६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

बाँकेको बेतहनी अझै तनावग्रस्त, दुर्घटनामा दुई बालकको मृत्युपछि स्थिति नियन्त्रण बाहिर

१० चैत २०८१, आइतबार

Advertisement

विराटनगर– बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई दाजुभाइको मृत्यु भएपछि स्थिति अझै शान्त भएको छैन । आक्रोशित स्थानीयको प्रदर्शन जारी रहँदा प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नु परेको छ।

स्थानीय ७ वर्षीय शिव गोडिया र ९ वर्षीय उनका दाजु विशाल गोडिया स्कुलबाट घर फर्किंदै गर्दा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा अध्ययनरत थिए । दुर्घटनापछि स्थानीयले आक्रोशित हुँदै ट्यांकरमा आगो लगाएका थिए जसले गर्दा ट्यांकर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

ट्यांकर चालकलाई लुकाएको आरोप लगाउँदै स्थानीयले बेतहनी प्रहरी चौकीमा समेत आगजनी गरेका छन् । आगजनीका कारण प्रहरी चौकी पूर्ण रूपमा ध्वस्त भएको छ भने प्रहरीका मोटरसाइकलहरू समेत जलेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी निरीक्षक यमबहादुर मल्लका अनुसार स्थानीयको आक्रोश नियन्त्रण गर्न बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर खत्री स्वयं घटनास्थल पुगेका छन् ।

घटनास्थलमा उपस्थित सई मनी लामिछानेका अनुसार ‘मुश्किलले ज्यान जोगाइएको’ अवस्था थियो । आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेपछि केही राउण्ड हवाई फायर गरिएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनालगत्तै ट्यांकर चालक, राप्ती सोनारी गाउँपालिका–४, पर्सरामपुर निवासी २२ वर्षीय कर्णबहादुर बुढालाई भीडले कुटपिट गरेको थियो । कुटपिटका कारण उनको अनुहार तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

चालकलाई जोगाएर प्रहरीले नेपालगञ्जस्थित जिल्ला प्रहरी कार्यालय बाँके पु¥याएको छ । प्रहरीका अनुसार चालक बुढाले ‘अचानक बच्चाहरू अगाडि आएको’ र ‘ब्रेक नलागेको’ भन्दै दुर्घटनाबारे बयान दिएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । स्थानीय प्रशासनले सबै पक्षलाई शान्त रहन आग्रह गरेको छ । यद्यपि आक्रोशित भीडले मृतक बालकहरूको शव उठाउन अस्वीकार गरिरहेकाले स्थिति अझै संवेदनशील देखिएको छ ।
 

प्रकाशित : १० चैत २०८१, आइतबार 21:10
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved