२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै

द नेप्लिज संवाददाता
२२ जेठ २०८२, बिहीबार

Advertisement

विराटनगर– कोशी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित  प्रतिभालाई व्यवसायिक रुपमा पेसागत विकासका लागि करुणा फाउण्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय कोशी, निक्षेप तथा कर्जा सुरक्षण कोष, उद्योग बाणिज्य महासंघ कोशी, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतको सहयोग र सहकार्यमा राष्ट्रिय अपाङ्ग महासंघ कोशीले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान कार्यक्रम विराटनगरमा आयोजना गर्ने भएको छ । 

राष्ट्रिय अपाङ्ग महासंघ कोशीले प्रदेशभरिका अपाङ्गता भएका व्यक्तिहरुलाई आ–आफ्ना रुची अनुसार कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गरेका थिए । महासंघ कोशीका अध्यक्ष नविनचन्द्र ढुंगेलका अनुसार प्रदेशभरिकाबाट आवेदन भरेका २१४ जना अपाङ्गता भएका व्यक्तिहरुले प्रतिभा पहिचान कार्यक्रमले तय गरेका विधामा आ–आफ्नो प्रतिभा देखाएर पठाएको छोटो भिडियोका आधारमा छनौट समितिले ८८ जनालाई छनोट गरेका छन् । 

छनोट भएकामध्ये गायनतर्फ ३३ जना, नृत्यमा ११ जना, अभिनयमा ३ जना, साहित्यमा १६ जना, वक्तृत्वकलामा २ जना, चित्रकलामा ११ जना, हस्तकलामा १० जना, नवप्रवर्द्धनमा १ जना र कार्यक्रम सञ्चालनमा १ जना गरी जम्मा ८८ जनालाई दोस्रो चरणका लागि छनौट गरिएको छ । असार १६ गतेदेखि १९ गतेसम्म विधागत रुपमा प्रशिक्षकहरूबाट प्रशिक्षण तथा अभ्यासपछि सहभागिहरूले २० र २१ गते हुने सार्वजनिक कार्यक्रममा आ–आफ्ना प्रस्तुति दिने अध्यक्ष ढुंगेलले बताएका छन् । 

अपाङ्गता भएका प्रतिभाहरुले सार्वजनिक कार्यक्रममा प्रस्तुति दिने विधालाई पेशा बनाई व्यवसायिक रुपमा विकास गर्न राष्ट्रिय अपाङ्ग महासंघले सम्पूर्ण तयारी गरेको छ । ‘नृत्य गर्नेलाई व्यवसायिक रुपमा नृत्य गरेर, गायनतर्फका अपाङ्गता भएका व्यक्तिलाई गीत गाएर नै जीवन गुजारा गर्ने व्यवसायिक प्लेटफर्म उपलब्ध गराउने तयारी गरेका छौं,’ अध्यक्ष ढुंगेलले भने, ‘कार्यक्रममा अन्तिम प्रस्तुति दिने सबै जनालाई प्रस्तुति दिएको विधालाई व्यवसायिक पेशागत रुपमा विकास गरेर जीवन गुजारा गर्ने माध्यम बनाउँदै समाजमा पहिचान स्थापित गर्ने यो कार्यक्रमले अवसर प्रदान गरेको छ ।’ 

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा छनोट भएका प्रतिभाहरुले आ–आफ्ना प्रस्तुति दिने छन् । उक्त कार्यक्रममा यस प्रदेशका अपाङ्गता भएका स्थापित प्रतिभाहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको अध्यक्ष ढुंगेलले बताएका छन् । 

कार्यक्रमले गायन, साहित्य, चित्रकला, हस्तकला, नवप्रवर्द्धन जस्ता विविध क्षेत्रका प्रतिभालाई पहिचान गर्ने र, तिनलाई प्रवर्द्धन गर्दै व्यवसायीकरण गर्न आवश्यक वातावरण सिर्जना गर्ने र अपाङ्गता भएका व्यक्तिहरूको क्षमता उजागर गरी, उनीहरूलाई समाजका अन्य व्यक्तिहरू सरह आत्मनिर्भर र उत्पादक नागरिकका रूपमा स्थापित गर्न योगदान गर्ने उनले विश्वास व्यक्त गरेका हुन्।

सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरू र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोगमा  कोशी प्रदेशका स्थानीय तहहरूमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, सामाजीकीरण तथा सशक्तीकरण लगायतका विषयहरुमा काम गर्दै आइरहेको छ ।

प्रकाशित : २२ जेठ २०८२, बिहीबार 18:31
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved