तालाई सराप्ने दिन नआओस् भन्नका लागि अहिले नै हामीले भविष्यको पुस्तालाई लक्षित गरी शिक्षा प्रणालीलाई सुधार गर्नु पर्दछ । जबसम्म यो सोचका साथ हामी शिक्षालाई अगाडि बढाउन सक्दैनौ तबसम्म हाम्रा कैयौं प्रयासहरू बालुवामा पानी खनाए जस्तो मात्र हुन जान्छ ।
त्यसैले हामी शिक्षकहरुले भविष्यको देशलाई सुन्दर बनाउने सपना बोकेर अहिलेको शिक्षालाई हाक्नका लागि यो आन्दोलन गरिरहेका छौं । यो आन्दोलन मात्र शिक्षकहरूका लागि होइन । यो आन्दोलन विद्यार्थी र विद्यार्थीका अभिभावकहरूका लागि पनि हो । जबसम्म अभिभावक , विद्यार्थी र शिक्षकको सहकार्य हुँदैन तबसम्म शिक्षा प्रणाली सुध्रन सक्दैन ।
शिक्षक भनेको अभिभावकको भविष्य सुन्दर बनाउने उहाँहरुकै सन्ततिको मार्गदर्शक हो । जब शिक्षक राम्रो हुन्छ तब मात्र विद्यार्थी राम्रो हुन्छ । जब विद्यार्थी राम्रो हुन्छ तब घरपरिवार राम्रो हुन्छ । घरपरिवार राम्रो भयो भने समाज राम्रो हुन्छ । जब समाज राम्रो हुन्छ तब मात्रै देश सुन्दर हुन्छ ।
त्यसैले यो शिक्षक आन्दोलनलाई जुनसुकै मूल्यमा यहाँहरुले शिक्षकको मात्र हो भन्ने कुरा नबुझिदिनुहुन तमाम विद्यार्थी र अभिभावकज्यूहरूमा अनुरोध गर्न चाहन्छौं । अब हाम्रो आन्दोलनलाई विद्यार्थी भाइबहिनी र अभिभावकज्यूहरूको समर्थनको खाँचो छ । यदि तपाईंहरूको साथ र सहयोग भयो भने यो शिक्षामा सधैँ हुने गरेको अन्योलता को अन्त्य हुन जान्छ ।
२०२८ पछाडि नेपालमा तीनवटा संविधान जारी भयो । देशले विभिन्न कालखण्डहरू पार गर्यो । राजनैतिक परिवर्तनहरू भए । सत्ता परिवर्तन भए । विभिन्न क्षेत्रमा विभिन्न परिवर्तनहरु महसुस गरियो तर नेपालको शिक्षा क्षेत्रमा सरकारले दिनुपर्ने एउटा शिक्षा ऐन दिन सकेन त्यसैले आज हामी एउटा शिक्षा ऐन जारी गर्नका लागि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका छौं ।
यो आन्दोलनलाई अब हाम्रा अभिभावक विद्यार्थी भाइबहिनी सबैको नैतिक र भौतिक समर्थन आवश्यक परेको छ । यहाँहरू जहाँ हुनुहुन्छ त्यहीँबाट सरकारलाई खबरदार गरिदिनुहोला जति छिटो यहाँहरुले खबरदारी गरिदिनु हुन्छ त्यति नै छिटो हामी कक्षा–कोठामा फर्कनेछौं ।
हामी सडकमा उत्रँदै गर्दा विद्यालय, विद्यार्थी र अभिभावकलाई पर्न गएको दुःखप्रति हामी क्षमाप्रार्थी पनि छौँ । पक्कै पनि शिक्षकका मागहरू शिक्षकका मात्रै होइनन् यी मागहरू अभिभावक र विद्यार्थी भाइबहिनीहरूसँग जोडिएका छन् । त्यसैले आउनुहोस् यो शिक्षक आन्दोलनमा सहकार्य गरौं र सरकारलाई शिक्षा ऐन जारी गर्न बाध्य बनाउँ ।
सरकारलाई पनि हामी अनुरोध गर्न चाहन्छौं, ‘अहिले शिक्षकहरु सडकमा छन् । यसलाई खेलाँची नसम्झनु होला ।’ सरकारले बेवास्ता गरेमा हाम्रा अभिभावक र हाम्रा कक्षा–कोठामा रहेका हाम्रा विद्यार्थी भाइबहिनीलाई समेत हामीले सडकमा लिएर आउने दिन नआओस् । बेलैमा हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । (समाजशास्त्री एवं लेखक पोख्रेल, विराटनगरस्थित ऐतिहासिक आदर्श विद्यालयका प्राचार्य हुन् )
शिक्षा/प्रविधि
नयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताशिक्षक आन्दोलन निर्णायक चरणमा : संसद्ले विद्यालय शिक्षा ऐन पारित नगरे ऐन नलिइ घर नफर्कने चेतावनी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares