काठमाडौ — सत्तारुढ गठबन्धनको सहकार्यमा रहेको नेपाली कांग्रेसभित्र सरकारप्रति असन्तुष्टि बढ्दो रहेको सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवाले नेताहरूलाई संयमित रहन निर्देशन दिएका छन् । बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाउँदै देउवाले सरकारबारे धारणा सार्वजनिक गर्नु अघि पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएका हुन् ।
बैठकमा देउवाले कांग्रेसका प्रभावशाली नेताहरूबाट सार्वजनिक रुपमा भइरहेका आलोचनालाई लक्षित गर्दै ‘सरकारको आलोचना गर्नुपरे पार्टीको औपचारिक संरचनामार्फत गर्नुपर्ने’ धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘हामीले आफ्ना भनाइ सार्वजनिक गर्नुभन्दा पहिला पार्टी संरचनामा राख्नुपर्छ, त्यहाँबाट आएका निष्कर्षलाई मात्रै बाहिर ल्याउनुपर्छ,’ महतले बैठकपछि भने । उनका अनुसार बैठकमा सहभागी नेताहरूले सभापतिको भनाइलाई महसुस गरेको बताएका छन् ।
तर पदाधिकारी बैठक सकिनासाथ महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा फरक अभिव्यक्ति दिएका छन् । शर्माले प्रधानमन्त्रीलाई ‘आफ्ना मात्र मन्त्री राखेर सरकार चलाउन सकिने हो भने त्यसो गर्नू’ भन्ने सुझाव दिएका छन् । ‘जो प्रधानमन्त्री, उसैको टिम । काँग्रेसका मन्त्रीहरू कारण काम गर्न गाह्रो भयो भने हामी बहिर्गमनको तयारी गर्न सक्नुपर्छ,’ शर्माले भनेका छन् ।
यसअघि, कांग्रेस नेताहरू—शेखर कोइराला, गगन थापा र शर्माले सरकारको कार्यशैलीप्रति खुलेर असन्तुष्टि जनाउँदै आएका थिए । उनीहरूको आलोचना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले समेत समर्थन गरेजस्तो देखिएको थियो । केही दिनअघि प्रचण्डले ओली नेतृत्वको सरकार लामो समय टिक्न नसक्ने दाबी गर्दै राजनीतिक बजारमा तरंग सिर्जना गरेका थिए ।
दुई दलीय गठबन्धनबीच बुधबार आयोजित संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाले ‘स्थिति नियन्त्रणमा रहेको’सन्देश दिएका थिए । बिहीबारको पदाधिकारी बैठकमा पनि सरकारलाई सुधारको सल्लाहसहित गठबन्धनलाई मजबुत बनाउने सहमति बनेको प्रवक्ता महतले बताए ।
‘सरकारको पर्फमेन्स अझै राम्रो बनाउनुपर्छ । समन्वय र सन्तुलन आवश्यक छ । सरकारले तालमेल सुधारेर अघि बढ्नुपर्छ,’ महतले भने । उनका अनुसार सभापति देउवाले प्रधानमन्त्री ओलीसँग निरन्तर संवाद भइरहेको र नियुक्तिसम्बन्धी निर्णयहरूमा समन्वय गर्न आग्रह गरिसकेको बताएका छन् । सरकार ढल्ने विषयमा प्रचण्डले दिएको अभिव्यक्तिलाई खण्डन गर्दै महतले भने, ‘विपक्षी दलले सरकार ढलोस् भन्ने चाहन्छन्, तर त्यस्ता अभिव्यक्तिका आधारमा सरकार नबन्छ, नढल्छ ।’
समाचार
शिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares